काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यमा लगातार रुपमा आएको गिरावटसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा मंगलबार घटाउने भएको छ। तर, घटेको नयाँ भाडादरले यात्रुलाई नभई व्यापारीलाई मात्र फाइदा हुने देखिएको छ।
मंगलबारबाट लागु हुने नयाँ भाडादर अनुसार काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा यात्रा गर्ने यात्रुले हालको भाडादरमा जम्मा १५ देखि २७ पैसासम्म मात्र कम रकम तिर्नुपर्ने हुन्छ। सहरी क्षेत्रमा चल्ने सवारीमा एक रुपैयाँसमेत मूल्य नघटेपछि यात्रुले पुरानै मूल्यअनुसार भाडा तिर्नुपर्ने अवस्था देखिएको हो।
हाल यात्रुवाहक सवारीको न्यूनतम भाडा काठमाडौं उपत्यका र सहरी क्षेत्रमा १५ रुपैयाँ छ भने त्यसपछि किलोमिटरका आधारमा बढीमा २७ रुपैयाँसम्म भाडा रहेको छ। सरकारले मंगलबारबाट लागु हुने गरी यात्रुवाहक सवारी साधनको भाडा एक प्रतिशतका दरले घटाउने निर्णय गरेको छ। यो हिसाबमा हेर्दा १५ रुपैयाँ भाडा तिर्ने यात्रुले अब १४ रुपैयाँ ८५ पैसा भाडा तिर्नुपर्ने हुन्छ। तर, नेपालमा सय पैसाभन्दा कमका मुद्रा चलनचल्तीमा नभएकाले यात्रुले पुरानै भाडादर अनुसार १५ रुपैयाँ नै तिनुपर्ने हुन्छ।
हालकै भाडादर अनुसार उपत्यकाभर जहाँसम्मको सवारी चढे पनि बढीमा २७ रुपैयाँ मात्र भाडा छ। २७ रुपैयाँ भाडा तिर्ने यात्रुले पनि नयाँ भाडादर अनुसार जम्म २७ पैसा मात्र छुट पाउनेछन्। तर, पैसाको कारोबार नहुने भएपछि यात्रुले आफूले फिर्ता पाउनुपर्ने २७ पैसा पनि सोही सवारीलाई छाड्नुपर्ने हुन्छ।
पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु भएपछि सरकारले झन्डै दुई वर्षपछि सवारीसाधनको नयाँ भाडादर लागु गर्न लागेको हो। तर नयाँ भाडादर भने उपभोक्ताले उपभोग नै गर्न नपाउने भएका छन्। सरकारले पछिल्लो पटक २०६९ फागुन २५ गते भाडादर तोकेको थियो। यातायात भाडा निर्धारण समितिले दुई वर्षअघि भाडा बढाउँदा इन्धनमा पाँचच रुपैयाँसम्म घटे वा बढे मूल्य समायोजन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार अहिले नयाँ भाडादर निर्धारण गरिएको हो। तर नयाँ भाडादर भने उपभोक्ताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मातझैं भएको यातायात व्यवस्था विभागका कर्मचारी नै बताउँछन्।
नयाँ भाडादर अनुसार एक सय रुपैयाँ भाडा भएका क्षेत्रका मानिसले मात्र जम्मा एक रुपैयाँ छुट पाउने अवस्था देखिएको छ। तर, त्यो पनि आजकाल यातायात व्यवसायी तथा मजदुरले खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइन्छ। यो हिसाबमा हेर्दा सवारी साधनको घटेको भाडादरले व्यापारीलाई नै फाइदा हुने देखिएको छ।
सरकारले पछिल्लो चार महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य लगातार ६ पटक घटाइसकेको छ। यो अवधिमा प्रतिलिटर एक सय पाँच रुपैयाँ रहेको डिजेलको भाउ घटेर ९२ मा झरेको छ। यात्रुवाहाक सवारीमा हालिने डिजेलको भाउ प्रतिलिटर १३ रुपैयाँ घट्दा सरकारले यात्रुवाहक सवारीमा यात्रुलाई लिने भाडा भने जम्मा १ प्रतिशत मात्र घटाउन लागेको हो। यस्तै, सरकारले मालवाहक सवारीको भाडादर भने २ दशमलव ७५ प्रतिशत घटाउने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका आधारमा भाडा घटाउने निर्णय भएको बताए। उनका अनुसार मंगलबारबाट लागु हुने नयाँ भाडादर वैज्ञानिक ढंगबाट नै निर्धारण गरिएको छ। 'छोटा रुटका र उपत्यकाका हकमा हेर्दा यो दर त्यति प्रभावकारी नदेखिन सक्छ,' उनले भने, 'तर हामीले पेट्रोलको घटेअनुसार नै वैज्ञानिक रुपमा नै भाउ घटाएका हौं।'
सचिव सिटौलाका अनुसार सरकारले सार्वजनिक यात्रुवाहक सवारी साधन र सार्वजनिक मालवाहक सवारी साधन (ट्रक) को भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य अवयवको अंश ६५ प्रतिशत भनी भाडादर निर्धारण भएको छ। 'भाडा निर्धारण गर्दा डिजेल पेट्रोल मात्र नभई गाडीका पाटपुर्जा, कामदारको खर्च, बिमा, राजस्व, टायर, ब्याट्री लगायत कुरा पनि हेरिन्छ,' उनले भने, 'त्यसकारण पेट्रोलको भाउ घटेअनुसार भाडा कम घटिएको देखिएको हो।'
२०६९ फागुन २५ गते सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा पेट्रोल प्रतिलिटर १२३ तथा डिजेल प्रतिलिटर ९९ रुपैयाँ थियो। शुक्रबार पेट्रोलको भाउ एकैपटक सात रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ पाँच रुपैयाँ ५० पैसा घटेर हालको भाडादर तोक्दाको मूल्यभन्दा तल झरेको छ। नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरेपछि छैटौंपल्ट मूल्य घटाउँदै प्रतिलिटर पेट्रोल एक सय १६ तथा डिजेल र मट्टितेलको ९२ रुपैयाँ बनाएको छ। आयल निगमले गत असोज १३ देखि अन्तर्राष्ट्रिय बजारको भाउअनुसार मूल्य समायोजन गर्ने गरी स्वचालित मूल्य प्रणाली लागु गरेको थियो।