काठमाडौं- युनेस्कोले तेस्रो पटक बाटो बन्द गर्न चेतावनी दिए पनि पशुपति विश्व सम्पदा क्षेत्र हुँदै गुह्येश्वरी जाने बाटो चालु नै छ। विश्व सम्पदा क्षेत्र मासेर बाटो बनाएको भन्दै युनेस्कोले बन्द गर्न डेढ वर्ष अगाडि चेतावनी दिँदै कार्यान्वयन नभए पशुपति क्षेत्र विश्वसम्पदा सूचीबाट हट्न सक्ने संकेत दिएको थियो।
पशुपति क्षेत्र विकास कोषले तिलगंगा–श्लेषमान्तक–गुह्येश्वरी बाटोमा बाटबिरुवा रोपेर सडक बन्द गर्ने तयारी गरे पनि कार्यान्वयन हुन सकेको छैन। विश्वसम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको श्लेषमान्तक वन हु"दै गुह्येश्वरीसम्मको बाटो बन्द गर्न युनेस्कोले अन्तिम पटक २०७० असार २ देखि १३ सम्मको ३७ औं सम्मेलनले पत्र पठाएको थियो। यदि अर्को बैठकसम्म प्रगति नभए समग्र काठमाडौंै विश्व सम्पदा क्षेत्र नै कालोसूचीमा पर्ने युनेस्कोको चेतावनी छ।
करिब आठ वर्षदेखि विवादित बन्दै आएको सडकलाई युनेस्कोले ३५ औं बैठकदेखि तीन पटकसम्म चेतावनी दिइसकेको छ। 'यो युनेस्कोको तेस्रो चेेतावनी हो। यसलाई सुधार नगरे काठमाडौं विश्वसम्पदा क्षेत्र खतरामा जाने निश्चित रहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। 'यसै वर्षको जुन महिनामा जर्मनीमा हुने सम्मेलनसम्म यो बाटो बन्द गरेको रिपोर्ट पेस गर्नुपर्छ,' उनले भने, 'विकास कोषलाई हामीले लिखित तथा मौखिक आग्रह गरिरहेका छौं। उहाँहरु तयारी गरिरहनुभएको छ।' हाल सो सडकमा गाडी गुडिरहेका छन्। सर्वसाधारण पैदलयात्रा गरिरहेका छन्।
सडक विभागले करिब ३ वर्षअघि कालोपत्रे गर्ने भनेर १८ करोड रुपैयाँको टेन्डर गरे पनि पुरातत्व विभागले बाटो पिच गर्नबाट रोकेको थियो। 'यो बन्द गर्न सकेनौं भने काठमाडौंका अन्य क्षेत्र पनि खतराको सूचीमा पर्छन्,' उनले भने, 'उपत्यकाका सात क्षेत्रलाई एकै विश्व सम्पदाभित्र राखिएकाले एउटा गयो कि समस्या पैदा हुन्छ।'
सम्पदा क्षेत्रका सडकले गर्दा श्लेषमान्तक वनको माथिल्लो भागमा रहेको विश्वरुपा मन्दिर चर्किएको विभागले बताएको छ। 'बाटोले गर्दा कतिपय ठाउँमा पहिरो गएको छ,' उनले भने, 'यसलाई रोक्न पनि युनेस्कोले आग्रह गरेको छ।'
कोषका सदस्यसचिव गोविन्द टण्डनले बाटो बन्द गर्न केही दिनमा टेन्डर आह्वानको तयारी भइरहेको बताए। उनले कोषको सञ्चालक परिषदले बाटो रोक्न पास गरिसकेकाले अब गाह्रो नभएको जानकारी दिए। 'बाटो बन्द गर्नका लागि, त्यहाँको बालुवा तथा वन संरक्षण गर्नका लागि हामी लागिपरेका छौं,' उनले भने, 'सर्वसाधारण मात्र हिँड्न मिल्ने गरी हामीले बाटो छाड्छौं। जुन पुरानै अवस्था देखिन्छ।'
सन् १९७९ मा पशुपतिनाथ मन्दिर परिसरसहित काठमाडौं, ललितपुर र भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु र चाँगुनारायण मन्दिरलाई काठमाडौं उपत्यका सम्पदालाई युनेस्कोले विश्व सम्पदामा राखेको थियो।
दरबार क्षेत्रका भौतिक संरचना विश्वसम्पदाको मापदण्डविपरीत भएको भन्दै सन् २००३ मा युनेस्कोले काठमाडौंका सम्पदालाई खतराको सूचीमा राखेको थियो। पछि सुधार गर्दै गएपछि सन् २००६ मा फिर्ता भएको थियो।