
काठमाडौं, भदौ १८ (नागरिक)- दुई वर्षअघि प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै पुष्पकमल दाहालले नारायणहिटी दरबारमा गणतन्त्र स्मारक उदघाटन गरे। राजतन्त्रमाथि जनताको जितको सन्देश दिन नारायणहिटी रोजेको प्रस्टीकरण माओवादी सरकारले दिएको थियो। पाँच करोड विनियोजन पनि भयो। मुलुकको इतिहासै मेट्न तम्सेर नारायणहिटी छेक्नेगरी ७५ मिटर अग्लो संरचना बनाउनु हुन्न भन्ने विवाद भयो। मन्त्रिपरिषदमा मत बाझियो। काम हुन सकेन।
नौ महिनामै दाहाल सत्ताबाट बाहिरिए। माधवकुमार नेपालले प्रधानमन्त्रीको सपथ खाएकै दिन मन्त्रिपरिषद् बैठकले स्मारक रत्नपार्कमा सार्ने निर्णय गर्यो। नारायणहिटीमा आवतजावतको समस्या भएकाले सबैले देख्न पाउने गरी रत्नपार्क सारिएको स्पष्टीकरण उनले दिए। हतार हतार शिलान्यास भयो। तर, प्रधानमन्त्रीको उत्साह धेरै दिन टिकेन।
सरोकारवाला सहरी विकास तथा भवन निर्माण विभागका सरकारी अधिकारीदेखि इन्जिनियरिङ पेसा सम्बद्ध विभिन्न पेसागत संगठनले सरकारी निर्णयको चर्को विरोध गरे। सहरको मुटुमा रहेको खुला स्थान अझै फराकिलो बनाउनुपर्नेमा भीमकाय संरचना बनाउनु गलत भएको राय विशेषज्ञले दिए।
महŒवाकांक्षी योजनाको रुमानी सपनामा डुबेका प्रधानमन्त्री, मन्त्रीहरुको दबाबमा लाखौं खर्चेर बनाइएको आकर्षक डिजाइन च्यात्नुपर्यो। 'राजनीतिक नेतृत्वले भावनात्मक रुपमा लिएको निर्णयमा प्राविधिक विवाद आएपछि रत्नपार्कमा बनाउन सकिएन,' विभागका उपमहानिर्देशक रमेशप्रसाद सिंहले भने।
१३ महिनापछि असार १६ गते नेपालले राजीनामा दिए। तीन साताअघि कामचलाउ सरकारले स्मारक ललितपुर उपमहानगरपालिकाको कुशीखेलस्थित संयुक्त राष्ट्र संघ पार्कमा सार्ने निर्णय गर्यो।
विभागले गणतन्त्र स्मारकको अवधारणागत आकृति मन्त्रिपरिषद्बाट स्वीकृत गराइसकेको छ। उपमहानिर्देशक सिंहका अनुसार निर्बाध ढंगले काम भए दुई वर्षमै चित्ताकर्षक स्मारक तयार हुने छ।
टेकु दोभान पारि बागमती किनारको ६० रोपनी जग्गामा बन्ने आयोजनाको लागत ५० करोडजति पुग्ने अनुमान छ। 'धरहराभन्दा केही होचो तर अत्याधुनिक कलाकृतिको स्तम्भ, पार्किङदेखि साइटसम्म सडक फराकिलो गर्नुपर्ने भएकाले खर्चिलो हुने देखिएको छ,' उनले भने।
स्तम्भ र वरपरको संरचनाको क्षेत्रफलमात्र ३० हजार वर्ग मिटर छ। विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुखलगायत विशिष्ट पाहुना आउ"दा उनीहरुलाई सलामी दिनेलगायत विभिन्न राष्ट्रिय दिवसका लागि पनि स्तम्भस्थलको उपयोग गरिने सिंहले बताए।
सरकारले यथाशीघ्र स्तम्भ निर्माण गर्न विस्तृत नक्सांकन सुरु गरिसकेको छ। स्वामी आनन्द अरुणको बिल्डिङ डिजाइन अथोरिटीलगायत कम्पनीले त्यसको जिम्मा पाएको छ।
डिजाइनका लागि सरकारले २३ लाख रुपैया"को ठेक्का दिएको छ। 'तीन महिनाभित्र संरचनागत डिजाइनलगायत सम्पूर्ण कागजी काम सकेर निर्माण सुरु गर्ने कार्यतालिका बनाएका छौं,' सिंहले भने।