जनताका यक्ष प्रश्न
०४ फागुन २०६६
•
१६ मिनेट पाठ
जनताका यक्ष प्रश्न
शीर्ष नेता बैठकमै नजाने अनि सभासद जति हाजीर गरेर हिँड्ने प्रवृत्तिलाई नै निरन्तरता दिने हो भने संविधानसभाको म्याद किन थप्ने? नत्र म्याद थप्नुभन्दा पहिल्यै विवादित विषयमा सहमति गरी जनतालाई जानकारी दिनुपर्छ।
संविधान जारी गर्ने दिन जति नजिक आउँदैछ मुलुक त्यति नै मुलुक अनिश्चित् र अन्धकार भविष्यतर्फ धकेलिँदै गएको छ। सुरुङ्गको अन्तिम किनारासम्म पनि उज्यालो देखिँदैन। मुलुकमा शान्ति र स्थिरता ल्याउन र सबै दलका नेता बुद्धिजीवीले बारंबार भन्ने गरेको "नयाँ नेपाल" बनाउन विभिन्न समुदायबीच आवश्यक पर्ने आपसी समझदारी र सहिष्णुता भने झन् घटेको छ। जातीय अग्राधिकार र जातीय आधारमा संघ बनाउने गरी संविधानसभामा राज्य पुनःसंरचनाको खाका पेस भएपछि नेपाली समाजमा विद्यमान अनुपम जातीय सद्भाव र एकताको तन्तु टुट्न थालेको छ। पहिचानका नाममा अलग हुने प्रवृत्ति बढ्दै छ। यस्तो अवस्थामा बन्न लागेको संघीयताले कतै युगोस्लाभिया, इथोपिया वा सोमालियाको रूप लियो भने? भन्ने आशंकाले जनमानस त्रस्त छ।

मधेशलाई दुई प्रदेशमा बाँडेकोमा मधेशवादी दललाई चित्त बुझेको छैन। आफूलाई तराईका धर्ती पुत्र मान्ने थारुहरू यसका विपक्षमा छन्। तराईका ३ जिल्ला झापा, मोरंग र सुनसरीलाई मधेश प्रदेशमा हालिएकोमा अरुण पारका ९ जिल्ला लिम्वुवान राज्य हुनुपर्ने माग गर्दै आएका विभिन्न संस्थाले त्यो क्षेत्र बन्द गरेका छन्। त्यहीँका राजवंशी, मेचे, धिमाल, सतारआदि लोपोन्मुख जातिले आफ्नो जातीय पहिचान कहाँ खोज्ने? त्यहाँ कुन जातिको अग्राधिकार हुने? त्यहाँ बस्ने पहाडका लिम्वुबाहेक तामाङ, गुरुङ, क्षेत्री र बाहुनले आफ्नो पहिचान र स्वत्व कहाँ खोज्ने?

सामाजिक सद्भावमा आगो लगाउने प्रकृतिको १४ राज्यको परिकल्पनामा आर्थिक सामर्थ्य, भौगोलिक सुगमता र जातीय सद्भावलाई वास्तै गरिएको छैन। शेर्पा प्रदेशभित्र शेर्पाहरूको संख्या २५ हजार पनि छैन भने कसैले नमागेको जडान प्रदेशमा ५० हजार जनसंख्या नपुग्ने र संघीय राजधानीमा पुग्न ७/८ दिन पैदल हिंड्नुपर्ने अवस्था हुनेछ। माओवादीको नक्सा वास्तवमा हास्यास्पद र विघटनकारी छ। अर्को एउटा प्रदेश मिथिला-भोजपुरा-कोचिला मधेशमा भने ६७ लाख जनसंख्या र ४ घण्टामा प्रान्तीय सचिवालय (सदरमुकाम) पुग्न सकिने हुन्छ। यस किसिमको अवैज्ञानिक, असमान विभाजनले राज्य राज्यबीच वैमनस्य बढाउनुका साथै कमजोर राज्य केन्द्रमा निर्भर रहनु पर्नेछ। वैज्ञानिक र अग्रगामी पार्टी भएको दाबी गर्ने माओवादीको यस किसिमको वैचारिक दिवालियापनले मुलुकलाई जातीय द्वन्द्वमा धकेल्ने दखिन्छ।

