काठमाडौं– टिट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आयोजनामा दुबईमा बिहीबार भएको खेलमा नेपाल ४४ रनले हारेको हो।
खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो। नेदरल्यान्डस्का लागि कप्तान बेन कूपरले सर्वाधिक ६५ रन बनाए भने पिटर बोरेनले ६२ रन जोडे। नेपालका अमृत भट्टराई र बसन्त रेग्मी महँगा साबित भए। तीन ओभर बलिङ गरेका भट्टराईले ४२ रन खर्चंदै एक विकेट लिए भने रेग्मीले चार ओभरको स्पेलमा ४८ रन दिँदै एक विकेट लिए।
जवाफी ब्याटिङ गर्न आएको नेपालको सुरुवात राम्रो हुन सकेन। मात्र १६ रनको अवस्थामा सुवास खकुरेल व्यक्तिगत २ रन जोड्दै आउट भए। नेपालका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ३९–३९ रन बनाए भने कप्तान पारस खड्काले ३१ रन जोडे। नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो।