रौतहट- महिला फुटबल प्रशिक्षक शेर बहादुर दर्लामीको शनिवार चन्द्रनिगाहपुर स्थीत बाग्मती नदी किनारमा अन्तिम संस्कार गरिएको छ। गत मंसिर १५ गते आफ्ना प्रशिक्षण दिएर ५५ बर्षिय प्रशिक्षक दर्लामी घर फर्किएपछि मस्तिष्क पक्षघातको शिकार भएका थिए। मस्तिष्क पक्षघातका कारण अचेत भएका दर्लामीलाई तत्कालै उपचारको लागि काठमाण्डौ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको शुक्रबार दिउसो निधन भएको थियो।
दर्लामीको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि चन्द्रपुरको हातेमालो सामुदायिक वनको फुटबल मैदानमा राखिएको थियो। उनको पार्थीब शरिरमा नेपाली काग्रेसका सभासद सुनिल यादब, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी राजाराम सुबेदी, प्रहरी उपरिक्षक सानुबाबु थपलिया लगायतका सरकारी निकायका जिल्ला स्थित प्रमुखहरु तथा खेलाडीहरुले श्रद्धाञ्जली दिएका थिए।
दर्लामीको पार्थीब शरीरमा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्कीले अखिल नेपाल फुटबल संघ (एन्फा) को झण्डा ओढाएका थिए। प्रशिक्षक दर्लामीकै पहलमा रौतहटमा तीन पटक महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। जिल्लामा मात्रै सिमित नभई राष्ट्रिय महिला फुटबल टोलीको नेतृत्व गर्दै उनले बङ्गलादेश र श्रीलका समेत पुगेका थिए।