संविधानसभामा अहिले राज्यको पुनः संरचना वा अन्य समितिहरूद्वारा प्रस्तुत प्रस्ताव प्रारंभिक मस्यौदा हुन्। तिनलाई अन्तिम रूप दिएर संविधान जारी गर्न तीन चार चरण पार गर्नु पर्नेछ। प्रारंभिक मस्यौदा संविधान समितिमा छलफल हुने त्यसपछि जनताको रायसल्लाह लिएर संविधानसभाले संविधान स्वीकृत गर्ने प्रक्रिया छ। त्यसैले अहिले नै सबै बिती सकेकको छैन भन्ने प्रश्न उठ्छ। लेखको थालनीमा व्यक्त संविधान जारी गर्ने समय जति नजिक आउँदै छ मुलुक त्यति नै अनिश्चित् दिशातर्फ धकेलिँदै छ भन्ने चिन्ताको सान्दर्भिकता यहीनेर छ। यी भिन्न मत र अवधारणाको संयोजन कसले गर्ने? प्रमुख दलका शीर्ष नेताहरूले सघन छलफल नगरी सहमति बन्न सक्दैन। सहमति नबने संविधान निर्माण स्वीकृत गर्न आवश्यक दुईतिहाइ बहुमत पुग्दैन। त्यस्तो अवस्थामा संविधान जारी हुन सक्दैन। संविधानसभाको दुई वर्षे कार्यकालमा १ वर्ष ९ महिना बितीसक्दा पनि शीर्ष नेताहरूले विवादित गंभीर विषय के के हुन् र त्यसमा सहमति कायम गर्ने विधि र प्रक्रिया के हो भनेर एक पटक पनि छलफल गरेका छैनन्।

संविधानसभाको सबभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी) अहिलेको सरकारको अस्तित्वसम्म स्वीकार गर्न तयार छैन। उसले वर्तमान सरकारलाई विदेशीद्वारा संचालित कठपुतली भन्दैे बहिष्कार गरिरहेको छ। अन्तरिम संविधानले व्यवस्था गरेबमोजिमको प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले संवैधानिक समितिका बैठकमा पुष्पकमल दाहाल एक पटक पनि उपस्थित भएका छैनन्। माओवादीको प्राथमिकता उसको नेतृत्वको सरकार हो। अनिमात्र संविधान निर्माण र सेना समायोजन। यी त माओवादीका देखाउने दाँतमात्र हुन्। असली दाँत त आफ्नो नेतृत्वको सरकार नै हो। ठूलो हो हल्लासहित गठित भएको उच्चस्तरीय संयन्त्रमा संविधानसभामा प्रस्तुत मतभेदको विषयमा छलफलै भएको छैन। संयन्त्रको आन्तरिक छलफल सरकार परिवर्तनमा केन्द्रित रहेको आशंका सहभागी दलहरूभित्रै छ।

संविधान जारी गरेर मुलुकलाई नयाँ दिशातर्फ लग्नुपर्ने बेलामा शीर्ष नेताहरू आफ्नै दलभित्र कमजोर देखिएका छन्। सरकारको नेतृत्व लिएको एमालेमा अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र अर्का वरिष्ठ नेता के.पी. ओल बीच माओवादीलाई हेर्ने दृष्टिकोण र वर्तमान सरकारको निरन्तरता विषयमा एकमत देखिदैन। माओवादीलाई हेर्ने दृष्टिकोणमा मात्र होइन, संविधानमा शासकीय स्वरूप र राज्यको पुनः संरचनामा देखिएको विवादले एमालेभित्र प्रजातान्त्रिक धार र माओवादीसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धार गरी स्पष्ट दुई समूह देखिएको छ। हालैको पोलिटब्युरोको वैठकपछि मतभेद समाप्त भयो भनियो तर उपाध्यक्ष वामदेव गौतमका सार्वजनिक अभिव्यक्ति र अध्यक्ष खनालको मौनलाई आँधी आउनुभन्दा पहिलेको सन्नाटा भनेर एमालेकै कतिपय नेता भन्छन्। महाधिवेशनबाट विजयी भए पनि अध्यक्ष खनाल केन्द्रीय समिति र पोलिटब्युरोमा अल्पमतमा हुँदा उनले चाहेको लागु नहुने र सधैं विवादमा पर्ने गरेका छन्।

