कालोबजारीको चंगुल
०७ पौष २०७२
•
१४ मिनेट पाठ
कालोबजारीको चंगुल
देश 'आँधीअघिको सन्नाटा'जस्तै अवस्थामा छ । अभाव र अन्योलग्रस्त भविष्य अघिल्तिर तेर्सिंदा पनि जनता सहेर शान्तजस्तै छन् । इन्धनको लाम, सार्वजनिक यातायात चढ्न घन्टौँ प्रतीक्षा र सुस्ततासँगै लामो दूरी पैदल हिँड्नुपर्ने अवस्थाले निसास्सिएका छन् ।तैपनि अभावको विरोधमा सायदै आवाज निकालिरहेछन् । समाज भयानक दुर्घटनातर्फ बढ्न लागेको संकेत हो यो । जब जनता आधारभूत आवश्यकता सहज तरिकाले पूरा नहुँदा र अन्याय लामो समयसम्म रहिरहँदा पनि मौन हुन्छन्, तब एउटा विष्फोटको सम्भावना हुन्छ । सामान्य जनता अभावसँग मौन संघर्ष गरिरहँदा बेरोजगार युवाको एउटा हिस्सा कालोबजारीको सामान ओसारपसार र बिक्रीमा लागेका छन् । विशेषगरी नेपाल–भारत सीमामा जोखिम मोलेर इन्धन ओसारपसार गरी कालोबजारी गर्नेमा युवा संगठितरूपमा परिचालित देखिन्छन् । कालोबजारीबाट रातारात करोडपति र अर्बपतिको उदय हुँदैछ । उनीहरू राज्यको जिम्मेवार निकायमा रहेकाहरूलाई प्रभावित पारी अपराधको सञ्जाल विस्तार गर्दै मात्रा बढाउँदैछन् । घूसखोरी बढाइरहेका छन् । अघोषित नाकाबन्दीबाट समाजमा सृजित तत्कालको संकटबाट जोखिम बढ्न नदिनका लागि कालोबजारी एउटा साधन भए पनि यसबाट पर्ने दूरगामी असर अकल्पनीय छ । आमजनतामा असाध्यै नकारात्मक सन्देशहरू प्रवाह भइरहेको छ । आर्थिक अपराधले देशलाई असफल बनाउनसक्ने प्रकृतिका अपराधको जन्म गराउँदैछ ।

उपभोग्य सामान खरिदमा तेब्बर मूल्य तिरेर कालोबजारीसम्म पुग्नुपर्ने बाध्यताले जनता राज्यविहीनताको महसुस गर्दैछन् । राज्य सञ्चालकको दायित्व जनतालाई सुरक्षा प्रदान गर्नु, सुख दिनु र कामको अवसर प्रदान गर्नु हो । अहिले राज्य यी तीनै विषयमा चुक्दै गएको छ । जनताको धनको सुरक्षा हुन सकेको छैन । महँगो मूल्य तिरेर दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने बाध्यता छ । व्यापारीहरू नाकाबन्दीको बहानामा मनपरी मूल्यमा सामान बिक्री गर्छन् । धेरैको बोल्ने मुख थुनिएको छ । राज्यका जिम्मेवार निकायमा रहेकाहरूको देख्ने आँखासमेत बन्द हुँदैछ । वर्ष दिन धान्नुपर्ने खर्च तीन महिनामै सकिने अवस्था छ । भूकम्पले थलिएका सर्वसाधारण नाकाबन्दी र त्यसको बहानामा व्याप्त कालोबजारीको मारले पीडित छन् । नियमित रोजगारीको अवसर खोसिँदैछ । कालोबजारी र अन्य आपराधिक गतिविधिमा बेरोजगारहरूको आकर्षण बढिसक्यो । अपराधीलाई निरुत्साहित पार्ने प्रहरीको कडा नीतिले मात्र तत्काल चोरी, लुटपाट र डकैतीका घटना आकलन गरेअनुरूप नबढेको हो । तर, कालोबजाररूपी आर्थिक अपराधको डरलाग्दो तस्बिर हाम्रो सामुन्ने छ ।

