सिन्धुपाल्चोक– दुई महिनाअघि सार्वजनिक अपराध मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला प्रशासन कार्यालय पुर्याइएका बेला हतकडीसहित फरार पासाङ दोङ सोमबार पुनः पक्राउ परेका छन्। प्रशासन प्रांगणबाटै उनी पक्राउ परेका हुन्।
प्रहरीलाई हातपात र गालीगलौज गरेको आरोपमा इलाका प्रहरी कार्यालय बाह्रविसेले सार्वजनिक अपराध मुद्दा चलाएपछि म्याद थपका लागि सदरमुकाम चौतारा ल्याइएका मार्मिङ–५ का २५ वर्षीय दोङ फागुन १६ गते हतकडीसहित भागेका थिए। आवश्यक कागजात तयार गर्दै गर्दा दुई प्रहरीको आँखा छल्दै उनी प्रशासन कार्यालयभित्रैबाट भागेका थिए। फरार भएपछि प्रहरीले खोजी गरेपनि उनी पक्राउ परेका थिएनन्। प्रशासन कार्यालयले उनको घरमा हाजिर हुन पत्र टाँसेपछि उनी सुटुक्क आएका बेला पक्राउ परेको डिएसपी भरतबहादुर बोहराले बताए।
दोङलाई बिहीबारै पूपर्क्षका लागि जिल्ला कारागार चलान गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायको इजलासले उनलाई पूर्पक्षमा राख्न आदेश दिएको हो। फागुन १५ गते बाह्रविसे चेक प्वाइन्टमा नियमित जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनले सोधपुछ गर्ने प्रहरीलाई गालीगलौज गर्दै हातपात गरेका थिए। घटना लगत्तै पक्राउ गरी हिरासतमा लिएर बाह्रविसे प्रहरीले उनीमाथि सार्वजनिक मुद्दा चलाएको थियो। पक्राउ परेको २४ घण्टाभित्र अनुसन्धानका लागि म्याद लिनुपर्ने कानुनी व्यवस्था अनुरुप दोङलाई प्रशासन कार्यालयमा उपस्थित गराइदा उनी भागेका थिए।