यतै अवस्था नेपाली कांग्रेसमा पनि छ। पार्टीको संस्थागत निर्णय बिनै कांग्रेसका तर्फबाट छोरीलाई सरकारको नेतृत्व गर्ने र उपप्रधानमन्त्री बनाउने निर्णय गरेपछि सभापति गिरिजाप्रसाद कोइराला पार्टीभित्र एक्लो हुनु भएको छ। पार्टीका तर्फबाट हुने महत्वपूर्ण निर्णयमा संस्थागत निर्णय नगर्ने र पदाधिकारीसँंगसमेत सल्लाह नगर्ने सभापतिको स्वभावका कारण महासमितिले पार्टीको विधानमै संशोधन गरेर सभापतिका अधिकार कटौती गर्नुपर्‍यो। करिब ६० वर्षदेखि सभापतीय पद्धतिबाट चलेको कांग्रेस अब सामूहिक निर्णयबाटमात्र अघि बढ्न सक्ने भएको छ। सरकार गठन वा सरकारमा कसलाई पठाउने भन्ने निर्णय एक्लो सभापतिले होइन कार्य समितिबाट गर्नुपर्ने वाध्यात्मक व्यवस्था संशोधित विधानले गरेको छ।

अर्को प्रमुख दल माओवादीमा पनि अध्यक्ष दाहालको एकल निर्णय चल्ने देखिँदैन। प्रतिपक्ष र आफ्नै दलभित्र आफूसँग असहमत नेताहरूप्रति उग्र र आक्रोशित रूपमा प्रस्तुत हुने उनको शैलीले नकारात्मक सन्देश प्रवाह भएकोले सल्लाह गरेर र संयमित भएर बोल्न उनलाई सल्लाह दिइएको छ।

कुनै पनि दल संस्थागत निर्णयबाट अघि बढ्न खोज्नु नराम्रो होइन। तर, प्रजातान्त्रिक संस्कार बनी नसकेको संक्रमणकालमा सबै काम प्रजातान्त्रिक विधि र प्रक्रियाअनुसार कति हुन सक्ला? भएमा राम्रो हो तर कतिपय सन्दर्भमा एउटा व्यवस्था वा प्रक्रियाबाट अर्कोमा जान नेताले साहसिक र दूरगामी निर्णय पनि लिनुपर्ने हुनसक्छ। त्यस्तो नेतालाई नै राजनेता भनिन्छ। हाम्रो सन्दर्भमा सर्वमान्य नेताको अभाव देखिएको छ। नेता जो छन् ती आफ्नै पार्टीमा पनि विवादरहित र सर्वमान्य छैनन्। तिनले जनतालाई कसरी विश्वासमा लिएर यस्तो गंभीर समस्याबाट मुलुकलाई पार लगाउन सक्छन्?

