काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एमालेले संविधानसभा बैठकमा राष्ट्रपतिको चुनावसम्बन्धी प्रस्ताव लैजाने बताएका छन्। 'अघिल्लो संविधानसभा विघटनसँगै राष्ट्रपति कामचलाउ भइसकेका छन्,' प्रेस चौतारीले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, 'त्यसैले एमालेले राष्ट्रपति फेर्ने प्रस्ताव लैजान्छ। संविधानसभाले अहिलेकै राष्ट्रपतिको पक्षमा निर्णय गर्यो भने हामीलाई स्वीकार्य छ।'
राष्ट्रपतिको विषय टुंगो नलागी सरकार नबन्ने उनले दाबी गरे। माघ अन्तिमसाता वा फागुन पहिलो साताभित्र नयाँ सरकार बनिसक्ने उनको अनुमान छ। कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले नयाँ संविधान नबनेसम्म कांग्रेससँग सहकार्य जारी राख्ने बताए। 'आफ्नै नेतृत्वमा सरकार गठन गर्नेतिर एमाले लाग्दैन,' उनले भने।