काठमाडौं-नोबल शान्तिपुरस्कार विजेता कैलाश सत्यार्थी बाग्मती सफाइ अभियानमा सहभागी हुने भएका छन्। नेपाल भ्रमणमा रहेका सत्यार्थी शनिवार बिहान टेक पुलनजिकै रहेको विष्णुमती र बाग्मतीको दोभानमा सहभागी हुने छन्। हरेक शनिबार अभियानकै रुपमा बाग्मती सफाइ हुँदै आइरहेको छ। सत्यार्थी बिहान पौने ८ मा सफाई अभिायानमा सहभागी हुने बाग्मती सफाइ अभियानका प्रमुख अभियान्ता राजु अधिकारीले जानकारी दिए।
झण्डै मृत अवस्थामा पुगिसकेको बाग्मती नदीलाई पुनर्जिवित बनाउन चलिरहेको सफाइ महाअभियानलाई दुई साताअगाडि ५० लाख रुपैयाँ (५० हजार डलर)को अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो।
सहरको बीचमा बगिरहेको फोहोर नदी सफा गरी काठमाडौंलाई वातावरणमैत्री सहर बनाउन महत्वपूर्ण योगदान गरेको निष्कर्ष निकाल्दै युएन ह्याबिटटको एसियन रिजनले अभियानलाई एसियन टाउनस्केप अवार्ड २०१४ अवार्ड प्रदान गरिएको थियो।
बाग्मती सफा बनाउन ८१ हप्ता अगाडिदेखि सफाई अभियान चल्दै आइरहेको छ। हालसम्म बाग्मतीबाट एक हजार ६ सय मेट्रक टनभन्दा बढी फोहोर निकालिएको छ भने ११ किलोमिटर नदी सफा भइसकेको छ।