काठमाडौं– सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्कालका लागि कुनै पनि कामकाज नगर्न निर्देशन जारी गरेको छ।
समितिका सदस्य रामहरी खतिवडाले एन्फाले पछिल्ला पाँच वर्षको हिसाव किताव आइतबार विहानमात्र बुझाएको बताउँदै त्यसको अध्ययन गरेर निर्णय नगरेसम्म एन्फालाई केही नगर्नु नगराउनु भनेर निर्देशन जारी गरेको बताए। लेखा समितिमा एन्फा र एन्फाका अध्यक्ष गणेश थापाविरुद्ध आर्थिक अनियमितताको उजुरी परेपछि समितिले साउन ४ मा एन्फासँग पछिल्लो पाँच वर्षको हिसाव किताव बुझाउन निर्देशन दिएको थियो।
'हामीले अघिल्लो हप्ता नै युवा तथा खेलकुद मन्त्रालयमार्फत एन्फालाई तीन दिनभित्र हिसाव किताव लिएर आउन भनेका थियौं। तर त्यो आजमात्र पेश भयो। तीन दिनभित्र उहाँहरुले बुझाउनुभएन,' खतिवडाले नागरिकसँग भने, 'आजमात्र आएकोले हामीले अध्ययन गर्न पाएका छैनौं। त्यसको अध्ययन गरेर निर्णय नगरेसम्मका लागि बोर्ड बैठक र विशेष साधारणसभा लगायतका कुनै पनि गतिविधि नगर्न समितिले निर्देशन दिएको हो।'
खतिवडाले एन्फा अध्यक्ष थापा र एन्फाले बोर्ड बैठक र साधारणसभा बोलाएर आफूमाथि आरोप लगाउनेलाई हटाउने तथा प्रमाण नष्ट गर्ने सम्भावना भएकाले त्यसो नगर्न निर्देशन दिएको बताए। 'आरोप लगाउनेलाई एन्फाबाट नै हटाउने खेल हुन लागेको थाहा भयो। त्यसैका कारण गणेश थापालाई एन्फा अध्यक्षको हैसियतमा खेलाउनेबाहेक अन्य आर्थिक लगायतका गतिविधि नगर्न भनेका हौं,' काम नगर्नु नगराउनुको मतलब खेल गतिविधि रोक्नु नहुने प्रष्ट्याउँदै खतिवडाले भने।
एन्फाका उपाध्यक्षद्धय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरलगायतले एन्फा र अध्यक्ष थापाविरुद्ध सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए।