सिन्धुपाल्चोक-चिनियाँ लत्ताकपडा बोकेर राजधानी आउँदैको एक कन्टेनर भ्यान गएराति कान्ले पहिरो जुरे छेउबाट सुनकोसीमा खसेको छ। कन्टेनर चालक गम्भिर घाइते भएका छन्।
दसैं लक्षित लत्ताकपडा बोकेको बा १ ख ६५९५ नम्बरको कन्टेनर पहिरो क्षेत्रबाट व्यापारीले खोलेको नयाँ ट्रयाकको दलदले हिलो छिचोल्ने क्रममा शनिबार मध्यराति खसेको हो। ट्रयाकबाट भिरैभिर खसेको कन्टेनर सुनकोसी किनारमा पुगेको घटनास्थलबाट व्यापारी अर्जुन सापकोटाले बताए।
लत्ताकपडा भिरभरि छरपष्ट छन्। कन्टेनरले झण्डै १० टन कपडा बोकेको थियो। सामग्री व्यापारी प्रदीप पौडेलको हो। कन्टेनरबाट खसेर भिरमा अड्केका चालक विष्णु तामाङ घाइते भएका छन्। उनको ढाड भाँचिएको छ। बाह्रविसेको किष्टोन अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि अहिले राजधानी लैजाने तयारी भइरहेको छ। कन्टेनर क्षतविक्षत भएको छ।
कान्ले पहिरोले राजमार्ग अवरुद्ध गरेपछि व्यापारीले दुई साताअघि ट्रयाक खोलेर सञ्चालनमा ल्याएका थिए। दसैं लक्षित सामान खासाकै गोदाममा थन्कने अवस्था आएपछि व्यापारीले चौविसै घण्टा आयात गरिरहेका छन्। एकोहोरो सडकमा ओभरटेक गर्ने क्रममा दलदले हिलोमा अनियन्त्रित भइ कन्टेन खसेको अनुमान प्रहरीले गरेको छ। ज्यान हत्केलामा राखेर यो सडकबाट रातभरिमा झण्डै ६० कन्टेनर सामग्री राजधानी भित्रिएका छन्। शनिबार दिनभरि प्रहरीले राजधानीबाट खाद्यन्न बोकेका गाडी पालो मिलाएर बाह्रविसेतर्फ पठाएपछि चिनियाँ सामग्री बोकेका कन्टेनर राति चल्नुपर्ने बाध्यता सिर्जना भएको हो।