काठमाडौं-काठैकाठले बनेको काष्ठमण्डपलगायत बसन्तपुर दरबार क्षेत्रका कतिपय सम्पदाका पुरातात्विक महत्वका काठ सडकमा वर्षाको पानीले भिजेका छन्। भूकम्पबाट ९० प्रतिशत क्षतिग्रस्त दरबार क्षेत्रमा जताततै खुला आकासमुनि राखिएको र ओतको कुनै व्यवस्था नभएकाले यस्ता काठ कुहिने अवस्थामा पुगेका छन्।
१३ औं शताब्दीतिर निर्मित ठानिएको काष्ठमण्डपका ठूला र निकै गह्रौं काठ खुला ठाउँमै पानीले भिजिरहेका छन्। पुरातात्विक महत्वका यस्ता काठ वर्षाबाट जोगाउन सम्बन्धित निकायले कुनै ओतको व्यवस्था नगरेका कारण त्यसै भुईंमा नै असरल्ल राखिएका छन्।
प्राचीन स्मारक संरक्षण ऐनअनुसार पुनर्निर्माण गर्दा वा जिर्णोद्धार गर्दा सकेसम्म पुराना काठ नै प्रयोग गर्नुपर्ने भए पनि कतिपय यस्ता काठ पानीमा भिज्दा मक्किएर कमजोर हुने अवस्थामा पुगेको संस्कृतिविद् चुन्दा बज्राचार्यले जानकारी दिइन्। भत्केका मठमन्दिरका पेटीमा यस्ता असंख्य काठ थुपारिएका छन्।
'काष्ठमण्डपका ठूलाठूला काठ ठूलो घन्टमुनि खुला ठाउँमा राखिएका रहेछन्,' उनले भनिन्, 'त्यस्ता पुरातात्विक महत्वका काठ ओतमा सुरक्षित राख्नुपर्ने हो। तर त्यसको कुनै वास्ता गरिएको छैन। कुहिन्छ/बिग्रन्छ भनेर ध्यानाकर्षण पनि गराएँ, तर कसैले वास्ता गरेन।'
हनुमानढोका दरबार संरक्षण विकास समितिका पूर्वसदस्य तथा पुरातत्वविद् विष्णुराज कार्कीले त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाले सक्रियता नदेखाउँदा समस्या आएको बताए। उनले काष्ठमण्डपका ठूला काठबाहेक अन्य काठ काम लाग्ने अवस्थामा नरहेको पनि बताए।
'१३ औं शताब्दीमा निर्मित काष्ठमण्डपमा पछिल्लो समय मर्मतसम्भारलगायत पुनर्निर्माणका कुनै काम भएको थिएन। कहिलेकाहीँ छानो जिर्णोद्धार गर्नेबाहेक अन्य काम भएको थिएन,' उनले भने, 'काष्ठमण्डपको काष्ठकला विशिष्ट र अत्यन्त महत्वपूर्ण भएकाले संरक्षण गर्न आवश्यक छ।' कतिपय कलात्मक काठ पानीले नभिज्ने ठाउँमा सुरक्षित राखिएको उनको दाबी थियो। उनले ठूला काठ मात्र पानीले नभिज्ने गरी सुरक्षित राख्न समस्या भएको बताए।
विकास समितिले कतिपय महत्वपूर्ण काठ संग्रहालयको मूल चोक, न्हुलछें चोकलगायत क्षेत्रमा राखे पनि वर्षाको पानीले भिजिरहेको बसन्तपुरका बासिन्दा गणपतिलाल श्रेष्ठले बताए। भूकम्पपछि काठ व्यवस्थापन र उद्धारमा लागेका उनको टोलीले बुट्टेकाठ व्यवस्थित गरेर मन्दिरका टेकामा राखेको उनले बताए।
'भूकम्पपछि कति दिन त राजनीतिक दलका कार्यकर्ता र नेता आएर व्यवस्थापन गरे। तर ती काठ अहिलेसम्म ओतमा राख्ने व्यवस्था भएको छैन,' उनले भने, 'त्यसबेला स्थानीय र अन्य ठाउँका युवाले पनि यस्ता काठ व्यवस्थापन गरेका थिए।'
गणपतिलालले महानगरपालिका र विकास समिति दुवैले काठ सुरक्षित व्यवस्थापन गर्न कुनै भूमिका निर्वाह नगरेको दाबी गरे। 'पर्यटकसँग शुल्क असुल्न सक्ने तर पुराना र महत्वका काठ जोगाउन भने वास्तै नगर्ने,' उनले भने, 'दुवै निकाय अग्रसर नहुँदा काठ बिगँ्रदै/कुहिँदै छन्। ज्यादै गह्रौं काठ पनि बोकेर हनुमानढोकाभित्र लग्यौं, तर ओतको व्यवस्था भएन। बाहिर खुला ठाउँमा रहेका काठ त झन् बिग्रनै लागिसक्यो।'
दुवै निकायले स्वयम्सेवकसँग काठ सुरक्षित राख्ने व्यवस्था मिलाउन आग्रह गरेेको भए सबै काठ सुरक्षित रहने उनको दाबी थियो। तर निकायकै बेबास्ताले काठको दूर्गति भएको उनले दाबी गरे।
तर विकास समिति र महानगरपालिका दुवै निकायले काठ बेबास्ता गरेको आरोप स्वीकार्न तयार छैनन्। विकास समितिकी सदस्यसचिव सरस्वती सिंहले समयमै मजदुर नपाइएकाले काठ भिज्ने अवस्था आएको बताइन्। 'रातारात सबै काम गर्न सकिँदैन, मान्छे पाउन मुस्किल छ,' उनले भनिन्, 'हामी काम गर्दै छौं।'
९० प्रतिशत सम्पदा ध्वस्त भएको भन्दै तत्काल सबै काम गर्नसक्ने अवस्था नरहेको पनि उनले बताइन्। 'संरक्षण गर्ने हो, तर समस्या परेको छ,' उनले थपिन्। कतिपय 'काठ कुन मन्दिरका हुन्,' भनेर चिन्नसमेत सक्ने अवस्थामा नरहेको पनि उनले बताइन्।
तर सम्पदाका काठलगायत सामग्री संरक्षणमा लागिरहेको दाबी महानगरपालिकाका हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख नरेन्द्रविलास वज्राचार्यले दाबी गरे। उनले आरोप नकार्दै विकास समितिसँग सहकार्यमा संरक्षणका काम गरिरहेको दाबी गरे।
'काष्ठमण्डपका ठूला काठ व्यवस्थापनमा समस्या आएको छ,' उनले भने, 'कतिपय काठ हनुमानढोकाभित्र सारेर सुरक्षित राख्न मद्दत गरेका छौं।'