काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भइरहेको हड्ताल तत्काल खुलाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ताद्वय सुनीलरञ्जन सिंह र शोभाचन्द्र मिश्रले बिहीबार अत्यावश्यक सेवाभित्र पर्ने स्वाथ्य क्षेत्रमा भइरहेको हड्ताल गैरकानुनी भएकाले अदालतबाट तत्काल हस्तक्षेप हुनुपर्ने माग गरेका हुन्। अस्पतालमा दरबन्दीभित्रका कर्मचारी हुदाँहँुदै राजनीतिक भागवण्डाका नाममा बाहिरबाट ल्याउन खोज्नु र सोही बहानामा अस्पतालजस्तो संवेदनशील सेवा प्रदान गर्ने संस्था बन्द गर्नु गैरकानुनी भएको रिटमा उल्लेख छ।
अस्पतालको अनियमितता र भ्रष्टाचारलाई सम्बन्धित निकायले हेर्ने भएकाले उक्त कारण देखाएर बिरामीको सेवा बन्द गर्ने अधिकार डाक्टरहरूलाई कुनै पनि कानुनले नदिएको जिकीर गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वाथ्य तथा जनसंख्या मन्त्रालय, वीर अस्पताल रेजिडेन्सियल डाक्टर एसोसियसन र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।
रेजिडेन्सियल डाक्टर एसोसियसनले २०७१ साउन ११ गतेबाट सुरु गरेको हड्तालले नागरिकको स्वाथ्य सेवा पाउने अधिकार हनन् भएको भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न निवेदनमा माग गरिएको छ।
आन्दोलन तत्काल रोक्नु र अस्पतालका सबै सेवा सञ्चालन भए–नभएको अनुगमन गरी अदालतलाई जानकारी गराउन गृह मन्त्रालयको नाममा आदेश जारी हुनुपर्ने माग पनि रिटमा छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को परिभाषाभित्र स्वाथ्य सेवा पनि पर्ने भएकाले हड्तालमा संलग्नहरूलाई कारवाही हुनुपर्ने माग रिटमा गरिएको छ। रिटको पेसी शुक्रबारलाई तोकिएको छ।