काठमाडौं-बिहान देखि साँझसम्म काठमाडौंको भित्री सहरका ३२ टोलका ५१ वटा मन्दिरमा पूजा गरि यसपटकको नात्येश्वर पूजा आइतबार सम्पन्न भएको छ। नौ वर्षदेखि निरन्तर हुन नसकेको काठमाडौं भित्री सहरको पूजामा तीन हजार भन्दा बढी दर्शनार्थीको सहभागीता थियो।
नेवार समुदायमा नासः पूजाका नामले परिचित यस पूजामा नेवारी समुदायका महर्जन, ज्यापु, मानन्धर, बज्राचार्य बाहेक बाहिरी समुदायको पनि सहभागीता रहेको नासः पूजा समारोह समितीका अध्यक्ष सुदन मान मुनिकारले जानकारी दिए। उनका अनुसार बिहान ६ बजेदेखि साँझ पाँच बजेसम्म पूजा सञ्चालन भएको थियो।
'नेवारी समुदायको छुट्टै पहिचान रहेका चाडहरुमा यसको महत्वपूर्ण भूमिका छ,' उनले जानकारी दिए, 'एकै व्यक्तिले पनि बिहान देखि बेलुकासम्म सहरका विभिन्न क्षेत्रमा मन्दिरमा पुगेर गरिने छुट्टै विशेषता भएको यो पूजा हो।'
बिहान कोहिटीबाट सुरु भएर भिमसेनस्थान, मरु, ठमेल, न्यूरोड, संकटा, पचली भैरव हुँदै पुनः कोहीटी पुगेर पूजा सकिएको उनले जानकारी दिए। नाट्य नृत्यमा विश्वास गर्नेले देशमा शान्ति र समाजमा सुसस्कारको कामना गर्दै पूजाआजा गर्ने चलन रहेको उनले बताए।
'पुराना सहरका टोलटोलमा नात्येश्वर भगवानको मूर्ति स्थापना गरिएको हुन्छ,' उनले भने, 'सहभागीहरुले आफ्नो इच्छाअनुसार पूजा गर्छन।' उनका अनुसार प्रत्येक पटक विशेष साइतमा पूजाको मिती तय हुने गर्दछ।
नात्येश्वरलाई संगित नृत्य, विद्या, संस्कार लगायतको उत्पत्तीकर्ता मानिने र साथै उनलाई महादेवको रुपमा पूजा गरिने चलन रहेको उनले बताए। ऐतिहासिक महत्व बोकेको संस्कृति हराउने डरले युवाहरुको पहलमा पूजा सञ्चालन गरिएको उनले बताए।
पूजामा १५ हजार दर्शनार्थी ल्याउने भनिएपनि दिनभरको वर्षातका कारण केही प्रभावित बनेको उनले बताए।
पूजामा सहभागी झोँछेका गणपतिलाल श्रेष्ठका अनुसार स्थापना गरिएका प्रत्येक मन्दिरमा १२/१२ पाथीको समयबजी बनाइएको हुन्छ। 'समयबजी भगवानको प्रसादको रुपमा चढाइएको हुन्छ,' उनले भने, 'सहभागीहरुले जुस तथा फलफुल खाएर दर्शनमा सहभागी रहेका थिए।'
पूजा अवधिभर नेवारी समुदायका प्रचलित बाजागाजासहित समूह दर्शन गर्न हिडेको थियो। 'यो पूजा यसपटक केही ढिला भएपनि युवाहरुको संयुक्त पहलमा यो वर्ष मनाइएको हो,' उनले भने।