चितवन-मकवानपुर प्रहरीले चालकको साटो गाडी चलाउने सह-चालकहरुलाई नियन्त्रणमा लिन थालेको छ। बुधबार राती प्रहरीले गरेका चेक जाँचबाट चालक अनुमतिपत्र नभए पनि ट्रक चलाएका दुईजनालाई नियन्त्रणमा लिएको मकवानपुर जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक थापाले जानकारी दिए।
ना ५ ख ३७२२ र ना २ ख ७१५० नम्बरको ट्रक चलाउनेहरु चालक नभएर सह-चालक भएको पाइएको थियो। मकवानपुर मनहरी गाविस वडा नं. ८ का गणेशबहादुर बुढाथोकी र हेटौंडा नगरपालिका वडा नं. १६ का गणेश लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजमार्गमा आकस्मिक चेक जाँचका क्रम उनीहरु समातिएका हुन्।
सह-चालकले चलाएको ट्रक पल्टदाँ मंगलबार बिहान मकवानपुरमा सातजनाको ज्यान गएको थियो भने नौजना गम्भिर घाइते भएका थिए। त्यसपछि प्रहरीले चेक जाँचमा कडाइ गरेको छ। मकवानपुरमा अघिल्लो शनिबार मात्रै दुई यात्रु बस एक आपसमा जुद्धा १० जनाको ज्यान गएको थियो भने ३० जना यात्रुहरु घाइते भएका थिए।
सह-चालकहरुले कागज माग्दा प्रहरीलाई अपशब्द समेत प्रयोग गरेका थिए। पक्राउ परेका सह-चालक बुढाथोकी र लोप्चनलाई सार्वजनिक अपराध अन्तर्गत कारवाही गरिने प्रहरीले जानकारी दिएको छ। त्यस्तै रक्सी खाएर ना २ क ५०१३ नम्बरको ट्याङ्कर चलाएका चालक हेटौंडा वडा नं. १ का प्रकाशकुमार गोलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
छतमा यात्रु राख्ने बस र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ना २ ख ७७७१ नम्बरको बसको छतमा पनि यात्रु भेटिएपछि प्रहरीले बसका चालक मकवानपुर छतिवनका विरबहादुर घलान र बसलाई नै नियन्त्रणमा लिएको हो। दुर्घटना रोक्न प्रहरीले नियमित चेक जाँचका साथै राजमार्गमा आकस्मिक जाँच पनि गरेको डिएसपी थापाले जानकारी दिए।