इलाम– ‘चिया नै त्यस्तो चाबी हो, जसले मेरो दिमाग अडिएको छ' बेलायती लेखिका फ्रान्सिस हर्डिङ्सको यो भनाइले थाहा हुन्छ, चिया धेरै स्रष्टाको मन भुल्याउने प्रिय पेय हो। राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालादेखि राजधानीमा सुरु भएको चिया पिउने चलन अहिले नेपालका हरेक कुनाकाप्चासम्मै फैलिएको छ।
हामीले पिउने चिया अब कुटनीतिक सम्बन्ध दरिलो पार्न उच्चस्तरका विदेशी पाहुनालाई गरिने स्वागतमा समेत प्राथमिकतासाथ समेटिँदैछ। भारतका १५ औं प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतवार अपरान्ह संसद भवनमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपाली चिया खुवाएरै स्वागत गर्दैछन्।
भारतीय जनता पार्टीको बहुमतले सत्ताको बागडोर सम्हालेका ६४ बर्षे भारतीय प्रधानमन्त्रीलाई खुवाइने चिया इलामको अर्थोडक्स हुनेछ। उच्च सम्मानस्वरुप संसदलाई ४० मिनेट सम्बोधन गर्न दिइने भएपछि संसद भवन पुग्ने मोदीलाई नेम्वाङले गृहजिल्लामा उत्पादित ‘ब्ल्याक टि' को चुस्कीले स्वागत गर्नेछन्।
‘छिमेकी प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने टुंगो भएपछि उहाँलाई कसरी स्वागत गर्ने भन्दा इलामे चिया खुवाउने निर्णय भयो,' इलामबाट तीनपल्ट चुनाव जितेका नेम्वाङले शुक्रवार नागरिकसित भने, ‘यसले हरेक पाहुनालाई चियाले सत्कार गर्ने नेपाली परम्परा जीवितै रहन्छ र इलामे चियाको महत्व बढ्छ।'
नेपाली संसदलाई सम्वोधन गर्ने पहिलो विदेशी प्रधानमन्त्रीको इतिहास बनाउने गरी ४.२५ बजे बानेश्वर पुग्ने मोदीलाई संसदकै चमेना गृहमा पकाइएको चिया खुवाइने नेम्वाङले बताए। ‘इलामको अर्थोडक्स चिया ल्याइसकिएको छ' नेम्वाङले थपे, ‘मगमग वास्ना आउने गरी पकाएर मोदीजीका हातमा टक्र्याइनेछ।'
मोदीलाई खुवाइने इलामे चिया कुन बगानमा उत्पादित र कुन कारखानामा प्रशोधित भन्ने खुलाइएको छैन। ‘समग्र इलामको प्रतिनिधित्व गर्ने अर्थोडक्स चिया हुनेछ' नेम्वाङका स्वकीय सचिव बुद्धि खनालले भने, ‘उच्च गुणस्तरको खोज्ने र त्यसलाई सकेसम्म स्वादिष्ट पारेर अतिथिसामु पस्किने तयारी भइसकेको छ।'
भारतीय प्रधानमन्त्रीका तर्फबाट १७ बर्षपछि हुँदै गरेको यो भ्रमणमा मोदीलाई इलामे चिया खुवाइने खबरले जिल्लाका उद्यमी, किसान, प्राविधिक र व्यापारी हर्षित छन्। छिमेकी प्रधानमन्त्रीले ‘ब्ल्याक टि'को चुस्की लिएपछि इलामे चिया उद्योगले झेलिरहेको संकट समाधानमा पक्कै सघाउने अपेक्षा गरिएको छ।
‘संसारले चासो दिइरहेका मोदीलाई इलामे चियाले स्वागत गर्नु गर्वको कुरा हो,' सुन्दरपानीस्थित गोर्खा टि स्टेटका प्रमुख उदय चापागाईंले भने, ‘दार्जिलिङको चिया धेरै सेलिब्रेटी र राष्ट्रप्रमुखको रोजाइमा परेजस्तै अब इलामे चिया चम्किनुपर्छ।' चिया उद्योगका अनुभवी चापागाईले मोदीसमक्ष तीन माग राखेका छन्।
