काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित ९ जनालाई घाटामा रहँदारहँदै बोनस बाँडेको गरेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
बुधबार नियन्त्रणमा लिइएकामा निगमका निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपाने छन्।
घाटामा गइरहँदासमेत ऐन, नियमविपरीत बोनस रकम बाँडेर अनियमितता एवं भ्रष्टाचार गरिरहेको भन्ने उजुरीबारे अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएको आयोगले जनाएको छ।
आयोगले निगम कुल सञ्चित मुनाफाको अवस्थामा नपुगेसम्म बोनस वितरण नगर्न अर्थ मन्त्रालयलाई लेखी पठाएको थियो। तर निगमले ०६६/६७ को अन्त्यमा करिब ११ अर्ब ४४ करोड ऋण तिर्न बाकी हुँदाहुँदै बोनस वितरणको लागि कुनै स्वीकृति प्राप्त नभएकै अवस्थामा गैरकानूनी निर्णय गरी १ करोड ७२ लाख ५८ हजार ४ सय ५ रुपैया ४१ पैसा निगमलाई हानिनोक्सानी पुर्याएको देखिएकाले उक्त कार्यमा संलग्न कर्मचारीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको अख्तियारले विज्ञप्तिमार्फत् जनाएको छ।
यसअघि पनि निगमका कर्मचारीलाई बोनस बाँडेको आरोपमा पक्राउ गरेको थियो। तर कर्मचारीहरू बोनस फिर्ता गर्न सहमत भएपछि विशेष अदालतले उनीहरूलाई थुनामुक्त गर्न भनेपछि अख्तियारले रिहा गरेको थियो।
साथै निगमका उपनिर्देशक सुशील भट्टराई फरार रहेकाले खोजी भइरहेको आयोगले जनाएको छ।