काठमाडौं-घरबाट आधा मिनेटमात्र परको काष्ठमण्डपको नियमित दर्शन गर्ने बसन्तपुरकी ८८ वर्षिया नानीदेवी ताम्राकार वैशाख १२ मा भूकम्पले मन्दिर ढालेपछि घरैबाट दुई हात जोड्न थालेकी छन्।
ताम्राकारजस्ता नियमित दर्शनार्थीलाई ध्वस्त काष्ठमण्डपअघि राम्ररी उभिन पनि सकस परेको छ। 'भूकम्प गएको केही बेरमै छोरा बुहारीले मरुःसत्तल (काष्ठमण्डप) भत्केको खबर सुनाए। कौसीबाटै देखिने मन्दिर हेरेको त धूलोको मुस्लो उडेको देखेँ,' उनले सुनाइन्, 'मरुःसत्तल ढलेपछि बाहिर निस्केर त्यता हेर्नै सकिँन।'
मरुःसत्तल वरपर खेलेर हुर्केकी उनलाई भत्केको मन्दिरको खाली ठाउँ देख्दा भक्कानो फुट्छ र बाहिर निस्कनै गाह्रो हुन थालेको छ। दैनिक सत्तलका चार कुनामा रहेका अशोकविनायक, कार्यविनायक, जलविनायक र सूर्यविनायक भगवानलाई पूजा गरेर बीचमा रहेका गोरखनाथका सामु हात जोड्न नबिर्सिने उनी त्यहाँका पाँच वटा भगवानका मूर्ति सुरक्षाका लागि अन्यत्र सारिएपछि पुराना दिन सम्झेरै घरबाटै हात जोडेर चित्त बुझाउँछिन्।
'भएको मन्दिर ध्वस्त भयो। भगवानका मूर्ति पनि कहाँ लगे?' उनले प्रश्न गरिन्, 'मूर्ति राखिदिए पनि हामी दर्शन गर्न त पाउँथ्यौं।' यसो भन्ने एक्लो नानीमाया मात्र नभएर त्यस क्षेत्रका बासिन्दा पनि दैनिक भगवानका मूर्ति दर्शन गर्न चाहन्छन्। भूकम्पको दुई महिना बितिसक्दा पनि मन्दिरमा नियमित दर्शन गर्न कहिले पाइने हो उनीहरू अधीर छन्।
बिहान उठ्नासाथ सो क्षेत्रका दर्जन मन्दिर दर्शन गर्ने स्थानीय ६२ वर्षे ओमकृष्ण राजकर्णिकारले भने, 'अहिले बिहान उठ्दा घरअघि देखिने मन्दिरका उराठलाग्दा दृश्यले निराशा लाग्न थालेको छ।' उनलाई पनि लागेको छ, सकेसम्म छिट्टै भगवानका मूर्तिको दर्शन गर्न पाइयोस्। साथसाथै उनी मूर्तिको सुरक्षाबारे पनि उत्तिकै सजग छन्। उनले भने, 'तर यहाँ ल्याएर पनि मूर्तिको सुरक्षा चिन्ताको विषय छ।'
अहिले राजकर्णिकारसहित कतिपय स्थानिय मन्दिरको बाँकी भाग हेर्दै मूर्ति रहेका खाली ठाउँ नियालिरहन्छन्। 'टोलबासी सबैले मूर्ति ल्याइदिन्थे कि,' उनले भने, 'सम्बन्धित निकायसँग मूर्ति दर्शन गर्न मिल्ने वातावरण मिलाइदिन अनुरोध गर्न लागेका छौं।'
वैशाख १२ को भूकम्पले हनुमानढोका क्षेत्रका ९० प्रतिशत सम्पदा क्षतिग्रस्त पारेको छ। सरकारी तथ्यांक अनुसार वैशाख १२ र २९ को अनुकम्पनले देशका ७ सय ४१ वटा सम्पदा क्षतिग्रस्त बनाएको छ।
क्षतिग्रस्त मठ/मन्दिर पुनर्निर्माण र जिर्णोद्धारका लागि वषर्ौं लाग्ने भनिए पनि सर्वसाधारणले पूजा तथा दर्शन गर्न यस्ता मठमन्दिर कहिले पुनर्निमार्ण भईसक्छन््, कुनै आधिकारिक योजना बनिसकेको छैन। तर पुनर्निर्माणको लागत र क्षति रकम भने सरकारले अनुमान गरिसकेको छ।
