काठमाडौं-नेपालको वास्तुकलालाई चिनाउने काष्ठमण्डप पुनर्निर्माण गर्दा मौलिकतामा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन्। सरकारी निकाय बजेट निर्माणमै सीमित रहेका बेला नागरिक स्तरबाट मंगलबार आयोजना गरिएको गोष्ठीमा उनीहरुले सरोकारवालालाई यस्तो बताएका हुन्।
काठमाडौं महानगरपालिका र पुरातत्व विभाग सरकारसँग पुनर्निर्माणका लागि बजेट माग्ने हानथाप गरिरहेका बेला उनीहरुले यसको पुनर्निर्माणका लागि बहस सुरु गरेका हुन्। 'काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान २०७२' मा रहेका इतिहासविद, संस्कृतिविद, पुरातत्वविद, स्थानीय लगायतले सरोकारवालालाई काष्ठमण्डपको मौलिक पुनर्निर्माणतर्फ ध्यानाकर्षण गराए। वैशाख १२ को भूकम्पले फेददेखि नै भत्किएको काष्ठमण्डप पुनर्निर्माणका लागि सरकारी निकाय बजेट व्यवस्थापनमै सीमित भइरहेको छ।
छलफलमा शक्तिशाली भूकम्पमा नभत्किने गरी निर्माण गरिनुपर्नेमा जोड दिइयो। 'भूकम्प प्रतिरोधात्मक बनाउने नाममा विदेशी प्रविधि ल्याएर यसको मौलिकतामा आँच ल्याउने काम नहोस्,' काठमाडौंका स्थानीय तथा अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले गोष्ठीमा भने, 'पुनर्निर्माण अभियानमा आवश्यकता अनुसार सहभागी हुन र गच्छेअनुसार योगदान गर्न संगठित भएका हौं। काष्ठमण्डप पुनर्निर्माणमा नेपाली जनता विशेष गरी हामी काठमाडौंवासी सहभागी हुन तत्पर छौं।'
गोष्ठीले सरकारी निकायलाई झक्झकाउन खोजेको उनले बताए। त्यसैले महŒवअनुसार काष्ठमण्डप पुनर्निर्माणमा प्राथमिकता दिइयोस् भन्ने चाहना रहेको पनि उनले बताए। 'काष्ठमण्डप पुनर्निर्माण सामान्य स्मारकको निर्माणमात्र हैन, यो त नेवा शिल्प र राष्ट्रिय गौरवको परिचायक स्मारक हो। यो नेवा शिल्पीहरूको पौरख हो,' उनले भने, 'त्यसैले काष्ठमण्डप क्षेत्रको पुनःनिर्माणले महŒव र प्राथमिकता पाउनुपर्छ।'
राष्ट्रिय अभिलेखालय प्रमुख तथा पुरातत्वविद प्रकाश दर्नालले पुनःनिर्माणमा मौलिकताको कदर गरिनुपर्नेमा जोड दिए। 'नेपालका मन्दिरको मौलिकता भनेकै काठ, इँटा र माटो हुन्,' उनले भने, 'यस्तो मौलिकता संसारका अरु देशमा विरलै छन्। त्यसैले बलिया बनाउने भन्दै विदेशी प्रविधि प्रयोग गरेर मौलिकतामा आँच नआओस्।'
नेपाली मौलिकताले गर्दा नै विदेशी पर्यटक घुम्न आउने बताउँदै उनले मौलिकता गुम्न दिए सांस्कृतिक पर्यटनमा समस्या पर्ने औंल्याए। 'विदेशी प्रविधि प्रयोग गरे के उनीहरु हेर्न आउलान्?' उनले प्रश्न गरे। वास्तुकार सुदर्शनराज तिवारीले पनि जग मजबुत बनाउन सके काष्ठमण्डप बलियो बन्ने बताए । 'काष्ठमण्डप मण्डप शैलीको मन्दिर हो, मन्दिरका चारवटा मूल थामले तेस्रो तलाको छानोलाई आड दिएका छन्,' उनले भने, 'यो प्रयोग फेरि पनि गर्न सकिन्छ।'
वास्तुकार शंकर रिमालले नेपाली शैलीमै निर्माण गरिएका कतिपय मन्दिरलाई भूकम्पले नभत्काएको स्मरण गराउँदै तिनको निर्माण शैलीलाई अपनाउनुपर्ने बताए। भक्तपुरको ५५ झ्याले दरबार तथा न्यातपोल, हनुमानढोका क्षेत्रको तलेजु मन्दिर लगायतलाई भूकम्पले ठूलो असर नगरेका कारण तिनको अध्ययनबाट नेपाली मौलिकता नै अपनाएर बलिया संरचना तयार पार्न सकिने उनले बताए। 'ती मन्दिर किन भत्किएनन्? सायद तिनको बनावट नै बलिया हुन्, या भूकम्पको कम्पनले कम असर गरेर हो,' उनले भने, 'अन्य मन्दिरको अध्ययन गरेर काष्ठमण्डपष्मा पनि लागु गर्न सकिन्थ्यो कि!'
प्राकृतिक विपत्तिपछि पुनर्निर्माण ठूलो चुनौती रहेको बताउँदै पुरातात्विक, सांस्कृतिक महŒवका सम्पदा पुनर्निर्माण झन् बढी चुनौतीपूर्ण रहेको कार्यक्रमका सहभागीले बताएका थिए। ठूलो रकम मात्र नभई विशेषज्ञताको पनि उत्तिकै खाँचो पर्ने भएकाले प्राचीन सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा स्थानीयदेखि विश्वस्तरको संलग्नता जरुरी रहेको गोष्ठीमा औंल्याइयो।
योजना आयोगले भूकम्पले क्षतिग्रस्त पुरातात्विक मठमन्दिर, दरबार, पाटी, पौवा लगायत सम्पदाको पुनर्निर्माण तथा जिर्णोद्धारका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरे पनि सरकारले चालु आर्थिक वर्षका लागि दुई अर्ब रुपैयाँ छुट्याएको छ।