लेखनाथ (कास्की)-एउटा किराना पसलको गाडी चलाएर जीविकोपार्जन गर्दै आएका लालबहादुर सुनारको घर भूकम्पले भत्काएपछि बिचल्ली थियो । आमा, दुई छोराछोरी र पत्नीसहितको परिवारलाई पालमुनि राखेर गाँस जोहो गर्न हातपाखुरा घोट्न निस्कन्थे।महिनाभरको कमाइले छाक टार्न पनि धौधौ पर्ने उनले नयाँ घरको कल्पना गर्नु त पर, पालको विकल्प पनि सोच्न सकेका थिएनन् ।
लेखनाथ–१५, डाँडाथुम्कोका लालबहादुरले मात्रै होइन, गाउँका ४० परिवारले सोमबारदेखि भने केही राहतको सास फेर्न पाएका छन् । कास्की जिल्ला कवाड संघले गाउँमा जस्तापाताको अस्थायी घर बनाइदिएको छ । ‘पालको विकल्प होस् भनेर जस्ताको घर बनायौं,’ संघ अध्यक्ष केशव अधिकारीले भने, ‘कम्तीमा बर्खाको पानीले दुःख दिँदैन ।’ वैशाख १२ को भूकम्पले केन्द्र बनाएको गोरखा, बारपाककै जसरी डाँडाथुम्कोका दलित बस्ती ध्वस्त भएको देखेर अस्थायी घर निर्माण थालेको अधिकारीले बताए ।
‘यी घर नमुना पनि हुन्,’ अधिकारीले भने, ‘अब अरूले र सरकारले नै पनि बर्खाअघि यस्ता घर बनाउन सक्छन् ।’ एकदुई घन्टाभित्र बनाउन सकिने अस्थायी घरमा छाना र बारमा जस्ता अनि बाँसका खम्बा प्रयोग गरिएको छ । फलामको तारले बाँधेर छाइएको घरको चारैतिर भेन्टिलेसनजसरी खुला राखिएकाले हावाले पनि उडाउन नसक्ने इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए । संघले अस्थायी घर निर्माणको योजना अघि सारेपछि इन्जिनियर भण्डारी र बुद्धि अधिकारीले डिजाइन तयार पारेका थिए ।
लुमन्ती आवाससँग सहुलियतमा ४ लाख रुपैयाँ ऋण लिएर राममाया नेपालीको परिवारले पोहोर मात्रै घर बनाएको थियो । भूकम्पले त्यही घर बस्नै नहुने बनाएपछि नेपाली परिवार मकैबारीमा पालको ओत लागेको थियो । ‘बर्खा जसोतसो काट्न पाए हुन्थ्यो भन्ने थियो,’ राममायाका पति मोहनले भने, ‘अहिले घर बनाउन नसक्ने अवस्थामा टिनको अस्थायी टहरोले पनि धेरै भर दिन्छ ।’ घर भत्किएपछि भैंसीलाई टौवामुनि सारेर गोठमा बस्दै आएका बाबुराम मिजारले पनि परिवारलाई टिनमुनि राख्न पाउँदा घरै बनाएजस्तो भएको बताए ।
कवाड संघले बनाएका प्रतिघरमा २१ पाता टिन प्रयोग गरिएको छ । घरमा १२ फिट लम्बाइ, १० फिट चौडाइ, ९ फिट उचाइ र ३ फिट बरन्डा छ । त्यसमा ५–६ जनाको परिवार अन्नसमेत राखेर बस्न सकिने इन्जिनियर भण्डारीले बताए । ‘एउटा घरका लागि ३२ हजारको जस्ता, ६ हजारको बाँस, १ हजार रुपैयाँको तार र किला खर्च भएको छ,’ उनले भने । घर बनाउन कवाड संघ, स्थानीय युवा र आमा समूहका स्वयंसेवकले श्रमदान गरेका थिए । कवाड संघले आफ्नै सदस्यबीच संकलित र संस्थागत रूपमा गरी १६ लाख रुपैयाँ खर्च गरी डाँडाथुम्को गाउँमा अस्थायी घर निर्माण गरेको हो।