काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको र उनको अनशनबाट निर्वाध स्वास्थ्य सेवा उपयोग गर्न पाउने सेवाग्राहीको अधिकारमा अवरोध पुगेको जनाएको छ।
आमरण अनशन र त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य सेवाको अवस्थाबारे बिहीबार अनुगमन गरेको आयोगले डा. केसीले अघि सारेका मागबारे वार्ता र संवादको माध्यमबाट टुंगोमा पुग्न सरकारसँग आग्रह गरेको छ।
'प्राडा केसीको जीवन रक्षा गर्न, स्वास्थ्यसेवाको उपभोग गर्न पाउने सर्वसाधारणको अधिकारमा गतिरोध आउने गतिविधि दोहोरिन नदिन तथा पेसागत मर्यादालाई कायम राख्दै कानुनी प्रक्रिया अवलम्बन गर्न आयोगसम्वद्ध स्वास्थ्यकर्मीहरू, नेपाल सरकार र सरोकारवालाहरूसँग आग्रह गर्दछ,' आयोगले जारी गरेको विज्ञप्तीमा छ।