रौतहटको माधव नारायण नगरपालिका ४ मानपुर गाउँमा आइतबार भीषण आगलागी भएको छ। आइतबार दिउँसो करिब दुई बजेदेखि फैलिएको आगो करिब चार बजे नियन्त्रणमा आएको थियो।
आगोले करिब एक दर्जन घर स्वाहा भएको छ भने थप एक दर्जन घरमा क्षति पुर्याएको छ। आगलागीले करोडौँको क्षति पुर्याएको छ भने कैयौँ परिवारको बिचल्ली भएको छ।
खेतमा गहुँको भुस जलाउने क्रममा हावाले उडाएर आगो फुसको घरमा सल्किन पुगेको स्थानीयले प्रारम्भिक अनुमान गरेका छन्। गहुँ काटेपछि खेतमा बाँकी रहेको अवशेष जलाउन आगो लगाएको र दिउँसो तातो पश्चिमा हावासँगै आगो उडेर फुसको घरमा सल्केको स्थानीयहरूले अनुमान गरेका छन्।
आगोले वीरेन्द्र मुखिया बिन, हरेशी मुखिया बिन, महेशी मुखिया बिन, जिउत मुखिया बिन, सुरेन्द्र मुखिया बिन, राजेन्द्र मुखिया बिन, नेमी मुखिया बिन, बिलट भगत माली, जयकरण मुखिया, मोतीलाल मुखिया, किशोर मुखिया, किशोर भगत माली, इनरदेव भगत माली, बिकाउ मुखिया बिनको दुई दर्जन घरलाई क्षतिग्रस्त बनाएको छ। अन्य केही परिवारको घरमा पनि ठुलो क्षति पुर्याएको छ।
आगोले नेमीलाल मुखियाको घरमा दुई लाख रुपैयाँ नगद खरानी भएको छ। नेमीलाल आफैँ मलेसिया जाने तयारीमा रहेका बेला घरमा आगलागी भएपछि सम्पूर्ण घर नै स्वाहा भएको छ।
यसै गरी हरेसी मुखिया बिन मलेसिया जाने तयारीमा रहेको र दुई तिन दिनमा नै उडानको तयारीमा रहेको बेला मलेसिया जानलाई बैंकबाट निकालेर घरमा राखेको दुई लाख असी हजार रुपैयाँ जलेर स्वाहा भएको छ।
आगलागीले सम्पूर्ण घर, घरभित्र रहेको अन्न, लता कपडा र सम्पूर्ण सामग्री नै खरानी भएपछि छाती पिटी पिटी रोइरहेकी एकल महिला बालकेसी देवीले सहयोगको याचना गर्दै भन्छिन् – साहुसित तमसुक गरी हिजो मात्र ल्याएको तिन लाख रुपैयाँ पनि जलेर खरानी भएको छ। मलाहीटोलका एक जनालाई तिन लाख रुपैयाँ दिएर छोरा प्रेम मुखियालाई मलेसिया पठाउनलाई ऋण काढेर ल्याएको रुपैयाँसमेत जलेर स्वाहा हुँदा आफू सम्पूर्णतः विनाश भएको उनी बताउँछिन्।
आगलागीले बिकाउ मुखिया र महेशी मुखियाको चार ओटा बाख्रा पनि जलेर नष्ट भएको छ। बिकाउ मुखियाको घरमा रहेको रकम र गरगहना पनि जलेको दाबी छ। बिलट भगत माली लगायत अधिकांशको घरमा रहेको अन्न पनि जलेको छ। घरमा रहेको धान जलेर बर्बाद भएको छ। सयौँ मन धानमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
एक घरमा आगो सल्केपछि त्यस घरमा रहेको ग्याँस सिलिन्डर पड्किँदा आगो चारैतिर फैलिएको थियो। एकपछि अर्को गरी दुई वटा ग्याँस सिलिन्डर पड्किएको र आगो फैलाउन ग्याँस सिलिन्डरले ठुलो भूमिका खेलेको स्थानीय पारस भण्डारीले जानकारी गराएका छन्।
आगो फैलिएपछि स्थानीयले आफैँले निभाउने कोसिस गरेका थिए तर तातो पश्चिमा हावा जोरले चलेको तथा ग्याँस सिलिन्डर पड्किएर आगोले विकराल रूप लिएको थियो। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो। यसै गरी गौर र चन्द्रपुर नगरपालिकाको बारुण यन्त्र पनि आगो निभाउनमा सहयोग गरेका थिए।
