इलाम- विजेता टिमलाई नगद तीन लाख रुपैयाँ पुरस्कार दिइने टुवर्ग माइभ्याली गोल्डकप प्रतियोगिता बिहीबारदेखि इलाममा सुरु हुँदैछ। पहाडी जिल्लाको सबैभन्दा ठूलो दाबी गरिएको यो फुटबल प्रतियोगितामा स्वदेश विदेशका १० टिमको सहभागिता रहनेछ। कुनै बेला फुटबलमा ख्याति कमाएको माइभ्याली फुटबल क्लबले पुरानो इतिहास ब्युँताउने र युवापुस्तालाई खेलकुदमार्फत् सकारात्मक बाटोमा लाग्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो।
'प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ, अब मैदानमा खेलाडीले आफ्नो टिमको कौशल देखाउन मात्र बाँकी छ,' आयोजक क्लब अध्यक्ष धिरेन चेम्जोङ्ले बुधबार भने, 'मैदान स्तरोन्नति गरेर खेलाडीलाई सुविधायुक्त पारिएको छ, दर्शकको सुविधाका लागि प्याराफिट पनि बनाइएको छ।' केही ख्यातिप्राप्त खेलाडी जन्माएको इलामले यो फुटबल प्रतियोगितामार्फत् नयाँ खेलाडी उत्पादन गर्ने र फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन दिँदै पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य छ।'
प्रतियोगितामा 'ए' डिभिजनका नेपाल पुलिस, त्रिभुवन आर्मी र थ्रीस्टार क्लबसँगै मोरङ-११, रुपन्देही-११, झापा-११ र आयोजक माइभ्याली फुटबल क्लबले स्वदेशी टिमका रुपमा खेल्दैछन् भने बंगलादेश, भुटान र सिक्किमका टिम पनि सहभागी हुनेछन्। प्रतियोगिता विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख रुपैयाँ पुरस्कार दिइनेछ। खेलाडी र अफिसियलका लागि सदरमुकामका एक दर्जन होटलमा आवासको बन्दोबस्त मिलाइएको चेम्जोङले जानकारी दिए।
११ दिनसम्म चल्ने प्रतियोगितामा दर्शकको चाप उच्च रहने पूर्वानुमानबमोजिम टुडिखेलमा अस्थायी प्याराफिट बनाइएको छ। क्लबका प्रचार संयोजक बसन्त थाम्सुहाङका अनुसार, झण्डै पाँच लाख रुपैयाँ खर्चिएर यो प्याराफिट तयार पारिएको हो, जसमा चार हजार दर्शक अट्नेछन्। प्याराफिटमा बस्ने दर्शकका लागि एक हजार र पाँच सय रुपैयाँका टिकट बिक्री गरिँदैछ। त्यसबाहिर बस्ने दर्शकका लागि टिकट रकम सस्तो छ। विद्यार्थीलाई छुटमा टिकट बेचिनेछ।
दसैं-तिहारमा बिंगो खेलमार्फत् थालिएको अर्थ संकलन गर्नेक्रम प्रतियोगिता सुरु हुनैलाग्दा सन्तोषजनक देखिएको छ। बिंगोबाट सात लाख रुपैयाँ संकलन भएकोमा अहिले देश विदेशबाट झण्डै १८ लाख रुपैयाँ जुटेको जिल्ला फुटबल संघ अध्यक्ष निरोज खड्गी बताउँछन्। प्रतियोगिलाई झण्डै ४१ लाख रुपैयाँ खर्च हुने अनुमान छ। विजेतालाई दिइने तीन लाख रुपैयाँ सूर्योदय नगरपालिका पञ्चकन्याका तारा र रोजी सापकोटाले प्रायोजन गरेका छन्।
'इलाममा १७ वर्षपछि फुटबलको ठूलो प्रतियोगिता हुँदैछ, जसमा नाम चलेका १० टिमले उपाधिनिम्ति प्रतिस्पर्धा गर्नेछन्,' तयारी पूरा भएपछि आयोजित पत्रकार भेटघाटमा थाम्सुहाङले भने, 'इलामेली युवालाई खेलकुदप्रति आकर्षित गर्दै सत्मार्गमा ल्याउन र खेलमार्फत् इलामको पर्यटनलाई विकास गर्न प्रतियोगिता आयोजना गरिएको हो।' १७ वर्ष अघिसम्म इलाममा 'भूकम्प स्मृति कप' सञ्चालन हुँदै आएको थियो, जसमा लाग्ने घरेलु दर्शकको ओइरो अत्यधिक हुन्थ्यो।