काठमाडौं, भदौ १९ (नागरिक)- भक्तपुरको सैनिक आवासीय महाविद्यालय र बाँकेको दीपज्योति विद्याश्रम कोकाकोला अन्तरस्कुल राष्ट्रिय फुटबल च्याम्पियन बनेका छन्। दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा छात्रतर्फ सैनिकले पाथफाइन्डर स्कुललाई ४-२ ले हरायो। सैनिक विद्यालयले उपाधि जितेको तेस्रोपटक हो।
छात्रातर्फ दीपज्योतिले जुद्धोदय स्कुललाई २-० ले हरायो। दीपज्योतिबाट दुवै गोल भद्रकला बिकले पहिलो हाफमा गरिन्।
खेलमा १-० ले पछि परेर पनि सैनिकले खेल उल्टाएको थियो। सुधाकर न्यौपानेले २३औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि पाथफाइन्डरले त्यसलाई जोगाउन सकेन। सैनिकको जितमा मन्दीप रोक्काले २ तथा खड्गबहादुर सलामी मगर र अभिषेक लोप्चनले १-१ गोल गरे। मन्दीपले ४०औं मिनेटमा बराबरी र ५६औं अर्को गोल थपे। खड्गले ६३औं र अभिषेकले ७०औं मिनेटमा गोल गरेका थिए। इन्जुरी टाइममा पराजित टोलीका सुमित रानामगरले एक गोल फर्काए।
विजयी दुवै टोलीले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गरे। उपविजेताले १-१ लाख रुपैयाँ पाए। छात्रतर्फ हिमशिखर सुनसरी तेस्रो र सैनिक विद्यालय पोखरा चौथो भएका थिए। छात्रातर्फ टप्स पोखरा तेस्रो र सुनसरीको पब्लिक चौथो भए। दुवैमा तेस्रो टोलीले ५० हजार र चौथोले २५ हजार रुपैयाँ प्राप्त गरे।
छात्रामा दीपज्योति र छात्रा हिमशिखर फेयर प्ले टोली भए।
छात्रतर्फ गोलरक्षकमा पाथफाइन्डरका सुवासकुमार राउत, रक्षकमा सैनिक भक्तपुरका आइमान तामाङ, मिडफिल्डमा खड्गबहादुर मगर र फरवार्डमा सञ्जिव रानामगर उत्कृष्ट भए।
छात्रामा जेपी हाइस्कुलकी उषा ठकुरी गोलरक्षकमा, दीपज्योतिका मीना बराल रक्षक र लक्ष्मी शर्मा मिडफिल्डमा तथा टप्सकी निर्मला चौधरी फरवार्डमा उत्कृष्ट भएका थिए।
खेलकुद मन्त्रालयको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल संघले बोटलर्स नेपालको उत्पादन कोकाकोलाको मुख्य प्रायोजनमा आयोजना गरेको प्रतियोगितामा ५ विकास क्षेत्रबाट छनोट भई आएका छात्रतर्फ १२ र छात्रातर्फ ७ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए।
लन्डन, भदौ १८ (एजेन्सी)- रोबिन भान पर्सीको नाटकीय ह्याटि्रकप्रेरित म्यानचेस्टर युनाइटेडले प्रशिक्षक सर एलेक्स फर्गुसनको एक हजार लिग खेलमा आइतबार साउथह्याम्पटनमाथि ३-२ को विजय दिलाएको छ।
भान पर्सीले फर्गुसनको कोसेढुंगोलाई खुसीका साथ मनाउने धोको दोस्रो हाफको मध्य समयतिर पेनाल्टी खेर फालेर ध्वस्त पार्न लागेका थिए। सेन्ट मेरिजमा युनाइटेड २-१ ले पछि रहेको अवस्थामा भान पर्सीले खेर फालेको पेनाल्टी टोलीलाई महँगो पर्न सक्थ्यो। तर उनले आफ्ना लागि फर्गुसनले २ करोड ४० लाख आर्सनललाई तिर्नुको रहस्य पुनः प्रमाणित गर्ने क्रममा अन्तिम तीन मिनेटमा दुई उत्कृष्ट गोल गरे।
जेसन पन्चियोनले १६औं मिनेटमा गरेको क्रस रिकी लाम्बर्टले गोलमा परिणत गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। भान पर्सीले सात मिनेटपछि उत्कृष्ट गोल गर्दै त्यसलाई बराबरीमा ल्याए। पहिलो तीन खेल लगातार हारेपछि अंकतालिकाको पुछारमा रहेको साउथह्याम्पटनले मध्यान्तरपछिको १०औं मिनेटमा पुनः अग्रता लियो। सात वर्षको अनुपस्थितिपछि पुनः शीर्ष श्रेणीमा फर्किएको टोलीका लागि मिडफिल्डर मोर्गान स्नाइडरिनले डाइभिङ हेडमा गोल गरि दोस्रोपटक अग्रता दिलाए।
जोस होइभेल्डले भान पर्सीलाई ६९औं मिनेटमा लडाउँदा युनाइटेडले पेनाल्टी अवसर पायो, तर डच स्ट्राइकरको चिप पेनाल्टी विपक्षी गोलकिपर केल्भिन डेभिसले बचाउँदा युनाइटेड खेल बराबरीमा ल्याउने मौकाबाट चुकेको थियो।
अर्को खेलमा एस्टन भिल्लाले न्युक्यासलसँग १-१ को बराबरी खेल्दै नयाँ प्रशिक्षक पाउल लाम्बर्टको नेतृत्वमा पहिलो अंक बटुल्यो। भिल्लाले लाम्बर्टको नेतृत्वमा पहिलो दुई खेल हारेको थियो। सेन्ट जेम्स पार्कमा सियारान क्लार्कले २२औं मिनेटमा गोल गरेपछि टोलीले अग्रता लियो। फ्रान्सेली मिडफिल्डर हाटेम बेन आर्फाले ५९औं मिनेटमा उत्कृष्ट गोल गर्दै न्युक्यासललाई एक अंक दिलाए।
१८ भदौ २०६९
•
६ मिनेट पाठ