झापा – राष्ट्रिय लिग फुटबलका लागि झापा ११ ले बिहीबार १२ खेलाडी अनुबन्ध गरेको छ। पहिलो चरणमा २१ खेलाडी टोलीमा आबद्ध गर्ने तयारीमा रहेको झापाले थप खेलाडी दुई दिनभित्र लिने जनाएको छ।
राष्ट्रिय फुटबल लिगमा झापाले यसपटक पहिलोपटक सहभागिता जनाउँदैछ। यसपटक एन्फा कपको विजेता टोलीसँग यसअघि राजधानीका विभिन्न क्लबबाट लिग खेलिसकेका अनुभवी खेलाडीको समूह छ। झापाले अनुबन्ध गरेका अधिकांश खेलाडी जिल्लाबासी नै छन्। फुटबल संघ झापाका अध्यक्ष जलकुमार गुरुङका अनुसार मासिक २५ हजार पारिश्रमिक दिने गरी सबै खेलाडीलाई कम्तीमा ४ महिनाका लागि अनुबन्ध गरिएको हो। लिगकै दौरानमा पनि हुने नकआउट फुटबलबाट प्राप्त हुने रकम खेलाडीलाई दिइने टिम व्यवस्थापनले जनाएको छ।
एन्फा कपमा उत्कृष्ट फरवार्डको उपाधि जितेका विशाल राई ए, उत्कृष्ट डिफेन्डर बनेका देवेन्द्र तामाङ, उत्कृष्ट गोलरक्षक घोषित दिनेश थापामगर, दिलेन लोक्ताम, कर्ण लिम्बूलगायत खेलाडी अघिल्लो सिजनसम्म मच्छिन्द्र क्लबबाट खेल्थे। उनीहरूकै प्रदर्शनको आडमा मच्छिन्द्रले राष्ट्रिय लिगमा दोस्रो स्थान हासिल गरेको थियो। त्यस्तै थ्रीस्टारका योगेश गुरुङ, नरेन लिम्बु, संकटाका सुमिन मैनाली, हिमालयन शेर्पाका दिनेश कार्की, मनाङका गणेश खड्कालगायत खेलाडीलाई झापाले लिगमा आफ्नै टिमबाट मैदानमा उतार्ने पक्का भएको छ। झापाले आफ्नो टिममा समेटेका अधिकांश खेलाडी ए डिभिजन टोलीबाट आकर्षक पारिश्रमिकमा फुटबल खेलिरहेका स्टार हुन्। त्यस्तै बिहीबार अनुबन्धमा पर्ने अन्य खेलाडीमा कप्तान प्रवेश कटुवाल, मीनबहादुर बस्नेत र नरेन्द्रमणि लिम्बू छन्।
भदौ अन्तिम साता राजधानीमा भएको एन्फा नकआउट फुटबलमा देशका नामी टोलीलाई हराएर झापाले १० लाख राशीको उपाधिमा कब्जा जमाएको थियो। राजधानीमा गएर फुटबल करिअर अघि बढाइरहेका झापाली खेलाडीको उच्च प्रदर्शनकै कारण यो सम्भव भएको थियो।
'अधिकांश झापाली खेलाडी नै भएको हाम्रो टोलीले नकआउटमा उच्च प्रदर्शन गर्योअ', प्रशिक्षक भगिरथ आले मामा भन्छन्, 'अब लिगमा पनि उस्तै प्रदर्शनको अपेक्षा गरेका छौं।' खेलाडीलाई यही सातादेखि बन्द प्रशिक्षणमा राख्ने तयारी भएको उनले बताए।