काठमाडौं-भत्काइएका भौतिक संरचना समयमै नबनिरहेका बेला काठमाडौं महानगरले चालु रहेका पक्की सडकपेटी भत्काएको छ। सार्क शिखर सम्मेलनअघि मात्र स्तरोन्नति गरिएका सडकपेटी एसियाली विकास बैंक (एडिबी) को परियोजना कार्यान्वयन गर्न भन्दै भत्काइएका हुन्।
एडिबीको करिब १५ करोड रुपैयाँमा राजधानीका १५ किलोमिटर सडकपेटी अपांगमैत्री र स्तरोन्नति गर्ने नाममा छ महिनादेखि भत्काउन थालिएको थियो। राजधानीका सडक किनारमा हिँड्दा पैदलयात्रीले सास्ती झेलिरहेका बेला सीमित पेटीसमेत भत्काइएका छन्। अपांगमैत्री र स्तरोन्नतिका लागि भन्दै गत माघमा नै टुँडिखेल वरपरका र सहिदगेटदेखि त्रिपुरेश्वरसम्म्का पक्की र राम्रा फुटपाथ भत्काइएको थियो जसका कारण पैदलयात्रीलाई हिँड्न कष्ट भइरहेको छ। निर्माण गर्ने ठेकेदारको लापरबाही र अनुगमन निकायको कमजोरीले फुटपाथ कहिलेसम्म बन्ने टुंगो पनि छैन।
अहिले भत्काइएका ठाउँमा पैदलयात्रीलाई हिँड्न नमिल्ने गरी हिलो र पानी जमेको हुन्छ। वर्षातका बेला त झन् फुटपाथ आहाल नै बनेको देखिन्छ। कतिपय स्थानमा खाल्डाखुल्डी र सिमेन्ट ब्लकमा परेर सर्वसाधारण घाइते पनि भएका छन्। सहिद गेट, भद्रकाली, रत्नपार्क वरिपरि, नारायणहिटी पर्खालस"ग सटेका केही भाग भत्काइएको छ। ती ठाउँमा कुन कम्पनीले कुन आयोजनाअर्न्तगत काम गरिरहेको छ भन्नेसमेत उल्लेख गरिएको छैन। 'हु"दाखाँदाको सडक पेटी भत्काएर महिनौंदेखि जनतालाई दुःख दिएका छन्, खोइ कसले किन भत्काएको हो!' रत्नपार्क क्षेत्रमा नियमित आइरहने अर्जुन गौतमले नागरिकस"ग भने, 'समयमै बनाउन नसक्नेले भत्काएर हामीजस्ता पैदलयात्रीलाई दुःख दिइरहेका छन्। यहा" जसले जे गरे पनि हुन्छ। कारबाही कसैलाई हँुदैन।'
क्षमता नै नभएको ठेकेदार कम्पनीलाई कामको जिम्मेवारी दिँदा फुटपाथको अवस्था बेहाल बन्न पुगेको सरोकारवाला निकायका अधिकारी नै बताउ"छन्। एडिबीको आर्थिक सहयोगमा काठमाडौं दिगो सहरी यातायात परियोजना र काठमाडौं महानगरपालिकाले अपंागमैत्री फुटपाथ निर्माणका लागि भन्दै 'लुम्बिनी रमण' नामक ठेकेदार कम्पनीलाई कामको जिम्मेवारी दिएका थिए।
कम्पनीले टुँडिखेल वरपर क्षेत्रसहित उपत्यकाका १५ किलोमिटर फुटपाथ निर्माणका लागि १५ करोड रुपैयाँको ठेक्का पाएको हो। उपत्यकामा पहिलो पटक ह्विलचियर र दृष्टिविहीन हिँड्न सक्ने छुट्टै रुटसहितको फुटपाथ निर्माणको जिम्मा सार्कलगत्तै सो कम्पनीले पाएको थियो।
तर, कम्पनीले पक्की स्थानको फुटपाथ भत्काउने बाहेकको काम गर्न सकेको छैन। नारायणहिटी दरबार क्षेत्रको उत्तरी र पूर्वी खण्डमा भने चर्को दबाबपछि भर्खरै काम अगाडि बढेको छ। तर, उक्त क्षेत्रका धेरै ठाँउमा अझै पनि खाल्डाखुल्डी र हिलोको थुप्रो नै भेटिन्छन्। उक्त खण्डको फुटपाथ पनि पहिले पक्की नै थियो।
महानगरपालिकाअनुसार कामको जिम्मा पाएलगत्तै निर्माणका लागि आवश्यक तयारी नै नगरी कम्पनीले टुँडिखेल वरिपरि रहेका पुराना ब्लक उप्काएको थियो। काम देखाउन कम्पनीले पक्की फुटपाथ भत्काउने र ब्लक निकाल्ने काम गरे पनि निर्माणतर्फ भने अझसम्म ध्यान दिन नसकेको महानगर र परियोजनाका कर्मचारी नै बताउँछन्।
