पहिले बाराको बरियारपुरमा मात्र लाग्ने गढीमाई मेला अहिले बज्जिका क्षेत्रभर फैलिएको छ। रौतहट, सर्लाही र बाराका झन्डै दुई दर्जन स्थानमा यो पञ्चवर्षीय मेला एउटै तिथिमितिमा मनाइँदैछ। विशेषगरी, रौतहट जिल्लामा सबैभन्दा बढी गढीमाई मेला लागिरहेको छ।
रौतहटको गढीमाई नगरपालिकासहित गरुडा, कटहरिया, माधवनारायण, वृन्दावन नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा गढीमाई मेलाको आयोजन भइरहेको छ।
गढीमाई नगरपालिका–४ सुन्दरपुरमा ६० वर्षदेखि गढीमाई मेला लाग्दै आएको छ। नगर प्रमुख श्यामप्रसाद यादवका अनुसार यस वर्ष यो १६ औँ मेला हो।
नगरपालिकाको हरैया र धर्मपुरमा पनि पञ्चवर्षीय मेला लाग्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले जानकारी दिए।
गरुडा नगरपालिकामा चार स्थानमा गढीमाई मेला लागिरहेको छ। गरुडा–२ गेडहीगुठीमा मात्र तीन स्थानमा मन्दिर निर्माण गरी मेला लाग्ने गरेको वडाध्यक्ष कृष्णनन्दन सहनीले बताए। यस्तै, वडा नम्बर-९ गढीटोलामा पनि लामो समयदेखि यो मेला लाग्दै आएको छ।
कटहरिया नगरपालिकाको दुधियाभार र बलिरामपुर गाउँ, माधवनारायण नगरपालिकाको माधोपुर गाउँ, गुजरा नगरपालिकाको कनकपुर र वडा नम्बर-४, वृन्दावन नगरपालिकाको धनगढी, फतुवा विजयपुर नगरपालिकाको बैरगनिया, र दुर्गा भगवती गाउँपालिकाको करबोलमा पनि गढीमाई मेलाको आयोजना भइरहेको छ।
फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले बैरगनियामा लामो समयदेखि मेला लाग्दै आएको बताउँदै यस वर्ष मेलाको तयारी भव्य रहेको जनाए। माधवनारायण नगरपालिका-६ का वडाध्यक्ष रामनरेश यादवका अनुसार माधोपुरमा तेस्रो पटक मेला आयोजना गरिएको हो।
सर्लाहीमा रामनगर, बहरहथवा र कविलासी नगरपालिकाका चार स्थानमा गढीमाई मेला लागिरहेको छ। रामनगर गाउँपालिकाको खैर्वा बहुअर्वामा निकै पहिलेदेखि गढीमाई मेला लाग्दै आएको हो। यसैगरी, बरहथवा नगरपालिकाको टोकार र कविलासी नगरपालिकाको रनिया पिपरिया तथा जमुनियामा मेला लागेको छ।
बाराको महागढीमाई नगरपालिकाको बरियारपुर र सिमरा जितपुर उपमहानगरपालिकाको जितपुरमा मेला लाग्ने गरेको छ। विश्व प्रसिद्ध बरियारपुर मेला हुने दिन नै दर्जनौँ स्थानमा पञ्चवर्षीय मेला लाग्न थालेको छ।
बज्जिका संस्कृतिका जानकार तथा साहित्यकार सञ्जय साह मित्रका अनुसार गढीमाई केवल मेला मात्र नभई सांस्कृतिक रुपमा पनि विस्तार भएको छ। उनले बज्जिका भाषा बोलिने क्षेत्रमा गढीमाई संस्कृतिको महत्व थप गहिरो भएको बताए।
बरियारपुरस्थित गढीमाई मन्दिरको पूजा विधि र तिथि उस्तै हुने गरी अन्य स्थानमा पनि मेलाको आयोजना भइरहेका छन्। यी मेलामा करोडौँको व्यापार व्यवसाय हुने गरेको छ।
काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ। सो सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्।
कीर्तिपुर नगरपालिका–६ मा रहेको सवस्टेशनमा थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन जोडिएको छ।
सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका नौ वटा फिडर लाइनको व्यवस्था गरिएको छ।
तीमध्ये तीन वटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छ वटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन्। फिडरलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आज सबस्टेसनको अनुगमन गरी ११ केभी फिडर तत्काल चार्ज गरेर विद्युत् भार स्थानान्तरणको प्रक्रिया अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिए।
कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए।
हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिए।
चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ।
यसबाट विद्यमान सबस्टेसनको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ।
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङ्मती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो।
चोभार सबस्टेसनदेखि पाटनसम्म करिब चार दशमलव पाँच किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।
पाटनमा १३२ केभी सबस्टेसन निर्माणको काम जारी छ। यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ।
चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो।
मन्त्रिपरिषद्को २०७८ माघ १७ को बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।
एसियाली विकास बैंक (एडिबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...