आगो लागेको करिब एक घण्टापछि बारुणयन्त्र पुगेको गुनासो स्थानीयको रहेको छ।
घटनास्थल मूल सडकभन्दा करिब पाँच किलोमिटर भित्र गाउँमा रहेको छ। गौर र चन्द्रनिगाहपुर दुवै ठाउँको दमकल गाउँमा पुग्न समय लाग्ने नै देखिएको छ। जिल्लाको दक्षिणी सीमामा रहेको गौर र जिल्लाको उत्तरी सीमामा रहेको चन्द्रपुर नगरपालिकाबाहेक अन्य पालिकाले बारुणयन्त्र नराख्दा जिल्लामा आगलागीको घटना हुँदा ठुलो क्षति पुग्ने गरेको छ।
यसै गरी रौतहटको तेजापाकड गाउँ र ईशनाथमा पनि आगलागीका घटनाहरू भएका छन्। सबै आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
सरकारले होल्डिङ सेन्टर खाली गरेर आ–आफ्नो स्थानीय तहमा जान आग्रह गरिरहेको छ। यता सुकमबासी परिवारले भने सुरक्षित आवास र पुनर्स्थापनाको सुनिश्चितता नभएसम्म ठाउँ नछाड्ने अडान राखेका छन्।
सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासन दिएर होल्डिङ सेन्टरमा सारेका परिवार सात महिनादेखि त्यहीँ बस्न बाध्य छन्। यसबिच उचित व्यवस्थापन हुन नसकेको र पछिल्लो समय खानासमेत कटौती गरिएको भन्दै शुक्रबार उनीहरू सरकारको विरोधमा उत्रेको थिए।
शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले दिएको समय सीमाको विरोधमा त्यहाँ रहेका सुकुमबासी सडकमा पुगेर विरोध प्रदर्शनमा उत्रेका थिए।
शुक्रबार दिनभर विरोधमा उत्रेर होल्डिङ सेन्टरबाट नहटेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल शनिबार साँझ स्वयं त्यहाँ पुगेकी थिइन्।
मन्त्रालयका पदाधिकारी र भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित साँझ ६ बजे होल्डिङ सेन्टर पुगेकी मन्त्री रावलले पीडित परिवारसँग करिब दुई घण्टा छलफल गरेकी थिइन्।
मन्त्री रावलले सरकार सुकुमबासी व्यवस्थापनप्रति प्रतिबद्ध रहेको बताउँदै उनीहरूलाई आफ्नो नागरिकता भएको स्थानीय तहमा सम्पर्क गर्न र जग्गा प्राप्तिको निस्सा लिएर होल्डिङ सेन्टर छाड्न आग्रह पटक पटक आग्रह गरेकी थिइन्।
सम्बन्धित स्थानीय तहमा जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा रहेको उनको दाबी थियो। मन्त्रीको आगमनपछि शुक्रबार साँझदेखि रोकिएको खाना र पानी वितरणसमेत शनिबारदेखि पुनः सुरु भएको थियो। तर, सुकमबासी परिवारले दशकौँदेखि काठमाडौं उपत्यकामै बसोबास गर्दै आएको, यहीँ श्रम र रोजगारी गरेर जीवन निर्वाह गरिरहेको तथा पटक पटक यहीँबाट मतदानसमेत गरेको भन्दै अन्यत्र पठाउने सरकारी प्रस्ताव अस्वीकार गरे।
उनीहरूले गाउँमा रोजगारी र जीविकोपार्जनको अवसर नभएको अवस्थामा स्थानीय तहको नाममा जग्गाको निस्सा दिएर मात्र समस्या समाधान नहुने बताए।
‘हाम्रो भोट काठमाडौंमा चल्ने, तर हामीले बस्न चाहिँ किन नपाउने? हामी जहाँ बसेका छौँ, त्यहीँ भूस्वामित्वसहित आवास र उचित पुनर्स्थापनाको सुनिश्चितता हुनुपर्छ,’ पीडित परिवारको भनाइ छ। उनीहरूले आफ्नो व्यवस्थापनको सुनिश्चितता नभएसम्म होल्डिङ सेन्टर नछाड्ने जिद्दी कसे।
सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाउँदै सुकुमबासी परिवारले मन्त्री रावललाई विभिन्न मागसहित शनिबार ज्ञापन पत्रसमेत बुझाएका थिए। होल्डिङ सेन्टर खाली गर्ने सूचना तत्काल फिर्ता लिनुपर्ने, वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबरजस्ती हटाउन नहुने उनीहरूको पहिलो माग छ।
त्यस्तै, सरकारी अभिलेखमा जग्गा देखिएकै आधारमा भूमिहीन तथा सुकमबासी नठहराउने निर्णयमा पुनर्विचार गरी निष्पक्ष स्थलगत निरीक्षण र छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
जग्गाको अभिलेखमा नाम देखिए पनि वास्तविक स्वामित्व, भोग चलन र आवासको अवस्थालाई आधार बनाएर न्यायिक निर्णय गर्नुपर्ने उनीहरूको भनाइ छ। कोठा भाडा वा अस्थायी आवासको विकल्प आफूहरूलाई मान्य नहुने बताउँदै उनीहरूले सुरक्षित र सम्मानजनक भूस्वामित्वसहितको आवास उपलब्ध गराउन माग गरे।
वैकल्पिक व्यवस्थापनबिना भत्काइएका घरटहरा, नष्ट भएका सम्पत्ति र जीविकोपार्जनमा पुगेको क्षतिको निष्पक्ष मूल्याङ्कन गरी उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत उनीहरूले अघि सारे।
यसैगरी, व्यवस्थापनबिना घरटहरा भत्काउँदा भएको जनधनको क्षति र निष्कासनका क्रममा भएका मानवीय घटनाको छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
मागपत्र बुझेकी मन्त्री रावलले त्यसबारे तत्काल कुनै प्रतिक्रिया दिइनन्। उनले सोमबार पुनः होल्डिङ सेन्टर पुगेर थप छलफल गर्ने आश्वासन दिएकी थिइन्।
सुकुमबासी परिवारको अवस्था र मागबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा तथा बुद्धिजीवीले समेत सरकारलाई जबरजस्ती नगर्न आग्रह गर्दै आएका छन्।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालका केन्द्रीय सल्लाहकार तथा काठमाडौं उपत्यका इन्चार्ज दलमर्दन कामीले मन्त्री पीडित परिवारको अवस्था बुझ्न पुग्नु सकारात्मक भए पनि अब त्यसलाई व्यवहारमै न्याय दिने निर्णयमा परिणत गर्नुपर्ने प्रतिक्रिया नागरिक दैनिकसँग गरे।
उनले सोमबारको भेट केवल आश्वासन र छलफलमा सीमित नभई पीडित परिवारको सुरक्षित आवास, भूस्वामित्व र उचित पुनर्स्थापनाको सुनिश्चितता गर्ने ठोस निर्णयसहित हुनुपर्नेमा जोड दिए । पीडित परिवारले अधिकारको प्रमाणपत्र हातमा लिएर सम्मानपूर्वक होल्डिङ सेन्टरबाट बाहिरिन पाउनुपर्ने उनले माग राखे।
मध्यपुर थिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा हाल १९ परिवारका ५९ जना बस्दै आएका छन्। तीमध्ये १७ जना बालबालिका छन्।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...