काठमाडौं- नेपालका अलराउन्डर वसन्त रेग्मीले शनिबार युगान्डाविरुद्ध अन्तिम बलमा तीन रन बनाएका भए विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालको विजयी सुरुआत हुने थियो। दुई रन मात्र बनाउन सकेका भए पनि स्कोर टाई हुन सक्थ्यो।
यी दुवैमा उनी चुके। प्रतियोगितामै सबभन्दा कमजोर आँकिएको विपक्षीसँग नेपाल दुई रनले पराजित भयो।
भाग्यले सधैं ठग्दैन। आइतबार भाग्य वसन्तको दाहिना रह्यो।
बलियो मानिएको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई हराउँदा उनले लिएको दुई विकेट विश्व क्रिकेट लिगकै इतिहासमा सुनौलो अक्षरमा लेखियो। यही दुई विकेटबाट विश्व क्रिकेट लिग इतिहासमा सय विकेट लिने पहिलो खेलाडी बन्न उनी सफल भए।
४६ खेलमा ९६ विकेटको इतिहास बोकेर नामिबिया पुगेका उनले जारी डिभिजन २ मा नेपालले खेलेका दुवै खेलमा दुई–दुई विकेट लिएका छन्। युगान्डालाई दुई रनले नतिजा सुम्पँदा पनि वसन्तले दुई विकेट लिएका थिए। उनले सबभन्दा बढी अमेरिकाको २१ विकेट लिएका छन्।
नेपालविरुद्ध जितको आत्मविश्वाससाथ मैदान ओर्लिएको नेदरल्यान्ड्सले छैटौं विकेटका लागि गरेको इनिङकै सबभन्दा ठूलो साझेदारी तोड्दै वसन्तले आफ्नो सयौं विकेट लिएका थिए। माइकल रिप्पोनसँग ५० रनको साझेदारी गरिरहेका ओपनर स्टेफन माइबर्ग वसन्तको करिअरको सयौं सिकार बनेपछि नेदरल्यान्ड्सको इनिङ खुम्चिएको थियो। त्यसअघि वसन्तले पाँचौं विकेटका रूपमा पिटर सिलारलाई आउट गरेका थिए। माइबर्गले ७३ बलमा ३६ तथा सिलारले ३० बलमा ५ रन बनाएका थिए। वसन्तले आइतबार दुवै विपक्षीलाई बोल्ड गर्दै पवेलियनको बाटो देखाए।
अघिल्लो दिन दुई विकेट लिने क्रममा पनि उनले ब्रायन मासाबालाई पहिलो सिकार बनाउँदा युगान्डाको ६५ रनको साझेदारी टुटेको थियो। ४३ रन बनाएका मासाबाले डेभिस कारासानीसँग पाँचौं विकेटका लागि गरेको उक्त साझेदारी युगान्डाको इनिङकै सबभन्दा ठूलो थियो।
२००८ मा जर्सीमा सम्पन्न डिभिजन ५ बाट विश्व क्रिकेट लिगको यात्रा थालेका वसन्तले पहिलो प्रतियोगितामै १४ विकेट लिएर सुखद सुरुआत गरेका थिए। त्यतिबेला नेपाल तेस्रो हुँदा वसन्तले समूह चरणमा मोजाम्बिकविरुद्ध ५, नर्वे र भानुआटुविरुद्ध समान २ विकेट लिएका थिए। यसैगरी सेमिफाइनलमा अफगानिस्तानसँग ३ तथा तेस्रो स्थानको प्लेअफमा अमेरिकासँग २ विकेट लिएका थिए।