आगामी जेठ १४ गते संविधान जारी हुन नसक्ने लगभग निश्चित् छ। त्यसपछि के गर्ने भन्नेमा पार्टीहरूमा गंभीर छलफल भएको देखिँदैन। त्यसकारण मुलुकको भविष्य अनिश्चित् र अन्धकार हुन थालेको हो। अहिले देखिएका विवादित विषयमा छलफल र सामान्य समझदारी नभई संविधान संशोधन गरेर संविधानसभाको आयु बढाएर समस्या समाधान हुन्छ भन्ने ठान्नु सुतुरमुर्गले बालुवामा टाउको लुकाएर सुरक्षित भएको ठान्नुजस्तै हो। दुई वर्षभित्रमा संविधान बन्छ भन्ने सार्वजनिक रूपमा प्रतिवद्धता व्यक्त गरिएको थियो। यसबीचमा कतिपय शीर्षस्थ नेताहरू एक पटक पनि संविधानसभाको बैठकमा गएनन्। सभासदहरूले हाजीर गर्ने अनी गैरसरकारी संस्थाका कार्यक्रममा भाग लिने गर्दा संविधानसभा सँधै रित्तै हुने गरेको पाइन्छ। यही प्रवृत्तिलाई निरन्तरता दिन संविधानसभाको म्याद थप्ने हो? जनताप्रतिको जवाफदेही यही हो? जनताका यी यक्ष प्रश्न हुन्। नेताहरूको अकर्मण्यताको सजाय देशले किन पाउने? यो त सरासर बेइमानी हो। जनतालाई धोका हो।

कांग्रेस, माओवादी र एमालेबीचमा पूर्ण विश्वासको वातावरण नबनेसम्म एक पटक त के १० पटक म्याद थपे पनि संविधान बन्दैन। सदनको संरचनाले कसैलाई पनि निषेध गर्ने अवस्था छैन। यी तीन दल नमिली सर्वसम्मती त हुँदैन नै बहुमत पनि पुग्दैन।

संविधानसभामा माओवादी जसरी प्रस्तुत भएको छ त्यसले ऊ लोकतान्त्रिक संविधान बनाउने पक्षमा नभएको प्रष्ट भएको छ। माओवादी घुमाइफिराइ सर्वसत्तावाद लाद्ने पक्षमा छ। अब कि त कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको संविधान बनाउने कुरा छाड्नुपर्‍यो नभए माओवादीले आफ्नो अडान छाडेर लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन राजी हुनु पर्‍यो। दुवै पक्षले अडान नछाड्ने हो भने संविधानसभाको भ्याद थप्दैमा संविधान बन्छ भन्ने ग्यारेन्टी हुँदैन। संविधानसभाको म्याद थप्ने हो भने माओवादीले शक्ति पृथकीकरणको मान्यताअनुसार स्वतन्त्र र निष्पक्ष न्यायालय, दलमाथि प्रतिबन्ध लगाउन नपाउने गरी मौलिक हक अधिकारको ग्यारेन्टी र बहुलवादमा पूर्ण आस्था र विश्वास प्रकट गरेर वाईसीएलको अर्धसैनिक संरचना विघटन, आफूसँग रहेका हातहतियार राज्यलाई बुझाउने, हिंसाको परित्याग र अहिंसाप्रति प्रतिवद्धता, कब्जा गरिएका घर जग्गा म्यादभित्र फिर्ता गर्ने नगरे राज्यको कानूनअनुसार कार्वाही भोग्न तयार हुने सार्वजनिक घोषणा गर्नुपर्छ। कांग्रेस र एमालेले पनि राष्ट्रिय सरकार बनाउन लचिलो बन्ने र माओवादीले उठाएका कतिपय आर्थिक र सामाजिक विषय संविधानमा समावेश गरी अग्रगामी संविधान बनाउन संविधानसभाको म्याद थप्नुभन्दा पहिले सार्वजनिकरूपमै प्रतिबद्धता जनाएर जनतालाई विश्वासमा लिनु जरुरी छ।

अर्को द्वन्द्वको जोखिमबाट राष्ट्रलाई बचाउने हो भने यसको विकल्प देखिँदैन। अग्रगामी र लोकतन्त्रमा आस्था राख्ने जनताका यी आवाज सुन्न यतिबेला नेताहरूले आफ्नो दिल र दिमाग खुला राख्नु जरुरी छ। नेताहरुले बुद्धि पुर्‍याएनन् भने इतिहासमा उनीहरू त कलंकित हुन्छन् नै मुलुकले पनि अकल्पनीय क्षति व्यहोर्नु पर्नेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस