पछिल्लो समय अचाक्ली सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अनेक उपाय अपनाउन थालेको छ।
जनधनको क्षति रोक्न ट्राफिकसम्बन्धी जनचेतना, चेकजाँचमा कडाई, ठाउँ ठाउँमा रिफ्रेस सेन्टर, बजार क्षेत्रमा नो पार्किङ, र टाइम कार्ड लागू गर्नेदेखि पछिल्लो पटक ‘राडार गन’ को प्रयोगसम्म सुरु भएको छ।
दसैँ, तिहार, छठ, नेपाल संवत्, साकेला उँधौली र ल्होसार महत्त्वपूर्ण चाडपर्वहरु नजिकिएसँगै सवारी आवागमन १० गुणा बढ्ने कुरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले यी उपाय अपनाउन थालेको हो। सकेसम्म दुर्घटना हुनै नदिन र नसके न्यूनीकरण गर्न यी उपायहरु अवलम्बन गर्न थालेको जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ठ नायव निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए।
उनका अनुसार नजिकिएको चाडबाडलाई लक्षित गरी केही समययता व्यस्ततम सडकमा टाइम कार्ड लागू गरिएको छ। हाललाई यो नियम मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा मात्र लागू गरिएको उनले बताए। जस अनुसार सुनसरीको सीमा चौतारा पुलदेखि रामपुर, बेलटार, गाईघाट, कटारी हुँदै सिन्धुली सीमासम्म टाइम कार्ड लागू गरिएको दियालीले बताए।
तर, टाइम कार्डले मात्र पनि दुर्घटनामा कमी नआउने देखिएपछि राडार गनको प्रयोग गर्न थालेको उनले बताए। अब सडक दुर्घटना न्यूनीकरण गर्न ठाउँ ठाउँमा चेकजाँच, टाइम कार्ड र राडार गनको प्रयोग गर्नुका साथै बजार क्षेत्रमा नो पार्किङ अभियानलाई तीव्र पारिएको छ।
आन्तरिकसँगै प्रदेश राजधानी विराटनगर हुँदै झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी जिल्ला भएर भारतको सिक्किम र दार्जिलिङसम्मका यात्रु मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड भएर संघीय राजधानी काठमाडौँ आउजाउ गर्ने गरेका छन्।
केही दिन अघिसम्म ३/४ सयको संख्यामा सवारीहरु आउजाउ गर्ने लोकमार्गमा तीन दिनयता हजार बढी ओहोरदोहोर गर्न थालेको ट्राफिक प्रहरीले जनाएको छ। यो लोकमार्गमा लामो तथा छोटो दुवै दूरीका सवारी साधनको मात्रा ह्वात्तै बढेको छ। सवारी चापको यो मात्रा दसैँ, तिहार र छठपछि मात्र कम हुँदै जाने अनुमान गरिएको छ। त्यसैले यो बीचको समय दुर्घटनाको अत्यन्त बढी जोखिमपूर्ण समय भएकाले ट्राफिक नियमलाई कडाईका साथ लागू गर्ने योजना बनाइएको जिल्ला ट्राफिकले जनाएको छ।
ट्राफिकले राडार गनको प्रयोगमार्फत सवारी साधनको गति नाप्ने गर्दछ। टाइम कार्ड अनुसार निश्चित दूरी पार गर्न निश्चित समय तोकिएको हुने तर, चेकजाँच पोष्टमा पुग्ने बेला सुस्त गतिमा गुडाए पनि प्रहरी नजर छलिनेबित्तिै द्रुतगतिमा गाडी दौडाउने चालकहरुको बदमासीलाई नियन्त्रण गर्न राडार गनले सहयोग गर्ने ट्राफिक प्रहरी सहायक निरीक्षक महेश थापाले बताए।
उनका अनुसार सवारी साधनको गतिको मात्रा राडार गनको माध्यमबाट टाढैबाट मापन गर्न सकिने भएकाले चालकले ढाँट्न छल्न पाउने कुरै हुँदैन। हाललाई गाईघाट, कटारी र बेल्टारमा राडार गनको प्रयोग गरिँदै छ।
राडार गन र टाइम कार्डबाहेक अन्य चेकजाँच भने जिल्लाका सबै रुटका सडकहरुमा गर्न थालिएको छ। जस अनुसार सदरमुकाम गाईघाटबाट साउने–फोक्सिन्टार–दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग तथा ओखलढुंगा जोड्ने मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्गमा चेकजाँचलाई नियमित र कडाई गरिएको छ।
त्यसैगरी पहाडी बजारहरु जोड्ने आन्तरिक सडक रुटहरु साउने, रौता, फोक्सिन्टार, रसुवा, मुर्कुची, माझखर्क, सिद्धिपुर, रिस्कु, उदयपुर गढी, ताप्ली, बाराहा आदि विभिन्न ठाउँमा पनि ट्राफिक र प्रहरीको सहयोगमा चेकजाँच कार्य नियमित गर्न थालिएको छ।
सवारी दुर्घटना कम गर्न मात्र नभएर तोकिएको भन्दा बढी भाडा लिने गरेको पाइएकाले त्यस्तो अवैधानिक कार्य नियन्त्रण गर्न पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको हो।
साथै अवैध सामान निकासी, पैठारी, यात्रुहरुमाथि हुने चोरी, चकारी र गठीजस्ता अवैध कार्य हुन नदिन पनि चेकजाँचले महत्त्वपूर्ण सहयोग पुग्ने प्रहरीको ठहर छ। जिल्ला सुरक्षा संयन्त्रले चाडबाडका बेला हुने असामाजिक र अमानवीय गतिविधि नियन्त्रण गर्न जनतालाई सचेत गराउँदै शान्ति सुरक्षातर्फ विशेष ध्यान दिएर अघि बढेको जनाएको छ।
चाडपर्वका बेला कुनै पनि आपराधिक गतिविधि हुन नपाओस् भन्ने उद्देश्यले प्रहरी प्रशासन चनाखो भएर लागी परेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।
चाडपर्वका बेला विभिन्न पेशा व्यवसाय र जागिरको सिलसिलामा जिल्लाबाहिर बसोबास गर्नेहरु भित्रिने र मान्छेको आउजाउ बढ्ने भएकाले आपराधिक गतिविधि हुने तीव्र संभावना रहेको भन्दै सतर्क रहन प्रहरीलाई सबैतिर परिचालन गरिएको एसपी थापाले बताए। प्रहरीले चाडबाडमा घर आउने तथा बाहिरिनेहरुलाई सहज बनाउन गाईघाटलगायत विभिन्न बसपार्कमा यात्रु सहायता कक्षसमेत निर्माण भएर सञ्चालनमा ल्याइएको जनाएको छ।
पोखरा। गण्डकी प्रदेश प्राकृतिक रूपमा मात्र होइन, भाषा र संस्कृतिको हिसाबले पनि धनी छ। यहाँ १०३ जातजातिले ७२ मातृभाषा बोल्छन् भनिन्छ। सांस्कृतिक हिसाबले पनि विविधतापूर्ण संस्कृति रहेको गण्डकी देशकै भाषा, संस्कृतिमा नमुना मानिन्छ।
तर नवपुस्ताले आफ्नो भाषा बोल्न छाड्दै गएका छन्। मौलिक लोकभाका हराउँदै गएको छ भने परम्परागत संस्कृति पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेका छन्।
यही नयाँ पुस्ताले बोल्न छाड्दै गएको भाषा, मौलिक लोकभाका र लोपोन्मुख संस्कृति संरक्षणमा गण्डकी प्रज्ञा–प्रतिष्ठान लाग्ने भएको छ। जसका लागि आगामी वार्षिक कार्य योजना तयार गरेर कार्यक्रमको प्राथमिकीकरण गरिएको प्रतिष्ठानले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
प्रतिष्ठानको मंसिर ११ र १२ गते बसेको प्राज्ञ सभा बैठकले मौलिक भाषा, लोकभाका, बाजा, नाच र संस्कृतिलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहितको वार्षिक कार्य योजना पारित गरेको कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले बताए।
‘दशौं प्राज्ञ सभाबाट पारित कार्ययोजनामा लोपोन्मुख सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान, संरक्षण र पुस्तान्तरणलाई विशेष जोड दिइएको छ’,उनले भने। सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्ने लक्ष्य राखेको प्रतिष्ठानले प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई संरक्षण गर्दै सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गरी योजना बनाएको उनले बताए।
प्रतिष्ठानको वार्षिक कार्ययोजनामा गण्डकीका मुख्य १० भाषाका कक्षा सञ्चालन गर्ने उल्लेख छ। प्रतिष्ठानले चालु आर्थिक वर्षमा तमु (गुरुङ), मगर, नेपाल, दुरा, ढुट÷खाम, थारु, तामाङ, छन्त्याल, कुमाल र दरै भाषाका कक्षा सञ्चालन गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार भाषा संरक्षण अन्तर्गत लोपोन्मुख भाषा र लिपिको अनुसन्धान, शब्दकोश निर्माण तथा लोकभाषाका शब्द सङ्कलन गरी ग्रन्थ प्रकाशन गर्ने योजना पनि प्रतिष्ठानको छ।
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष्ठले बताए।
त्यस्तै, प्रतिष्ठानले गण्डकी प्रदेशको कामकाजी भाषाका रूपमा घोषित गुरुङ र मगर भाषालाई व्यवहारमै उतार्नका लागि आवश्यक कार्यमा सहकार्य गर्ने भएको छ।
‘गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने उद्देश्यले अघि सारेको नीतिलाई कार्यान्वयनमा सघाउने प्रतिष्ठानको योजना छ’,उनले भने,‘यसका लागि सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरी भाषा र लिपिलाई व्यवस्थित गरिनेछ।’
प्रतिष्ठानले भाषा संरक्षण र शुद्ध प्रयोगलाई प्रोत्साहन गर्न ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान’लाई निरन्तरता दिने भएको छ। यसअघि देखि नै सञ्चालनमा रहेको यो अभियानलाई प्रभावकारी बनाउने गरी प्रतिष्ठानले कार्य योजना बनाएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए। जसका लागि ३५ जना भाषा शिक्षक तयार गरिएको उनले बताए।
