गुल्मी–विश्व शान्ति र नेपालमा संविधान लेखनका लागि दबाब दिने अभियानमा एक वर्ष देखि जुटेका सिक्का बाबा दोश्रो गुल्मी महोत्सवको अवसरमा सदरमुकाम तम्घासमा देखिए। सिक्का बाबाका नामले परिचित कास्की हेम्जा नगरपालिका–२ का ४७ वर्षीय रामबहादुर दमाई शरीरका कपडा भरी विश्वका १ सय ८० मुलुकका सिक्का भिरेर विश्व शान्ति र संविधान लखेन दवाबको यात्रामा निस्किएका छन्।
नेपालका ७५ वटै जिल्लाको भ्रमण सकिएपछि पुनः दोस्रो चरणको जिल्ला भ्रमणमा निस्केको उनले बताए। शरीरभरी १ सय ८० राष्ट्रका करिब १० किलो सिक्काको भारी बोकेका उनी ७५ जिल्ला मध्ये हुम्ला जिल्ला विकासका दृष्टिले निकै पछाडि परेको अनुभव सुनाउँछन्। यस अभियानमा २ वर्ष ७ महिना खर्चेको बताउने सिक्का बाबा पहिलो चरणको यात्रा कास्की जिल्लाबाट सुरू गरी काठमाडौंको बौद्धमा पुगेर पुरा गरेका थिए।
आफूलाई अविवाहित बताउने उनले परियारको छोरा भए पनि पृथक काम गर्ने उद्देश्यले जुत्ता सिलाएर जिविका चलाउदै आएको बताए। उनी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालयलगायत सरकारी निकाय एवम् संघ संस्थाहरुमा पुगेर आफ्ना अनुभव सुनाउने र सुझाव दिने गरेका छन्। उनको साथमा नेपालका झण्डै ३ सय भन्दा बढी सरकारी निकाय तथा संघ संस्थाहरुका शुभकामना पत्रहरू रहेका छन्।
दौरा सुरुवालका साथमा उनले नेपाली वीरताको चिनो मानिने खुकुरी पनि भिरेका छन्। उनी आफू सुकुम्वासी भएको बताउँछन्। अब बन्ने संविधान गरिव किसान र पछाडी पारिएका वर्ग समुदायको पक्षमा बनोस र सबै नेपाली समान भएर बाँच्न पाईयोस् भन्ने उनको कामना छ। जसलाई भेट्छन उसलाई पनि उनी यस्तै सन्देश दिने गरेका छन्।