सरकार संकटको घडीमा सहयोगी बन्न आग्रह गर्छ, टाठाबाठाचाहिँ संकटको लाभ उठाउन सक्रिय छन् । सरकारको जिम्मेवार निकायमा रहेकाहरू संकट समाधान र व्यवस्थापनमा गम्भीर छैनन् । तत्काल र दीर्घकालीन ठोस योजना फितलो छ । अभावसँग संघर्षरत सर्वसाधारण सरकारको भरोसामा पर्न छाडिसके । कि त बलमिच्याइँबाट कि त कालोबजारीकै सहारा लिन पुगेका छन् । सरकारी अधिकारीहरू मूकदर्शक छन् । कतिपयलाई यही समय कमाउने अवसर हो जस्तो भइरहेछ । राष्ट्र संकटमा पर्दा थप संकट पार्नेहरू आन्तरिक समस्या बढाउँदैछन् । राष्ट्रसेवक भनिएका केही कर्मचारी र सुरक्षा निकायका भ्रष्ट व्यक्ति संकटको लाभ उठाउँदै कालोबजारीलाई प्रश्रय दिँदै कमाउधन्दामा लाग्नुले जनतामाझ उनीहरूप्रति नकारात्मक धारणा बढ्दैछ । राज्यप्रति भरोसा घट्नुले राष्ट्रियता जोखिममा पर्न सक्छ । नाकाबन्दी र संकटमा राज्यप्रति वितृष्णा बढाउनेगरी अपराधीकरण फिजाउन उद्यत्हरू एकातर्फ गैरकानुनी धन्दाबाट कमाइरहेछन्, अर्कोतर्फ आफ्नो योजनामा सफल बन्दैछन् । खतरनाक अवस्थातर्फ देश बढिरहँदा राष्ट्रियताको शब्द जतिसुकै जपे पनि हुनेवाला केही छैन । दिनप्रतिदिन महँगीले प्रताडित जनताको धैर्यको बाँध टुट्न सक्छ । त्यतिबेला बोल्ने तर केही नगर्नेहरूप्रति आक्रोश खनिन सक्छ ।

राज्यको महŒवपूर्ण निकायका अनुगमनकर्ता नै आँखा चिम्लेर बसेका छन् । कतिपयचाहिँ संकटको लाभ उठाउन सक्रिय छन् । अनुगमनकर्ता नै अनियमिततामा लागेको खुलासा महानगरीय अपराध अनुसन्धान महाशाखाको कारबाहीले देखाएको छ । रक्षक नै भक्षक बन्ने परिपाटी व्याप्त हुँदा त्यस्तामाथि कारबाही गर्ने साहस महाशाखा प्रमुख सर्वेन्द्र खनालले गरेका छन् । चौतर्फी दबाबका सामु नडगमगाई कालोबजारीमाथि प्रहार गर्ने प्रण गरे पनि खनाल एक्लो बृहस्पति झूटो हुने अवस्था आउन सक्छ । अपराधीकरण बढ्दै गएको अवस्थामा प्रहरी र कर्मचारीतन्त्रमा पनि त्यसको प्रभाव बढेको संकेत देख्न सकिन्छ । खनालको प्रयासले अपराधीलाई टाउको उठाउन नसक्ने मनोविज्ञान सृजना गर्न सफल भए पनि त्यस्तो परिस्थितिको दिगोपन आवश्यक हुन्छ । जोखिमयुक्त घडीमा उनी कतिसम्म नडगी सामना गर्न सक्छन् भविष्यले देखाउला । अपराध नियन्त्रणमा प्रतिबद्ध केही प्रहरीको प्रण र साहसी कामले मात्र देशमा व्याप्त आर्थिक अपराध काबुमा ल्याउन सकिने अवस्था छैन ।

अहिलेको अवस्था अपराधी र भ्रष्टाचारीका लागि सबैभन्दा उत्तम देखिँदैछ । खुलेआम कालोबजारी नयाँ पुस्ताले देख्दै र भोग्दैछ । गाउँ र टोलटोलमा कालोबजारीका सामान बिक्री हुन्छन् । सरकार आफूसँग जुन खाद्यान्नको पर्याप्त जोहो रहेको दाबी गर्छ, त्यही खाद्यसामग्री दोब्बर मूल्यमा खरिद गर्न जनता बाध्य छन् । जनता राष्ट्रियताकै लागि दोब्बर–तेब्बर मूल्य तिर्न तयार भएका छन्, ठन्डीमा भूकम्पपीडित पालमुनि बसेर पनि सहनशीलता प्रदर्शन गरिरहेछन् । तर, यो कहिलेसम्म ? जनताको सोझोपन र सहनशीलतामाथि राजनीतिक नेतृत्वले गलत फाइदा त उठाइरहेको छैन ? आफूले दुःख भोग्नुनपरेपछि त्यसप्रति गम्भीरता र जिम्मेवारीबोध नआउने व्यवहार नेताहरूले देखाइरहेछन् । विवेक नभएका नेताहरू शक्तिमा रहनु देशको दुर्भाग्य हो । चर्का र सोझासाझा भड्काउने भाषणबाजीको भरमा राजनीति गर्नेहरूले देशलाई अधोगतितर्फ धकेलेका छन् ।

