इलाम- झण्डै छ दशक पुरानो इतिहास बोकेको इलाम नगरपालिका कार्यालय केही बर्षयता आर्थिक संकटको सामना गर्दैछ। कर्मचारीको बोझले थलिएको नगरपालिका उनीहरुलाई समयमै तलव खुवाउन नसक्ने स्थितिमा पुगेको छ। आम्दानीभन्दा खर्च धेरै भएकाले नगरपालिकालाई आर्थिक संकट परेको हो।
बार्षिक बजेट यथार्थपरक नभई महत्वकांक्षी हुँदा उत्पन्न आर्थिक संकट कायमै रहेको हो। बार्षिक कारोवार आठ करोड रुपैयाँ हाराहारीको भए पनि बजेट १४ करोडसम्मको बनाईंदा आम्दानीले खर्चको भार धान्न नसकेको कार्यालयले जनाएको छ। यथार्थपरक बजेट नबने समस्या अझै लम्बिनेछ।
नौ वडामा फैलिएको र ४० हजार हाराहारी जनसंख्या रहेको नगरपालिका कार्यालयमा ९१ जना कर्मचारी कार्यरत छन्। उनीहरुको तलवमै मासिक १२ लाख ५७ हजार रुपैयाँ खर्च हुन्छ। खानेपानी वितरणको जिम्मेवारीसमेत नगरपालिकालै नै लिएको छ। खानेपानी शाखामा अत्यधिक कर्मचारी छन्।
कार्यालयका अधिकृत राम शाह आन्तरिक आम्दानी थोरै हुँदा खर्चको भार थेग्न नसकिएको बताउँछन्। 'यो पुराना नगरपालिकामध्येको एक हो, तैपनि पछिल्ला बर्षमा सधैं घाटामा छ' शाह भन्छन्, 'जनप्रतिनिधिविहीन अवस्थामा सम्पति करसहित अरु करको दर बढाउन नसकिँदा आर्थिक संकट आइपरेको हो।'
अघिल्लो आर्थिक बर्ष २०७०/०७१ मा १४ करोडको बजेट बनाइए पनि ८ करोड ६३ लाख आम्दानी र ७ करोड ५७ लाख खर्च भएको थियो। 'सम्पति कर बढाउने निर्णय नगरवासीको दवावका कारण कार्यान्वयन नहुँदा लक्ष्यमा पुग्न सकिएन' शाहले सुनाए, 'यसपल्ट त पोहोरभन्दा झन् कम आम्दानी देखिन्छ।'
चालु आर्थिक बर्षमा पनि १४ करोड आम्दानी गर्ने लक्ष्य राखिए पनि बैशाखभित्र ६ करोड ५२ लाख रुपैयाँमात्रै असुली भएको शाहले बताए। आर्थिक बर्ष सकिँदा आम्दानीले साढे सात करोड ननाघ्ने उल्लेख गर्दै उनले आय र व्ययको अन्तरकै कारण योजना कार्यान्वयन र तलवमा ढिलाई भएको बताए।
आर्थिक संकट घटाउन आगामी आर्थिक बर्षदेखि भने नगरपालिका यथार्थपरक बजेट प्रस्तुत गर्न खोज्दैछ। २०७२/०७३ मा १२ करोड ७ लाख २० हजार रुपैयाँ आम्दानी गर्ने र त्यति नै खर्च हुने नगरपालिकाको अनुमान छ। उक्त लक्ष्य भेट्न पनि करको दर नबढाई सम्भव नहुने शाह बताउँछन्।
'कर्मचारी धेरै भएको खानेपानी शाखा जहिल्यै घाटामा छ, सेवामुखी काम गर्नुपर्ने बाध्यता भएकाले घाटा सहेरै पनि पानी वितरण गर्नु परिरहेको हो' शाहले नागरिकलाई भने, 'स्वास्थ्य र शिक्षामा लगानी गर्नेक्रममा सात कर्मचारी राखेर खोलिएको शहरी स्वास्थ्य केन्द्रले पनि खर्चको भार उत्तिकै बढाएको छ।'
राजनैतिक दबावमा नियुक्त गर्दा नगरपालिकामा कर्मचारीको भार बढी भएको हो। स्थायी दरवन्दीमा ४३, करारमा १७, एलजिसिडिपी र आइसिटि स्वंसेवकमा १/१, नगरस्वास्थ्य कार्यक्रममा ७ खानेपानी शाखामा २०, वातावरण शाखामा ३१ कर्मचारी छन्। यसलाई आवश्यकताभन्दा धेरै मानिँदै आएको छ।
नगरपालिकाले सम्पत्ति कर, सडक बत्ती, खानेपानी मिटर जडान, जरिवाना, दर्ता, सिफारीस आदिबाट राजश्व संकलन गर्छ। घर तथा सटर भाडा, सवारी र हाटबजार करबाट पनि आम्दानी हुन्छ। यति धेरै आम्दानी श्रोत हुँदाहुँदै पनि व्यवस्थापन चुस्त नहुँदा नगरपालिका जहिल्यै पनि घाटामा चल्ने गुनासो छ।