काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले शनिबारबाट आफ्ना सबै अन्तर्राष्ट्रिय उडानमा यात्रुलाई मदिरा नदिने निर्णय गरेको छ।यात्रुहरूको स्वस्थ जीवनशैली अनुकूल बनाउन मदिरामुक्त उडान गर्ने निर्णय गरिएको निगम व्यवस्थापनको भनाइ छ।
स्वदेशी तथा विदेशी यात्रुलाई मदिरा दिन छाडिएको छ। त्यसबाहेक अन्य खानेकुरा यथावत दिइने छ। ‘मदिरा पिएपछि नकारात्मक कुरा बढी हुन्छन्। सामान हराउने घटना पनि हुन्छन्,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले शनिबार नागरिकसँग भने, ‘त्यही भएर मदिरा दिन छाडिएको हो हाम्रा जहाजमा यात्रा गर्ने सबैले यो कदमको स्वागत गर्ने विश्वास छ।’ जहाजभित्र मदिरा उपलब्ध नहुने भए पनि हवाई टिकटको भाउ चाहिँ नघट्ने उनले बताए। ‘पानी पनि खान नदिने वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ,’ उनले भने, ‘हाम्रो निर्णयबाट व्यापार घट्दैन भन्नेमा ढुक्क छौं।’

निगमले हाल दुईवटा बोइङ ७५७ जहाजबाट हङकङ, बैंकक, क्वालालम्पुर र दोहा उडान गरिरहेको छ।तीमध्ये मलेसियाको क्वालालम्पुर र कतारको दोहा उडानमा भने यसअघि नै मदिरा दिन छाडिएको थियो। अब हङकङ र बैंकक उडानमा पनि यही नियम लागू गरिएको शर्माले जानकारी दिए। निगमले यसअघि आफ्ना अन्तर्राष्ट्रिय उडानमा यात्रुलाई बियर, ह्विस्की, वाइनलगायत मदिरा पिउन दिने गरेको थियो। ‘आफ्ना
यात्रुको स्वास्थ्यको ख्याल गर्नु हाम्रो जिम्मेवारी हो,’ प्रवक्ता शर्माले भने।