पहाडमा राजनीतिक आधार बलियो बनाउन मधेसीलाई गाली गर्ने र मधेसमा राजनीतिक आधार बलियो बनाउन पहाडेलाई गाली गरे पुग्ने ! छिमेकीलाई गाली गरे लोकप्रिय भइने ! जनतालाई सुखसुविधा र रोजगारीको अवसर प्रदान गर्न माखो मार्नुनपर्ने ! यो हदको राजनीतिक वातावरण विकास हुन खोज्नु खतराको संकेत हो । पिछडिएको समुदाय र जातिका नाममा सम्भ्रान्तहरूले जुँगाको लडाइँ गरेर देशमा विदेशी हस्तक्षेपका लागि ठाउँ बनाइदिएका छन् । उनीहरू नै कट्टर राष्ट्रवादी दाबी गर्छन् । उग्रवाद र घृणाको राजनीति विकास हुनुले देशको हरेक भूभागलाई पछि धकेल्दैछ । आपसी बेमेलले अर्को द्वन्द्वमा धकेल्न सक्छ । अहिले जुन हदको कालोबजारी र अपराधीकरणले जरो गाड्दैछ, त्यसको परिणाम देशको शान्ति र सुरक्षाका लागि घातक बन्न सक्छ । आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति सही काममा खर्च कमै हुन्छ । तराईका नाकाहरूमा अराजक र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हावी भई कालोबजारीको मूल कब्जा गरिरहेछन् । काठमाडौँ र मुख्य सहरहरूमा अपराधीसँग जोडिएर सञ्जाल बनाइरहेछन् । भविष्यमा तिनले घातक क्रियाकलाप गर्न सक्छन् । अहिले जुन शैली र हदमा आर्थिक अपराध भइरहेछ त्यसले खतरनाक अपराध र आतंकवादी गतिविधिलाई जन्म दिन सक्छ । कालोबजारी र आपराधिक गतिविधिबाट आर्जित रकम गलत क्रियाकलापमै खर्च हुने गर्छ । कोलम्बियालगायत अफ्रिकाका कतिपय देशमा आर्थिक अपराधले राज्य नै खुंखार अपराधीको कब्जामा पुगेको थियो । देशमा जुन हदमा कालोबजारी भइरहेछ, यसले राज्य नै अपराधीको चंगुलमा पर्ने खतरा रहन्छ । देशमा ठूलो संकट हुन नदिन कालोबजारीप्रति प्रहरी प्रशासन लचिलो भएको हुनसक्छ । इन्धनका लागि छटपटिएका जनताको पीडा आक्रोशमा परिणत हुने भयले होला जिम्मेवार सरकारी निकाय पनि कालोबजारीलाई आँखा चिम्लिएर बस्यो । सुरक्षा जिम्मेवारी बोकेका अधिकारीहरू आर्थिक अपराधको तस्बिर हेरेर खतरनाक भविष्यको सम्भावना देखिरहेछन् । पंक्तिकारसँगको भेटमा केही सुरक्षासम्बद्ध अधिकारी गम्भीर प्रश्न उठाउँछन्– कतै देश असफल राष्ट्रमा परिणत हुने त होइन ? सायद उनीहरूले सामना गरेको चुनौती र औपचारिक–अनौपचारिकरूपमा देखेका अपराधीकरणको बढ्दो ग्राफ हेरेर तिनले बोलेका होलान् । देश कालोबजारीको स्वर्ग बन्दै जाँदा मधेस, पहाड र हिमालसम्म बलियो सञ्जाल बनाएर राज्यको महत्वपूर्ण निकायसम्म प्रभाव बनाएका आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको हालीमुहाली बढ्दै जानुले असफल राष्ट्र हुने खतरा बढ्छ । देशमा बढ्दो आर्थिक अपराधलाई नियन्त्रणमा राख्न तत्काल आन्तरिक समस्या समाधान गरी कूटनीतिक माध्यमले समस्याको हल खोज्नुपर्छ । व्यक्तिगत राजनीतिक भविष्यको लागि जातीयता, समुदाय, क्षेत्रीयताको उग्र मुद्दा उठाएर हलो अड्काउनेदेखि राज्य सञ्चालनमा रहेर पेलेरै जाने नीति लिएकाहरू बेलैमा सचेत होउन् । देश अपराधीको चंगुलमा पर्ने खतरा बढ्दैछ । खुलमखुल्ला कालोबजारीले देशमा अराजकता र राजनीतिमा अपराधीकरण बढाउँदैछ । राजनीति अपराधीबाट नियन्त्रित हुने अवस्था नआओस् ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस