काठमाडौं-काठमाडौं महानगरपालिकाको बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले नियमविपरीत दर्जनौं संस्थालाई रकम वितरण गर्न स्वीकृत गरेको छ। २०७०/७१ को २२ औं नगरपरिषदको निर्णयलाई लत्याएर यसरी सहयोग रकम दुरुपयोग भएको खुलेको हो।
काठमाडौं विश्व सम्पदा क्षेत्रको एक सम्पदा रहेको हानुमानढोका क्षेत्र छुने वडा १९, २०, २३ र २५ का स्थानीय संघसंस्था र क्लबलाई यसरी रकम वितरण गर्न पाइने व्यवस्था छ। स्थानीय संस्कृति, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धन क्षमता अभिवृद्धि गर्नका लागि बर्सेनि दर्जनौं संघसंस्थालाई रकम बाँडिने गरे पनि संस्थाहरुको यकिन वडा नखुलाई बजेट किताबमा नियमविपरीत रकम छुट्याएको देखिन्छ।
चालु आर्थिक वर्षका लागि किताबमा जम्मा १ सय ८२ संघसंस्थालाई रकम स्वीकृत गरिएकामा १ सय ४६ वटा संस्था कुन वडाका हुन्, खुलेको छैन। कतिपयको काम के हो भन्ने पनि प्रष्ट छैन। यसबाहेक वडा उल्लेख भएका तर दिनुपर्ने चार वटा वडाबाहिरका १८ वटा संघसंस्थालाई आठ लाख ९५ हजार रुपैयाँ वितरण गरिएको छ।
२२ औं नगरपरिषदको निर्णय नं. ५३ मध्ये १९, २०, २३ र २५ वडाबाहेकका संस्थालाई यस्तो रकम वितरण गर्न नपाइने, रकम सांस्कृतिक, धार्मिक, सम्पदा संरक्षण तथा पर्यटन क्षेत्रसम्बन्धी कार्यक्रमलाई दिनुपर्ने, एउटै संघसंस्थालाई वर्षमा १ पटकभन्दा बढी रकम वितरण गर्न नपाइने र बढीमा ५० हजार रुपैयाँसम्म वितरण गर्न पाइने कुराको कुनै पनि हिसाबले लागू गरिएको छैन।
नियममा व्यवस्था भएबाहेक बजेट दिँदा किताबमा कार्यक्रम प्रष्ट नखुलाइएको, बढीमा सात लाख रुपैयाँसम्म रकम वितरण गरिएको र एकै वर्षमा एकै संस्था/क्लबलाई तीन पटकसम्म वितरण गरिएको किताबमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षमा १ सय दुई वटा संस्थालाई एक करोड ६८ लाख रुपैयाँ वितरण गरिएकोमा चालु आर्थिक वर्षमा १ सय ८२ वटालाई १ करोड ५३ लाख ९२ हजार रुपैयाँ वितरण गर्ने योजना छ। तर वितरण गरिँदा पुराना निर्णयलाई कुनै वास्ता भएको देखिँदैन।
त्यसैगरी, जात्रापर्व सञ्चालन खर्च भन्दै वडा नं. २० को कुमारी क्लबलाई वार्षिक अनुदान रकम ५० हजार रुपैयाँ, इन्द्रजात्रा ४५ हजार रुपैयाँ र तीजपर्व सञ्चालनका लागि ३५ हजार रुपैयाँ गरी चालु आर्थिक वर्षमा तीन पटक वितरण गरिएको छ। त्यस्तै, महादेव मखन क्लबलाई तलेजु भवानी पूजा भन्दै ३५ हजार रुपैयाँ, प्याफल कंकेश्वरी माता पूजालाई ३५ हजार रुपैयाँ र माधवनारायण जात्राका लागि ४० हजार रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै, गंगा क्लबलाई गाईजात्राका लागि ४५ हजार रुपैयाँ, इन्द्रजात्राका लागि ४५ हजार रुपैयाँ र घोडेजात्राका लागि ३५ हजार रुपैयाँ वितरण गरिएको छ।
तर, कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले रकम वितरण परिषदको निर्यणविपरीत नभएको दाबी गरे। रकम वितरण शैली पुरानो भएकाले परिषदविपरीत जानुपर्ने अवस्था आएको उनले बताए। 'जात्रा सञ्चालन गर्ने तरिका प्रायजसो एकै क्लबलाई थाहा हुने भएकाले एकैलाई रकम दिनुपर्ने बाध्यता छ,' उनले भने, 'महँगीले पनि तोकिएभन्दा बढी रकमको माग आउने गरेको छ।'
महानगरपालिका स्रोतका अनुसार अन्य जात्रापर्व सञ्चालन खर्चबाट छुट्याइएको १३ लाख रुपैयाँ कार्यालय प्रमुख श्रेष्ठले झन् दुरुपयोग गर्ने गरेका छन्। 'हनुमानढोका संरक्षण कार्यक्रम भनेपछि हनुमानढोका सम्पदा क्षेत्र छुने चार वटा वडामा रहेका सांस्कृतिक सम्पदा संरक्षणका लागि हुनुपर्छ,' स्रोतले भन्यो, 'तर कार्यालयले चार वडाबाहेक काठमाडौं जिल्लाबाहिर दर्ता भएकालाई पनि मनपरी रकम वितरण गरेको छ। अहिलेको झमेला यही हो।'
कार्यालय प्रमुख श्रेष्ठले भने नगपरिषद बैठकले भनेअनुसार चल्न नसकिएको बताए। 'परिषदले के हेरेर निर्णय गर्छ, हामीले त्यसलाई बंग्याउनुको विकल्प छैन,' उनले भने, 'जात्रापर्व मनाउने गुठियारहरु चार वडाभन्दा बाहिर रहे पनि हामीले जात्रा संरक्षणका लागि दिनुपर्ने हुन्छ।'
महानगरको अर्को स्रोतले नगरपरिषदले गरेको निर्णयविपरीत जानु कानुनविपरीत भएको बताए। 'राजनीतिक संयन्त्रसँगको नगरपारिषदको बैठकले वार्षिक कार्यक्रम निर्धारण गर्छ, अब हनुमानढोकाका सम्बन्धमा लागु नभए कानुनको औचित्य नमानेको प्रष्ट हुन्छ,' स्रोतले भन्यो, 'कि त नगरपरिषदले व्यवस्था गर्न सक्नुपर्योक, कि परिषद निर्णयअनुसार चल्न सक्नुपर्यो ।'
कार्यक्रम के हो, कुन क्षेत्रमा गर्ने हो र कसका लागि हो लगायतका कुरा छुट्याएर बजेट स्वीकृत हुनुपर्नेमा राजनीतिक दल र कर्मचारीकै मिलेमतोमा परिषदले बजेट स्वीकृत गर्ने गरेको स्रोतको दाबी छ। कार्यालयको प्रमुख आम्दानीको स्रोत अन्तर्राष्ट्रिय पर्यटक हुन्। महानगरका अनुसार अनुमानढोका क्षेत्रमा आर्थिक वर्ष २०७०/७१ मा दुई लाख पाँच हजार विदेशी पर्यटकको भ्रमणबाट १४ करोड ४० लाख रुपैयाँ आम्दानी भएको छ।