उनका अनुसार शुद्धतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले शुद्ध पुस्तकहरूको प्रतिष्ठान आफैले प्रकाशन गर्नेदेखि गण्डकीका लेखकहरूले प्रकाशित गरेका शुद्ध पुस्तकहरूलाई गण्डकी वर्ष पुस्तक घोषणा गरी पुरस्कृत गर्ने, स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलन आयोजना गर्नेसम्मका कार्यक्रम तय भएको छ।
प्रतिष्ठानले भाषासँगै हराउँदै गएका लोकसंस्कृतिको संरक्षणलाई पनि प्राथमिकतामा राखेर कार्य योजना बनाएको छ। लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोकभाका, लोककथा, लोकनाटक, उखान, टुक्का र गाउँखाने कथाको सङ्कलन गर्ने प्रतिष्ठानको योजना रहेको जनाइएको छ।
विभिन्न जातजातिका संस्कृतिको सर्वेक्षण, किंवदन्ती, जनश्रुति र लोकमन्त्रको सङ्कलन तथा होमस्टे संस्कृतिको दस्तावेजीकरणसमेत गरिने कार्य योजना बनेको सदस्य सचिव श्रेष्ठले बताए।
विशेष गरी लोपोन्मुख अवस्थामा रहेका मौलिक लोक भाकालाई नयाँ पुस्तासम्म पुर्याउन प्रतिष्ठानले संरक्षण अभियान सञ्चालन गर्ने, यानिमयाँ, सुनिमयाँ, साहिँलो दाइ, रेरे साइँलो, घुम्टेको भाका, कठै, सिलोक र कैकदमैजस्ता मौलिक भाकाको संरक्षणसँगै पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिने पनि श्रेष्ठले जानकारी दिए।
त्यस्तै, एकोहोरी तथा दोहोरी गीतको संरक्षण र सम्बद्र्धनका कार्यक्रम पनि समेटिएका छन्। परम्परागत बाजा र नाचको संरक्षणका लागि धिमे, ढोङ्गी, टुना, खैजडी, मादल, सारङ्गी, अर्बाजो, मौरी, छ्याँडु र नौमती बाजा बजाउने तालिमलाई निरन्तरता दिइने भएको छ।
साहित्य र सिर्जनाको संरक्षणका लागि गण्डकी साहित्य डिजिटल अभिलेख निर्माण, स्रष्टाका सिर्जनाको संरक्षण, पुस्तक लेखनमा अनुदान र प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए। ‘स्मृतिमा स्रष्टा, धूनमा कविता’ कार्यक्रम गरिने उनले बताए।
ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिने जनाइएको छ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना रहेको श्रेष्ठले बताए।
नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने कार्य योजना बनेको श्रेष्ठले जानकारी दिए।
‘ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिनेछ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना छ’,उनले भने।
नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गरिने उनले बताए।
भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेको प्रतिष्ठानले अनुसन्धानलाई पनि उत्तिकै महत्त्व दिएको छ। प्रतिष्ठानले अनुसन्धानका लागि अनुदानको व्यवस्था गरेको छ भने गण्डकीका प्रतिभा ग्रन्थ निर्माण गर्ने, गण्डकीका संघसंस्थाहरु शीर्षकमा अनुसन्धान गर्रा ग्रन्थ तार गर्ने, गण्डकी प्रदेशका भाषा, कोट, किल्ला तथा गढीहरु, मठमन्दिर, गुम्बा तथा थान, लोकमन्त्र, लोकविश्वास, औषधीमुलो, लोकगीत, लोककविता, लोकगाथा, लोककाव्य, लोककथा, उखान, लोकनाटक, टुक्का, गाउँखाने कथा, लोकबाजा, लोककला, प्रथा, पुरातत्व, नदीनाला, लोकजीवन, पर्यटनलगायत बारेको अनुसन्धानमा जोड दिइने सदस्य सचिव श्रेष्ठले जानकारी दिए।
प्रतिष्ठानले आफ्नै कार्यालय भवन बनाउनका लागि जग्गाको खोजी गर्ने भएको छ भने गण्डकी प्रदेशले स्थापना कालदेखि नै जोड दिँदै आएको सांस्कृतिक ग्राम निर्माणका लागि पहल गर्ने भएको छ।
साथै कला प्रदर्शनी गृह निर्माण, स्रष्टा चौतारी निर्माण, गन्धर्व डबली निर्माण र एक जिल्ला एक सांस्कृतिक घर निर्माणका लागि पनि पहल गरिने श्रेष्ठले बताए।
त्यस्तै, लोपोन्मुख संस्कृतिको डकुमेन्ट्री बनाउने, स्रष्टाको बायोग्राफी बनाउने लगायतका कार्यलाई पनि प्राथमिकता दिइने उनले बताए।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...