नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।
बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।

सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।
उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।