इलाम- दार्जिलिङवासीहरु भूकम्पपीडितका लागि राहत जुटाउने कार्यलाई तीव्रता दिएका छन्।
साताअघि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पबाट जनधनको व्यापक क्षति भएपछि स्तव्ध बनेको दार्जिलिङले पहिलो चरणमा शनिवार सात ट्रक राहत सामग्री नेपाल भित्र्याएको छ। काँकरभिट्टा नाकाबाट भित्र्याइएको औषधि र खाद्यान्नसहितको राहत सामग्री आइतवार राजधानी पुर्याएएर भूकम्पपीडितका हातमा पुर्यााउने तयारी भइरहेको छ।
दार्जिलिङ टेरिटोरिअल एडमिनिष्ट्रेशन (जिटिए) का तर्फबाट खरिद गरिएको राहत सामग्री ८० लाख रुपैयाँ बराबरको भएको उल्लेख गर्दै जिटिए सभासद विनय तामाङले भूकम्पपीडितलाई क्रमिक रुपमा राहत उपलव्ध गराउँदै जाने बताए। सात ट्रक राहत सामग्री वितरण गर्न तामाङसहित जिटिएका आधा दर्जन सभासद शनिवारै राजधानी पुगिसकेका छन् भने सामग्री स्थलमार्गबाट लगिँदैछ।
'दार्जिलिङको नाक राख्ने गरी प्रशान्त तामाङलाई इण्डियन आइडल बनाउन नेपालीले जसरी तन मन दिएका थिए, त्यसैको गुन तिर्न पनि भूकम्पपीडितलाई राहत दिनु जरुरी थियो' तामाङले नागरिकलाई भने, 'त्यसमाथि दार्जिलिङ आफैंमा नेपालीभाषी बाहुल्य रहेको क्षेत्र हो र भूकम्पीय क्षतिको पीडाले नराम्ररी दुखिरहेको छ।' शक्तिशाली भूकम्पले दार्जिलिङ क्षेत्रमा पनि केही क्षति पुर्याोएको थियो।
गोर्खा जनमुक्ति मोर्चाका सह–सचिव तथा प्रवक्तासमेत रहेका तामाङले पहिलो चरणको राहतमा एक ट्रक औषधि नै रहेको बताए। भूकम्पले ढलेका भग्नावशेषमा पुरिएका मानिसका कारण सर्नसक्ने भनिएको हैजा नियन्त्रण गर्ने औषधि धेरै छ। त्यसबाहेक, पानी २४ हजार लिटर, त्रिपाल दुई हजार थान, बालबालिकालाई खुवाउने ल्याक्टोजिन र सेनिटरी प्याडसमेत पर्याप्त लगिएको तामाङले बताए।
भूकम्प गएकै दिनदेखि दार्जिलिङमा 'कन्ट्रोल रुम' खडा गरेर नगद तथा जिन्सी राहत संकलन गर्न सुरु गरिएको उल्लेख गर्दै जिटिएका अर्का सभासद तिलकचन्द्र रोक्काले त्योक्रम अझै जारी रहेको बताए। 'भूकम्पले नेपालमा व्यापक जनधनको क्षति पुर्या एको थाहा पाउनासाथ हेल्प डेस्क खडा गरी राहत संकलन थालेका हौं' रोक्काले भने, 'सिक्किम, कालेम्पोङ, मिरिक, खर्साङतिर पनि राहत जुटिरहेको छ।'
अध्ययन, नोकरी, व्यापार र मजदुरीका लागि हजारौं नेपाली दार्जिलिङमा कार्यरत रहेको अवस्थामा भूकम्पपछि थुप्रै घर फर्किएको रोक्काले बताए। नेपालले सामना गरिरहेको भूकम्पको पीडालाई मोर्चा र जिटिएले नजिकबाट महसुस गरिरहेको उल्लेख गर्दै उनले भाषिक र सांस्कृतिक हिसावले पनि सक्दो राहत उपलव्ध गराउने जनाए। नगद दिनेका लागि दार्जिलिङको एचडिएफसी बैंकमा खातासमेत खोलिएको छ।
पहिलो चरणको राहत राजधानीस्थित गुरु रामदेवको पतञ्जली योगपीठमा जम्मा गरी त्यहींमार्फत वितरण गरिने दार्जिलिङबाट गएका अर्का सभासद प्रकाश गुरुङले बताए। 'सुरुमा राजधानीका भूकम्पपीडितलाई मात्रै राहत दिए पनि अर्को चरणदेखि जिल्ला जिल्ला पुर्यााउँछौ' गुरुङले दार्जिलिङको योजना सुनाए, 'त्यतिञ्जेल दार्जिलिङ र सिक्किमका ठाउँ–ठाउँमा राहत संकलन गरिरहेका हुन्छौं।'