ठेकेदार कम्पनीकै ढिलाइ र लारपरबाहीका कारण फुटपाथ निर्माणको काम अलपत्र परेको स्वयं परियोजनाका प्रमुख निरज शर्मा बताउँछन्। 'काम छिटो गर भनेर पटक–पटक ताकेता गरिरहेका छौं,' उनले भने, 'तर, कम्पनीले विभिन्न बहाना बनाउँदै काममा आलटाल गर्दै आइरहेको छ।' उनका अनुसार ठेकेदार कम्पनीले क्षमताभन्दा बढीका काम देशैभर लिनाले सबैतिरको काममा असर परिरहेको छ। उनले उक्त कम्पनीलाई काम छिटो नसके कारबाही गर्ने चेतवानी दिएको जानकारी दिए।
गत मंसिर १० र ११ गते राजधानीमा आयोजित सार्क शिखर सम्मेलन अगाडि पनि ती क्षेत्रको फुटपाथ मर्मत र निर्माण गरिएको थियो। परियोजनाका अनुसार उक्त कम्पनीलाई सार्क सम्मेलनका बेला सिंहदरबार मुख्य गेटदेखि भ›कालीसम्म बनाइएको संरचनाजस्तै फुटपाथ बनाउन राजधानीका विभन्न क्षेत्रमा गरी १५ किलोमिटरको जिम्मा दिइएको हो।
सिंहदरबार भद्रकालीपछि नारायणहिटी परिसर र टुडिँखेल वरपर र सहिदगेटदेखि त्रिपुरेश्वरका फुटपाथ चालु आर्थिक वर्षभित्र नै निर्माण गरिसक्ने गरी कम्पनीलाई कामको जिम्मेवारी दिएको परियोजनाले जनाएको छ। कम्पनीलाई सिंहदरबार, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, भ›काली, दरबारमार्ग, सहिदगेट, कान्तिपथ र टुँडिखेल वरिपरि यस्तो फुटपाथ बनाउने जिम्मा दिइएको छ। ती क्षेत्रमा दुईदेखि छ मिटर फराक फुटपाथ बन्नेछन्।
फुटपाथमा बिच्छ्याइने ब्रिक फरक डिजाइन र रङका हुने महानगरको उक्त परियोजना प्रमुख सुरज शाक्यले जानकारी दिए। कम्पनीले भने पछिल्लो समयमा आएको भूकम्प र वर्षाका कारणले काम अगाडि बढाउन समस्या भएको जानकारी दिएको छ। फुटपाथ निर्माणका कन्सल्ट्यान्टका उन्नम प्रधानले काम ढिला हुनुमा भूकम्पलाई नै दोष दिए। 'निर्माणको काम गर्ने समयमा नै भूकम्प आउँदा जनशक्ति नपाइने समस्या देखियो,' उनले भने, 'जसका कारण ती क्षेत्रमा काम रोकिन पुग्यो र सर्वसाधारणले थप सास्ती खेप्नुपरेको छ।'
उनले भदौभित्रमा काम सक्ने जानकारी दिए। जबकि उक्त ठेकेदार कम्पनीको सम्झौता यही महिनाको अन्तसम्म मात्र रहेको छ। कम्पनीले गत वर्ष कामको ठेक्का पाएको थियो। त्यतिबेला सार्कलाई लक्षित गरेर कम्पनीले काम सिंहदरबार भद्रकालीमा केन्द्रित गरेको थियो।
ह्विलचियर नै सडकबाट हिँड्नुपर्ने अवस्थामा फुटपाथ अपांगमैत्री हुन्छन् भन्नेमा महानगरपालिकाकै एक कर्मचारीले शंका व्यक्त गरे। 'अपांगमैत्री सडक हुनका लागि फुटपाथमा ह्विलचियर पुग्न सक्ने मात्र भएर हुँदैन, ह्विलचियरसहित एक व्यक्ति पनि हिँड्न मिल्ने हुनुपर्छ,' उनले भने, 'यसका लागि दुई फिटभन्दा फराक सडक चाहिन्छ। तर, सिंहदरबार र तीनकुने–माइतीघर अगाडिबाहेक यत्तिका फराक फुटपाथ अन्त छैनन्।' पैदलयात्रीमैत्री फुटपाथ नै नभएको सहरमा अपांगमैत्री सडक बन्छ भन्नुमा विश्वास गर्न नसकिने उनले बताए।
सडक विभागका अनुसार सडक जतिसुकै लेनको भए पनि फुटपाथ कम्तीमा पनि डेढ मिटर फराकिलो हुनुपर्छ। तर, उपत्यकासहित नेपालका अधिकांश सडकमा मापदण्डअनुसारका फुटपाथ बनाइएका छैनन्। राजधानीका सडकमा त डेढ फिटभन्दा कमका समेत फुटपाथ बनाइएको छ।