राष्ट्रिय योजना आयोगले भूकम्पपछि पुनर्निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ आवश्यकता रहेको बताए पनि आवश्यक रकमको ३.१ प्रतिशतमात्र साँस्कृतिक सम्पदाको पुनर्निर्माण र जिर्णोद्धार गर्न आवश्यक पर्ने जनाएको छ। यस्ता सयौं वर्ष पुराना मठ, मन्दिर, दरबार, पाटीपौवालगायत पुनर्निर्माण गर्न २०.५ अर्ब रुपैयाँ लाग्ने आयोगको अनुमान गरिसकेको छ।
सरकारले जेठ ३२ मा पर्यटकका लागि सबै सम्पदा क्षेत्र खुला गरेपछि हनुमानढोका क्षेत्रमा भीडभाड अलि बढेको छ। त्यसपछि सर्वसाधारण पनि मूर्तिरहित मठमन्दिरमा दर्शनका लागि जान थालेका छन्।
तर पुस्तांैदेखि दर्शन गरिरहेका मन्दिरमा जतिसक्दो चाँडो सुरक्षा दिएरै भए पनि मूर्ति राखेर सर्वसाधारणले दर्शन गर्न पाउने व्यवस्था गर्नुपर्ने संस्कृतिविद् चुन्दा बज्राचार्य बताउँछिन्।
'जति पनि भत्केका सम्पदा छन्, तिनको पुनर्निर्माण गरिनुपर्छ,' उनले नागरिकसँग भनिन्, 'काष्ठमण्डपको मण्डला जस्ताको तस्तै छ। त्यस्तै भत्केका कतिपय मन्दिरको अवस्था पनि यस्तै छ।' कतिपयले भत्केकै क्षेत्रमा पनि मूर्तिबिना पूजाआजा गरिरहेका भए पनि सर्वसाधारण खिन्न हुने गरेको उनको बुझाइ छ।
पुरातत्वविद् भीम नेपालले पनि सुरक्षा दिएर भए पनि सर्वसाधारणले दर्शन गर्न पाउने व्यवस्था गर्नु पर्ने बताए। सुरक्षा चुनौतीको सामना गरेरै भए पनि मन्दिरमा मूर्ति स्थापना गर्नु उचित उनले बताए। 'मन्दिरमा मूर्ति नभेटिँदा कतिपयले तस्बिरमै पूजा गरिरहेको कुरा पनि बाहिर आएको छ,' उनले भने, 'विपत्तिका कारण मूर्ति अहिलेकै अवस्थामा पुनःस्थापना गर्नु पनि चुनौतीपूर्ण छ।'
उनले भूकम्पका कारण कतिपय मठमन्दिरमा हुने पूजा प्रभावित भएको उनको भनाइ छ। उनले यस्ता मठमन्दिरमा हुने पूजा नियमित गर्न नसके संस्कृति नै लोप हुने जोखिम बढ्ने बताए।
पुरातत्व विभागले पनि यस्ता चलनलाई निरन्तरता दिन कसरत सुरु भैसकेको बताएको छ। विभागका प्रवक्ता रामबहादुर कुँवरले कतिपय मन्दिरमा अस्थायी टहरा बनाएर मूर्ति राख्ने तयारी भैरहेको जानकारी दिए।
'सर्वसाधारणले दैनिक दर्शन गरिरहने मठमन्दिर पुनःनिर्माण विभागले प्राथमिकतामा राखेको छ,' उनले भने, 'साथै मूर्ति राखेपछि उचित सुरक्षाको व्यवस्थाको तयारी गरिएको छ।' पाटनका कतिपय मन्दिरमा केही समयमै मूर्ति राखिने पनि उनले बताए। विभागले सुरक्षा दिएरै प्रमुख मठमन्दिरमा मूर्ति पुरानै ठाउँमा स्थापना गर्ने तयारी गरेको उनले जनाए।