मोरङ- एन्फाकप विजेता झापा–११ लाई विभागिय टिम त्रिभुवन आर्मी क्लबले शुन्यका विरुद्ध दुइ गोलको अन्तरमा पराजित गर्दै पथरीमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। दिपक गुरुङ र नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई विजयी दिलाएका थिए।
आर्मीले यो सिजनमा अहिलेसम्म खेलेको प्रतियोगितामा दुइमा प्रथम र एकमा दोस्रो भएको छ। उसले विराटनगरमा भएको वीर गणेशमान सिंह गोल्डकपमा पुलिसलाई र पथरीको पथरी गोल्डकपमा झापालाई पराजित गरेको थियो भने बुटबलमा भएको खेलमा सशस्त्र प्रहरी बलसँग पराजित भई दोस्रो भएको हो।प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा आर्मीले झापालाई दवाबमा राख्दै जित सुनिश्चित गरेको हो। आर्मीका हिरन मगरले ५१ औं मिनेटमा दोहोरो पहेलो कार्डको चेतावनीसँगै रेड कार्ड पाएर मैदान बाहिरीएपछि आर्मी १० खेलाडीमा सिमित रहँदा झापाको दवाबमा रहेर खेल्न बाध्य भएको थियो। उसले अग्रपंत्तिका फर्वडलाई डिफेन्समा ल्याएर चार डिफेन्स राखेर खेल्दा ७१ औं मिनेटमा पाएको काउन्टर एटेकमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमलाई दुइ शुन्यको विजयी पक्का गरे। उनले बललाई मध्यभागबाट एक्लै अगाडी बढाएर वान भर्जेस वानमा गोल गरेका थिए। श्रेष्ठ प्रतियोगितको उत्कृष्ट खेलाडीका साथै बढी गोल गर्ने खेलाडी घोषित हुँदै नगद ३० हजार र बीस हजार मुल्य बराबरको मोबाइल सेट हात पारेका छन्।
खेलको ८ औं मिनेटमा आर्मीका हिरेन मगरको क्रसपासमा दिपक गुरुङले हेडिङ गर्दै गोल गरे गर्दै टिमलाई एक गोलको अग्रता दिलाएका थिए। ११ मिनेटमा आर्मीका अमित बस्नेतले गरेको हेडिङ बललाई गोलरक्षकले समातेका थिए। झापाका गणेश खडकाले २४ मिनेटमा डिबक्स अगाडीबाट सिधा प्रहार गर्दै आर्मीका गोलरक्षक सुशिल श्रीवास्तवले बचाउ गरे। २७ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकिले कर्नर छेउबाट गरेको क्रसपासमा नवयुग श्रेष्ठले हेडिङ गर्न चुके। ३० मिनेटमा झापाका विशाल राई 'ए'ले गरेको प्रहारमा गोलरक्षक लडेपछि बल पोष्ट नजिक पुग्दा आर्मीका विवेक पन्तले गोलको संकट टारे। ३२ मिनेटमा झापाका कप्तान प्रवेश कटुवालले हानेको सानदार कर्नरकिकमा सेकेन्डबार नजिकबाट बल बाहिरीएको थियो। एन्जुरी समयमा आर्मीका नवयुग श्रेष्ठले डिबक्सको लाइनबाट बल प्रहार गर्न खोज्दा उनको खुट्टा मैदान ठोकिएपछि गोलको राम्रो अवसरबाट चुकेका थिए।
झापाका नरेन लिम्बुले ५२ औं मिनेटमा डिबक्स नजिक पाएको हन्डबलमा गरेको सिधा प्रहारलाई गोलरक्षकले समातेका थिए। ६२ औं मिनेटमा झापाका दिलेन लोक्तामले मध्यभाग नजिकबाट लगेको बल गोल गर्न सकेनन्। ६३ मिनेटमा आर्मीका राजु तामाङले गरेको कडा प्रहारलाई झापाका गोलरक्षक दिपेश थापाले सानदार पन्च गर्दै गोलको संकट टारेका थिए। आर्मीका टंक बुढाथोकिले ६६ मिनेटम गरेको क्रसपासमा नयुग श्रेष्ठले हेडिङ गर्दा गोल हुन सकेन। खेलेको म्यान अफ द फाइनल झापाका योगश गुरुङ घोषित भए।
प्रतियोगितमा हाइस्कोर पथरीका हेमन्त आले, आर्मीका दिपक गुरुङ र आर्मीकै नविन श्रेष्ठले २–२ गोल गरेका थिए। उनीहरुले नगद पाँच पाँच हजार जिते। आर्मी प्रथम हुँदै दुइलाख दुइ हजार दुइ सय २२ रुपैयाँ नगदका साथ ट्रफी जितेका थिए भने उपविजेता झापा–११ ले एकलाख एक हजार एक सय एघार नगदका साथ ट्रफीमा चित्त बुझाउनु परेको थियो।
आर्मीका प्रशिक्षक मेघराज केसीले भने, आउँदो लिग प्रतियोगिताको लागि हामीले टिमलाई चुस्त बनाएका छौ। आजको बिजयी त्यसको उपलब्धि हो। झापा अत्यन्तै राम्रो टिम हो, तर हामी जित्नेमा ढुक्क थियौ।
झापाका कप्तान प्रवेश कटुवालले भने, सुरुमा गोल खाएर अत्यन्तै दवाबमा खेल्नु पर्यो र पाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा शनिबार निराश हुनु पर्यो।