पूर्वका सबै चिया उद्यमीले चाहेका ती माग हुन्, भारतीय अक्सन मार्केटमा प्रतिनिधित्व गराउनुपर्ने, तेस्रो मुलुक निकासीमा अवरोध गर्ननहुने र क्वारेन्टाइनका नाममा दुःख दिन नहुने। ‘भारतले यति गरिदिएमा नेपाली चियाको विदेशी बजार सुनिश्चित हुन्छ' चापागाईंले थपे, ‘हामी गुणस्तर भए पनि बजारमा पछि छौं।'
सिलिगुडीमा सिटिसी र कोलकातामा अर्थोडक्स चियाको अक्सन मार्केट भए पनि त्यहाँ नेपालीको प्रतिनिधित्व हुँदैन। विश्वभरका चिया व्यापारी आउने ती मार्केटमा यताको चिया राख्नसक्दा चौतर्फी लाभ हुने उद्यमीको अपेक्षा छ। बिर्तामोडमा बन्ने भनिएको स्वदेशी अक्सन मार्केटको प्रभाव त्यत्तिको हुनसक्दैन।
‘दार्जिलिङको बुढो बगानबाट न राम्रो क्वालिटीको चिया बन्छ न क्वान्टिटी नै धेरै हुन्छ, सबै कुरा प्रचार, हल्ला र विगतको ख्यातिले टिकेको छ' चिया प्राविधिक ज्योति अधिकारीले भने ‘त्यहाँको तुलनामा यताका बगानले मनग्गे उत्पादन दिन्छन्, क्वान्टिटी नि दोब्बरै हुन्छ, त्यसैले भारतमा हाम्रो सहज पहुँच हुनुपर्छ।'
इलाममा सञ्चालित दुई दर्जनभन्दा धेरै कारखानामा दार्जिलिङ क्षेत्रकै जनशक्ति बढी छ। म्यानेजरदेखि टि टेष्टरसम्म उतैका ल्याउनुपर्ने बाध्यता अन्त्य नभइरहँदा सरकारले मोदीसमक्ष नेपाली चियाका बारेमा आवाज उठाउनुपर्ने धेरैको माग छ। चिया उद्योगमा प्रयोग हुने औजार र सामग्रीसमेत भारतबाटै ल्याउने गरिन्छ।
‘चियाकै कारण दार्जिलिङ जसरी चम्कियो, इलामको त्यो सम्भावना छँदैछ' कोल्वुङका चिया किसान माधव निरौलाले भने, ‘पहिले हाम्रै सरकारले किसानमुखी नीति ल्याउँदै विद्यमान समस्या अन्त्य गरी भारतसमक्ष थप सहयोग माग्नुपर्छ।' भारतले व्यवधान खडा नगरे नेपाली चियाले ठूलो फड्को मार्ने उनी बताउँछन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार, ९ हजार ८४ हेक्टर क्षेत्रफलमा फैलिएको नेपाली चिया उद्योगमा १८ हजार हाराहारी किसान आवद्ध छन्। त्यहाँ रोजगारी पाउने मजदुर र प्राविधिकको संख्या ठूलो छ। बार्षिक ८५ लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ। यसमा करोडौं ऋण लगानी छ।
‘मोदीलाई खुवाइने इलामे चियाको स्वाद जति मिठो छ, चिया उद्योगभित्र व्याप्त समस्या उत्तिकै पीडादायी' केन्द्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालले भने, ‘त्यस्तो मिठो स्वाद सधैं पाइरहन उनले नेपाली चिया उद्योगलाई पक्कै केही गर्लान्, सहयोग माग्ने काम इलामकै नेम्वाङसहित सरकारको हो।'