त्यसको दुई वर्षपछि घरमै भएको डिभिजन ५ मा नेपाल च्याम्पियन बन्दा वसन्तले १२ विकेट लिएका थिए। उनले बहराइन र फिजीविरुद्ध समान ४, सिंगापुरविरुद्ध २ तथा जर्सी र अमेरिकाविरुद्ध समान एक विकेट लिएका थिए। त्यसै वर्ष इटालीमा भएको डिभिजन ४ मा नेपालले तेस्रो स्थान हासिल गर्दा वसन्त १४ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने बलर भएका थिए। उनले समूह चरणमा क्यामन आइल्यान्डविरुद्ध ४ विकेट लिएका थिए भने इटाली, तान्जेनिया, अर्जेन्टिना र अमेरिकाविरुद्ध दुई–दुई विकेट लिएका थिए। तान्जेनियासँगको तेस्रो स्थानको प्लेअफमा पनि उनले दुई विकेटमा नाम लेखाएका थिए।
मलेसियामा २०१२ मा सम्पन्न डिभिजन ४ मा नेपाललाई च्याम्पियन बनाउने क्रममा वसन्तले सर्वाधिक २१ विपक्षी ब्याट्सम्यानलाई सिकार बनाएका थिए। म्यान अफ द सिरिज भएका उनले समूह चरणमा अमेरिकाविरुद्ध ५ विकेट लिए भने सिंगापुर, तान्जेनिया र मलेसियाविरुद्ध तीन–तीन सिकार बनाए। समूह चरणकै खेलमा डेनमार्कविरुद्ध दुई विकेट लिएका वसन्तले फाइनलमा अमेरिकासँग फेरि ५ विकेट लिए।
यसैगरी २०१३ मा बर्मुडामा सम्पन्न डिभिजन ३ मा नेपालले उपाधि जित्दा वसन्तले १२ विकेटमा नाम लेखाएका थिए। समूह चरणमा अमेरिका, युगान्डा र ओमानविरुद्ध समान दुई विकेट लिएका उनले आयोजक बर्मुडासँग तीन तथा इटालीसँग एक विकेट लिएका थिए। फाइनलमा युगान्डालाई हराउँदा वसन्तको नाममा दुई विकेट थियो।
गत वर्ष न्युजिल्यान्डमा विश्व क्रिकेट लिग २००९–१४ साइकलको अन्तिम प्रतियोगिताका रूपमा विश्वकप छनोट खेल्दा नेपाल सहभागी १० टोलीमध्ये नवौं स्थानमा सीमित हुँदै डिभिजन ३ मा झरेको थियो। त्यतिबेला वसन्तले समूह चरणमा युएईविरुद्ध ३ विकेट लिए भने क्यानडासँग २ तथा स्कटल्यान्डसँग १ विकेट लिएका थिए। सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग २ तथा युगान्डासँग १ विकेट लिँदै कुल विकेटसंख्या ९ पुर्यााएका थिए।
त्यही वर्ष अक्टोबरमा मलेसियामा डिभिजन ३ हुँदा वसन्तले सर्वाधिक १४ विकेट लिएका थिए। नेपाललाई च्याम्पियन बनाउने क्रममा उनले समूह चरणमा अमेरिकाविरुाद्धका दुई खेलमा समान दुई विकेट लिए भने युगान्डा र बर्मुडाका पनि समान दुई खेलाडीलाई पवेलियनको बाटो देखाए। समूह चरणको अर्को खेलमा सिंगापुरविरुाद्ध ४ विकेट लिएका उनले युगान्डाविरुद्धको फाइनलमा २ विकेट लिएका थिए।
वसन्तले लिएका विकेट
२००८ डिभिजन ५ जर्सी– १४ विकेट
२०१० डिभिजन ५ नेपाल– १२ विकेट
२०१० डिभिजन ४ इटाली– १४ विकेट
२०१२ डिभिजन ४ मलेसिया– २१ विकेट
२०१३ डिभिजन ३ बर्मुडा– १२ विकेट
२०१४ विश्वकप छनोट न्युजिल्यान्ड– ९ विकेट
२०१४ डिभिजन ३ मलेसिया– १४ विकेट
२०१५ डिभिजन २ नामिबिया– ४ विकेट