झापा– एन्फा कप जितेर राष्ट्रिय लिगको तयारीमा जुटिरहेको झापा ११ ले लय कायम राख्दै सुरुंगा गोल्डकप फुटबलको फाइनल यात्रा निश्चित गरेको छ। आइतबार सेमिफाइनलमा झापा–११ ले विआरसी भुटानको चुनौतीलाई टाइब्रेकरमा पाखा लगाउँदै फाइनल यात्रा तय गरेको हो। अब उसले मंगलबार फाइनलमा कञ्चनजंघा स्पोर्टिङ क्लब सिलिगुढीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ७ औं मिनेटमा विशाल राई (ए) ले नजिकैबाट गरेको प्रहार गोल किपरले सही अन्दाज लगाउन नसक्दा सुरुमै झापा ११ ले अग्रता लिएको थियो। तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको २३ औं मिनेटमा दिल्सन लिम्बूले भुटानका तर्फबाट बराबरी गोल गरे। खेलको ३७ औं मिनेटमा भुटानकै तर्फबाट कप्तान युगलकिशोर राईले पुनः गोल गर्दै अग्रता २–१ बनाए।
पहिलो हाफको ४१ औं मिनेटमा झापा ११ का दिलेन लोक्ताम र भुटानका क्याप्टेन युगल किशोरलाई एन्फा खेल रेफ्री श्याम दनुवारले खेलको नियम उल्लंघन गरेपछि रातो कार्ड दिई मैदानबाहिर पठाएका थिए। त्यसपछि दोस्रो हाफको खेलमा दुवै टिम १०/१० खेलाडीमा सीमित भएका थिए। दोस्रो हाफको २० औं मिनेटमा झापा ११ का तर्फबाट योगेश गुरुङले गोल किपरको हातबाट फुत्किएको बललाई सुन्दर गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्यामए। त्यसपछिको खेल अवधिभर थप कुनै गोल हुन नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो।
भुटानका विक्रम लिम्बुको प्रहार बारमा लागेर फर्किएपछि झापाको जित भएको थियो। विजयी झापा ११ का ५ खेलाडीकै प्रहार गोलमा परिणत भएको थियो। खेलको म्यान अफ द म्याच झापा ११विशाल राई (ए) घोषित भए।