सङ्खुवासभा-स्याबुन–३, फच्याङमा आज बिहान गएको पहिरोमा परी तीन परिवारका १० जना बेपत्ता भएका छन्। एक जनाको शव फेला परेको छ। सोमबार बिहान १ बजे खसेको पहिरोले ३ परिवारका १० जना बेपत्ता भएका हुन्।
पहिरोमा परेर ६८ बर्षीय कृतिमान कोईराला, उनकी श्रीमती बर्ष ५५ की देवीमाया र बर्ष १४ छोरी तुलसासहित तीन जना बेपत्ता भएका छन्। त्यसैगरि, ६३ बर्षीय मेहरमान कोईराला र उनकी ५८ बर्षीया श्रीमती कुमारी तथा पूर्णबहादुर कोईरालाका घरमा सुतेका ५ जना पनि बेपत्ता छन्। पहिरोमा परी ३५ बर्षका पुर्णबहादुरसहित उनका ७२ बर्षीय बाबु ईन्द्रबहादुर, ३० बर्षीया श्रीमती सम्झना र बर्ष १० का छोरा रोशन बेपत्ता छन्। उनका ८ बर्षीय छोरा प्रज्वल कोइरालाको भने शव फेला परेको हो। उनीहरुको तीन वटा घर तथा घरमा रहको धनमालसहित चौपायसमेत पहिरोले बगाएको छ।
पहिरोले घर बगाएपछि हिजो राति सुतेका ९ जना सम्पर्क बाहिर रहेको प्रहरीले पुष्टि गरेको छ। पूर्णबहादुर कोईरालाका घरमा पाहुना आएका दुई जना पनि पहिरोमा परेको अनुमान गरिएको छ। संगै रहेका १२ वटा घर उच्च जोखिममा रहेको स्थानीयहरुले बताएका छन्।
तीन सय मिटर माथिबाट झरेको पहिरो करिब १ किलोमिटर तलसम्म बगेको छ। वाना प्रहरी चौकीको प्रहरी टोली घटनास्थलमा पुगिसकको छ। जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरीसहित नेपाली सेनाको खाँदबारीस्थित श्रीदल गुल्म तथा चैनपुरस्थित सशस्त्र प्रहरी बलको अरुण गुल्मबाट पनि उद्धारका लागि सुरक्षाकर्मी परिचालन भईसकेको प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले बताए। नेपाल रेडक्रस सोसाईटीको उद्धार टोली पनि घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला सभापति सरोज बज्राचार्यले नजाए। सदरमुकाम खाँदबारीबाट घटनास्थलबाट पुग्न ५ घण्टा पैदल हिड्नु पर्छ। क्षतिको पुर्ण बिबरण भने आइसकेको छैन।