काठमाडौं– वीर अस्पतालमा उपचाररत गंगामाया अधिकारीले आफ्ना छोराका हत्याराहरूलाई काराबास भएपछि मात्रै श्रीमान् नन्दप्रसाद अधिकारीको अन्त्येष्टि गर्ने बताएकी छिन्।
माओवादी द्वन्द्वकालमा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्याराहरूलाई कारबाहीको माग गर्दै वीर अस्पतालमै आमरण अनसन बसेका अधिकारी दम्पत्तीमध्ये नन्दप्रसादको असोज ६ गते निधन भएको थियो। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि उनको शव उठाइएको छैन।
३ सय ३० दिनको अनशनमा श्रीमान् गुमेपछि गंगामायाले असोज ३१ सरकारले पाँच बुँदे प्रतिबद्धता जनाएपछि अनशन तोडेकी थिइन्। सोही प्रतिबद्धता पूरा गर्ने क्रममा बुधबार कानुनमन्त्री नरहरि आचार्य अस्पताल पुगेर नन्दप्रसादको अन्त्येष्टिका लागि गंगामायालाई आग्रह गरेका थिए। पूर्वप्रतिबद्धताअनुसार सम्मानसाथ उनको अन्त्येष्टि गरिने आश्वासन मन्त्री आचार्यले दिएका थिए।
तर गंगामायाले आफ्ना छोराका हत्याराहरूलाई जेल हालेपछि जेठा छोरा नूरप्रसाद आफैं बुबाको अन्त्येष्टि गर्न आउने भन्दै मन्त्रीलाई फर्काइदिइन्। गंगामायासँग छलफल गर्न मन्त्री आचार्यसँगै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक, महान्यायाधिवक्ता बाबुराम कुँवर, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत पनि पुगेका थिए।