इलाम-मेची राजमार्गअन्तर्गत इलाम–पाँचथर सीमावर्ती राँकेबजारमा फैलिएको आगो सात घर जलिसकेपछि र चार घर भत्काएपछि नियन्त्रणमा आउनेक्रममा छ। आगलागी सुरु भएको झण्डै दुई घण्टापछि इलाम बजारबाट पुगेको दमकलले आगो नियन्त्रण गरिरहेको छ।
बिहान ८.१५ देखि सुरु भएको आगलागीले सात घर जलेका छन्। आगलागी फैलिन नदिन स्थानीयी मुक्ति आचार्य, देउमान तामाङ, भूमि आचार्य र रामदेव राईका घर भत्काइएको हो। स्थानीय विष्णु सुनुवारको घरबाट फैलिएको आगो फैलिँदा प्रेम चेम्जोङ, कर्ण गुरुङ, नेत्र लामिछाने, राजेन्द्र गौतमका घर जलेका हुन्। आचार्य स्टोर्स र लक्ष्मी होटल सञ्चालित सुकबहादुर तामाङका दुईटा घर पनि आगलागीले ध्वस्त छन्।
आगलागी भइरहेको वाङ्गेल तामाङको घरमा इलामको दमकलले पानीको फोहोरा हानिरहेको छ। इलाम र पाँचथरका जनपथ तथा सशस्त्र प्रहरी घटनास्थलमा भेला भइसकेकाले आगलागी नियन्त्रणमा आउन लागेको स्थानीय श्री विष्टले बताए।
काठ र जस्ताले बनेका घर धेरै भएको बजारमा आगलागीले सात घर जल्दा र आगो फैलिनेक्रम नरोकिँदा स्थानीय आतंकित थिए। व्यापारिक केन्द्र भएकाले आगलागी भएका सबै घरमा पसल राखिएको थियो। कतिपय सामग्री आगलागीले जलेको व्यापारी बताउँछन्।