एसएलसी उत्तीर्ण विद्यार्थीका लागि ए लेभल शिक्षा प्लस टुको उत्कृष्ट विकल्प हो। स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्ने अवसर पनि हो। केही वर्ष अघिसम्म उच्च आयस्रोत हुनेहरुको पहुँचमा मात्र रहेको ए लेभल पछिल्ला केही वर्षयता सामान्य बन्दै गएको छ।
बहुआयामिक प्रतिभा तिखार्ने यो अन्तर्राष्ट्रिय पाठ्यक्रम सिर्जनात्मक र व्यवहारिक छ। त्यसैले ए लेभल अध्यापन गराउने कलेजहरु थपिएका छन्। प्रतिस्पर्धा बढ्दो छ। उत्कृष्ट विद्यार्थीले सत्प्रतिशतसम्म छात्रवृत्ति पाउन सक्छन्।
व्यवहारिक शिक्षा र विद्यार्थीको आकर्षणकै कारण नेपालमा झन्डै तीन दर्जन कलेजहरुले ए लेभल कक्षा सञ्चालन गर्दै आएका छन्। वेलायतस्थित क्याम्ब्रिज इन्टरनेशनल इक्जामिनेसन्स (सीआईइ) को यो पाठ्यक्रम अध्यापनका लागि नेपाली कलेजहरुले उसैसँग सम्बन्धन लिएका छन्। सीआईइले नेपालमा ए लेभलको सम्बन्धन, अनुगमन तथा परीक्षा सञ्चालन गर्न काठमाडौं स्थित ब्रिटिश काउन्सिललाई जिम्मा दिएको छ। त्यो बाहेक अनुमति र अनुगमनमा शिक्षा मन्त्रालय समेत सहभागी हुन्छ।
नेपाली सन्दर्भको घोकन्तेे शिक्षा प्रणाली विपरित सिर्जनशील र व्यवहारिक यो पाठ्यक्रमप्रति विद्यार्थीको रुचि बढ्दो छ। विद्यार्थीले पाउने अन्तर्राष्ट्रिय एक्स्पोजर ए लेभलको सबैभन्दा महत्वपूर्ण पक्ष हो। अन्तर्राष्ट्रिय पाठ्यक्रम भएका कारण कतिपयले विदेश पढ्न जान सहज हुने ठानेर पनि ए लेभल शिक्षा रोज्ने गरेका छन्।
चेल्सी इन्टरनेशनल एकेडेमीबाट सन् २०१४ मा सासोलोजी विषयमा नेपाल टप गरेकी एन्जेला शर्मा ए लेभलमा अध्ययन गरेका कुराहरुले वास्तविक जीवनका समस्या समाधान गर्न सहयोग पुगेको बताउँछिन्। 'कठिन समस्यालाई मौलिक ढंगले सामना गर्ने दृष्टिकोण ए लेभल शिक्षाले प्रदान गर्दछ', न्युयोर्कको सेन्ट जोसेफ कलेज भर्ना भइसकेकी उनको बुझाइ छ, 'यसले मलाई सिर्जनात्मक सिकाइ पद्धतिको महत्वबारे निकै गम्भीरतापूर्वक अनुभूति गरायो।'
नेपाल प्रवेशको २९ वर्ष पूरा हुँदा ए लेभल पाठ्यक्रम राजधानीबाट मोफसलतर्फ फैलिँदै गएको छ। पोखरा, बुटवल, बिराटनगरका कलेजहरुले ए लेभलको सम्बन्धन लिएर अध्यापन गराउन थालेका छन्।
लचिलो विषय छनौट
उच्च माध्यामिक शिक्षा परिषदको प्लस टु जस्तै ए लेभल दुई वर्षे पाठ्यक्रम हो। पहिलो वर्षको पाठ्यक्रमलाई एडभान्स सब्सिडरी अर्थात् एएस र दोस्रो वर्षलाई ए टु भनिन्छ। 'साइन्स' र 'ननसाइन्स' गरी दुई शीर्षकमा विभाजित पाठ्यक्रममा कूल ७० विषयको छनौट अवसर रहन्छ। दुई वर्षे यो कोर्समा विद्यार्थीले ती विषयहरु मध्येबाट चार क्रेडिट पूरा गर्छन्। नेपालको सन्दर्भमा अंग्रेजी विषयलाई अनिवार्य बनाइएको छ।
रोचक पक्ष यो छ कि 'क्रेडिट रिक्वारमेन्ट' पूरा गर्नेगरी विद्यार्थीले जुन संकायको विषय पनि छनौट गर्न पाउँछन्। त्यसबाहेक पनि विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार थप विषय पढ्ने सुविधा रहन्छ। आफूलाई बहुआयामिक बनाउन साइन्स संकायको विद्यार्थीले ननसाइन्स विषयहरु जस्तैः अर्थशास्त्र, अंग्रेजी साहित्य, मनोविज्ञान थपेर पढ्न सक्छन्। 'विद्यार्थीको करिअरलाई ध्यानमा राखेर हामीले संकायअनुसार केही विषय अनिवार्य पारेका छौं', चेल्सी इन्टरनेशनल एकेडेमीका ए लेभल निर्देशक राजेश अधिकारी भन्छन्, 'त्यसबाहेक विद्यार्थीले आफ्नो प्रतिभा तिखार्न रुचि र क्षमताअनुसार विषय थप्न सक्छन्।'
क्याम्ब्रिजले वर्षको दुई पटक ए लेभलको परीक्षा सबै देशहरुमा एकै पटक सञ्चालन गर्ने गर्छ। मे–जुनमा एउटा परीक्षा हुन्छ भने दोस्रो परीक्षा अक्टोबर–नोभेम्बरमा हुनेगर्छ। प्लस टु भन्दा फरक ए लेभलका विद्यार्थीले दुई वर्षमा चार पटक परीक्षाको विकल्प पाउँछन्। 'विद्यार्थीले वर्षैपिच्छे परीक्षा दिन पनि पाउँछन्। दुवै वर्षको एकैचोटी दिन्छु भन्न पनि पाउँछन्', उनी भन्छन्, 'यसबाहेक परीक्षा प्राप्त ग्रेड चित्त नबुझे विद्यार्थीले पुनः सोही विषयको परीक्षा दिन पनि पाउँछन्।' क्याम्ब्रिज इन्टरनेशनल इक्जामिनेसन्सले लिने परीक्षामा धेरै नेपाली विद्यार्थी विश्वमै उत्कृष्ट भएका उदाहरण छन्।
ए लेभल अन्तर्राष्ट्रिय एक्स्पोजर सहितको सिर्जनात्मक र व्यवहारिक शिक्षा प्रणाली भए पनि यो प्लस टु भन्दा महँगो छ। घोकन्तेशैलीको नेपाली शिक्षा प्रणालीमा खारिएका विद्यार्थीका लागि यो पाठ्यक्रमसँग घुलमिल हुन केही अप्ठ्यारो पनि पर्न सक्छ। अंग्रेजी भाषाको पकड पनि यसका लागि जरुरी छ।