काठमाडौं- राजधानीका दुई प्रसिद्ध पर्यटक तथा धार्मिक स्थल बौद्धनाथ र पशुपतिनाथ सिधा जोड्ने बौद्धद्वार मार्ग केही महिनामै फराक हुने भएको छ। सडक फराक भएपछि पैदल हिँड्ने पर्यटकलाई सुविधा हुने स्थानीयको भनाइ छ।
०३५/३६ सालतिर सामान्य बाटो नै रहेको सो रुट हुँदै हिँड्ने पर्यटक पशुपतिनाथ मन्दिरको दृश्यावलोकन तथा दर्शन गर्ने गरेका छन्। दुवै धार्मिक स्थलमा पुगेका पर्यटक अर्को धार्मिक स्थलमा पुग्ने स्थानीयको भनाइ छ। बाटो फराक भएपछि करिब २० मिनेट पैदल यात्रामै पशुपतिनाथ मन्दिर परिसरमा पुग्न सकिने उनीहरुको भनाइ छ।
काठमाडौं विश्व सम्पदाका सात स्मारकमध्ये बौद्धनाथ र पशुपतिनाथ मन्दिरबीच यो बाटो राम्ररी बने दुवै क्षेत्रको धार्मिक पर्यटन विकास हुने तथा दुवै क्षेत्रको एकआपसमा नजिकको सम्बन्ध रहने स्थानीय अनमोल श्रेष्ठले बताए। बौद्धगेट अगाडिबाट सुरु हुने यो सडक फराक भएपछि बौद्ध, चुच्चेपाटी, जोरपाटीबाट गुह्येश्वरी हुँदै पशुपति लगायत जयबागेश्वरी, गौशाला, मित्रपार्क छिट्टै पुग्न सकिने उनले बताए।
'दुवै क्षेत्रमा धार्मिक पर्यटकको अत्यधिक सम्भावना छ,' बौद्ध विकास समितिका पूर्व सदस्यसमेत रहेका उनले भने, 'बौद्ध आउने पर्यटकले पशुपति अवलोकनका लागि पैदल यात्राका रुपमा यो बाटो प्रयोग गरिरहन्छन्।' अर्का स्थानीय राम चौलागाईंले पर्यटकले सोध्दै र खोज्दै पशुपतितिर हिँड्नुपर्ने बाध्यता पनि हट्ने विश्वास गरे।
बाटो फराक हुने भन्ने हल्ला मात्र थियो तर अब घर भत्काउन थालेपछि छिट्टै बन्ने आशा पलाएको चौलागाईंले बताए। 'बाटो करिब डेढ वर्षदेखि बन्ने खबर आइरहेको थियो,' उनले भने, 'अहिले कतिपय फुटपाथ क्षेत्र पनि निर्माण भइरहेकाले छिट्टै सम्पन्न होला भन्ने विश्वास छ।'
गौरीघाट बौद्धद्वार उपभोक्ता समितिका अध्यक्ष अच्युत पराजुलीले पनि बाटोको ऐतिहासिक महŒव रहेको बताए। 'भदौ महिनादेखि कात्तिकसम्म विदेशी पर्यटकको घुइँचो यहाँ हुन्छ,' उनले भने, 'यो तीन महिना यो बाटो हुँदै बौद्ध र पशुपति ओहोरदोहोर गर्ने पर्यटकको लामै लाइन हुन्छ।' उनका अनुसार चैतसम्म सक्ने निर्माण कम्पनीलाई म्याद छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले विस्तार गरेको सडक २०७० मंसिर महिनादेखि निर्माण सुरु भएको उनले बताए।
एक वर्षभन्दा बढी समयदेखि निर्माण हुन थालेको यो सडकको बौद्ध गेट अगाडि मुख्य सडकबाट भित्र छिर्ने ठाउँको दायाँपट्टिको भवन नभत्कँदा निर्माण कार्य ढिला भएको उनले बताए। तर अहिले ती घर भत्काउन थालिएको छ। 'सुरुमा अन्य क्षेत्रमा विस्तार भयो तर यो घर बाधक बनेको थियो,' उनले भने, 'अब अन्तिम कार्य मात्र बाँकी छ।'
'यो धार्मिक पर्यटनको राम्रो सम्भावना बनेको सडक हो,' उनले भने, 'यो बाटो एक मिटर चौडा हुँदैदेखि पर्यटकले प्रयोग गर्थे।' करिब तीन किलोमिटर लम्बाइ रहेको सडकको दुवैतर्फ डेढडेढ मिटर चौडाइ र ७.२ मिटर पिच हुने उनले जानकारी दिए।
यो सडकमा पर्यटकका लागि साँझमा हिँड्न मिल्ने गरी सोलर बत्ती, विश्रामस्थल र शौचालयको निकै खाँचो रहेको उनले औंल्याए। 'कहिलेकाहीँ त पर्यटकले शौचालयका लागि सोध्दा हामी दंग पर्छौं,' उनले अनुभव सुनाए, 'यस्तो अवस्थामा व्यक्तिगत घरमा रहेको शौचालयबाहेक अन्य विकल्प हुँदैन।'