काठमाडौं-दुई महिनापछि दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदमा नेपालबाट २४ खेलमा २ सय १७ खेलाडी सहभागी गराउने तयारी भइरहेको छ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा गठित १७औं एसियाली खेलकुद तयारी समितिले बुधबार मन्त्रालयमा तयारी प्रस्ताव पेश गर्ने भएको छ। समितिले बुझाउने प्रस्तावमा २४ खेलका २ सय १७ खेलाडीको तयारी र सहभागिताका लागि कुल ८ करोड ८४ लाख ३५ हजार रुपैयाँ बजेट माग गरिने संयोजक शेर्पाले नागरिकलाई जानकारी गराए।
आउँदो सेप्टेम्बर २० देखि अक्टोबर ४ सम्म हुने एसियाली खेलकुदका लागि खेलाडीको बन्द प्रशिक्षण साउन १५ बाट सुरु गर्ने समितिको प्रतिवेदनमा उल्लेख छ। खेलाडी २ सय १७ भए पनि इन्चोनमा अफिसियलसहितको नेपाली टोलीमा २ सय ८५ सदस्य हुनेछन्।
'हामी आजै प्रतिवेदन बुझाउने तयारीमा थियौं। तर सबै सम्बन्धित संघसँग छलफल गर्दा ५ बजिहाल्यो। त्यसैले भोली बिहानै मन्त्रालयमा प्रतिवेदन बुझाउने छौं,' शेर्पाले मंगलबार बेलुकी भने। सरकारले १७औं एसियाली खेलकुदका लागि ५ करोड रुपैयाँमात्र छुट्याएको छ। मन्त्रालयमा प्रतिवेदन बुझाएपछि त्यहीअनुसार अर्थ मन्त्रालयसँग थप रकम माग गर्ने शेर्पाले बताए।
'थप बजेट कति आउँछ, त्यहीअनुसार केही खेल र खेलाडी संख्यामा घटबढ हुनसक्छ,' उनले भने।
दुई साताअघि गठित समितिले सबै खेलका संघसँग छलफल गरेर सहभागिताको खाका तयार गरेको हो। ट्रायथोलन संघका पदाधिकारी भने छलफलमा नआएको बताउँदै शेर्पाले तीन दिनभित्र नआए सहभागिता नहुने चेतावनी दिए। 'हामीले उहाँहरूलाई बारम्बार बोलायौं। आउनुभएन। तीन दिनभित्र आउनु भनेर आज पत्र काटेका छौं। त्यो अवधिमा पनि नआए ट्रायथोलनको सहभागिता हँुदैन,' उनले सचेत गराए।
समितिले एथलेटिक्स, आर्चरी, बक्सिङ, ब्याडमिन्टन, बास्केटबल (महिला), फेन्सिङ, जिम्न्यास्टिक, फुटबल (पुरुष), क्रिकेट (महिला र पुरुष), कराते, तेक्वान्दो, सेपाक टाक्रो, जुडो, उसु, टेबलटेनिस, लन टेनिस, सफ्ट टेनिस, पौडी, भारोत्तोलन, कुस्ती, सुटिङ, गल्फ र ट्रायथोलनमा सहभागिता जनाउने प्रारम्भिक निर्णय गरेको छ।
नेपाल ओलम्पिक कमिटीका सहमहासचिव समेत रहेका समितिका संयोजक शेर्पाले आयोजकसमक्ष सबै खेल र खेलाडीको प्रारम्भिक सूची दर्ता गरिसकेको बताए। अगस्ट १५ को समयसीमामा अन्तिम सूची पठाउनुपर्ने उनले जानकारी गराए। 'समयसीमा सकिएपछि नयाँ दर्ता गराउन पाइन्न। त्यसैले हामीले सबैसँग छलफल गरेरमात्र निर्णय लिन खोजेका हौं। किनकि अन्तिम सूची दर्ता गराएपछि भाग नलिए ओलम्पिक काउन्सिल अफ एसियाले जरिवाना गर्छ,' शेर्पाले भने।
खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र परिषदका सदस्यसचिव युवराज लामाबीचको राजनीतिक द्वन्द्वले खेलकुदमा अवरोध भएको स्वीकार्दै शेर्पाले एसियाली खेलकुदको तयारीलाई भने त्यसले असर नगर्ने दाबी गरे। मन्त्रीले शेर्पाको नेतृत्वमा तयारी समिति बनाएको विरोधमा सर्वोच्च अदालतमा रिट दायर गरेका लामाले एसियाली खेलकुदको तयारीलगायतका एजेन्डामा छलफल गर्न भनी मन्त्रीसमक्ष परिषदको बोर्ड बैठक बोलाउन माग गरेका छन्। कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन राखेपको ऐन र कार्यविधिले सदस्यसचिव पदेन संयोजक रहने गरी स्थायी समिति व्यवस्था गरेको दाबी गर्दै लामाले शेर्पा नेतृत्वको समिति अवैधानिक बताउँदै आएका छन्।
'मन्त्रीज्यूले खेलकुदको भावना, ऐन र कार्यविधि विपरीत काम गर्नुभएको छ। उहाँको कदम सरासर अवैधानिक छ। एसियाड तयारीका लागि कुनै समिति बनाइरहनै पर्दैन। कार्यविधिमा व्यवस्था भएअनुसार बैठक बोलाएर काम सुरु गर्ने मात्र हो,' लामाले भने, 'मन्त्रीज्यूको कार्याधिकारले यस्तो समिति गठन गर्न दिँदैन।'
लामालगायत ८ सदस्यले सोमबार मन्त्रीसमक्ष बोर्ड बैठक बोलाउन माग गरेका थिए। ऐनमा व्यवस्था भएअनुसार परिषदको अध्यक्ष रहने मन्त्रीको निर्देशनमा सदस्यसचिवले बोर्ड बैठक बोलाउनुपर्छ। मन्त्रीले बैठक नबोलाए र आवश्यक लागे परिषदका एकतिहाई सदस्यले बोलाउन सक्ने प्रावधान छ। 'उहाँहरूले एकतिहाई सदस्य माग राख्नुभएको छ। हामीसँग पनि त्यस्तै नम्बर छ। पुराना साथीहरू पनि सदस्यसचिवको दम्भले खेलकुद अवरोध भयो भन्नुहुन्छ,' शेर्पाले भने, 'उहाँहरूको बैठक बोलाउने अनुरोध फेसबुक र पत्रिकामार्फत आउँछ। सदस्यसचिवले आफै गएर अध्यक्षलाई भेटेर एजेन्डामा छलफल गरेपछि बैठक बोलाउनुपर्ने हो। सामान्य पदीय मर्यादा पनि पालना भएको छैन।'
मन्त्रालय र परिषदबीच समन्वय हुन नसकेसम्म खेलकुद विवादमुक्त नहुने बताउँदै शेर्पाले सदस्यसचिवलाई राजीनामा दिन सुझाए। 'मन्त्री वा सदस्य सचिवमध्ये एक नहटेसम्म खेलकुदले निकास पाउँदैन। एमालेको सरकार भएको बेला मन्त्री हट्ने कुरा हुँदैन। बरु माओवादी प्रतिपक्षमा भएका कारण सदस्यसचिवले राजीनामा दिनु राम्रो हुन्छ,' शेर्पाले भने, 'सदस्यसचिवको व्यक्तिगत स्वार्थका कारण सिंगो खेलकुद प्रताडित भइरहेको छ। उहाँले एसियाली खेलकुद तयारी समिति अवैधानिक हो। त्यहाँ नजानु, सहयोग नगर्नु भनेर प्रशिक्षकलाई निर्देशन दिनुभएको छ। उहाँ पूरै अवरोधको राजनीतिमा सक्रिय हुनुहुन्छ।'
शेर्पाले सदस्यसचिव लामाले काम गर्न नसकेका कारण अघिल्लो आर्थिक वर्षमा २३ करोड रुपैयाँ फ्रिज भएको आरोप लगाए। सातौं राष्ट्रिय खेलकुदका लागि पनि परिषदले नै कार्यक्रम नबुझाएकाले बजेटमा छुटेको उनको आरोप थियो।