शान्ति सम्झौताको समीक्षा
२७ पौष २०६६
•
११ मिनेट पाठ
शान्ति सम्झौताको समीक्षा
माओवादीले नागरिक सर्वोच्चताको नारा दिएर पाँच महिनासम्म अवरुद्ध गरेको व्यवस्थापिका संसद् खुला गरेपछि दलहरूसँगको सहकार्य र सहमतिको राजनीति पुनः सुरु भएकै हो त? भन्ने प्रश्नको भरपर्दो उत्तर पाइएको छैन। संसद् ५-५ महिनासम्म किन अवरुद्ध पार्नु पर्‍यो र अहिले किन खोल्न दिइयो यसको पनि जवाफ दिइएको छैन। सेना समायोजन तथा व्यवस्थापन विशेष समितिको बैठक लगातार बहिष्कार, सरकारद्वारा हाल सदनमा प्रस्तुत अन्तरिम संविधान संशोधनमा सहयोग नगर्ने र संविधान निर्माणमा आफ्ना एजेण्डा पटकपटक परिवर्तन गर्नेजस्ता क्रियाकलापले माओवादी वर्तमान सरकार र सत्तारुढ दलहरूसँग सहकार्य गर्न इच्छुक नभएको स्पष्ट भएको छ। त्यतिमात्र होइन द्वन्द्व कालमा उसले संचालन गरेको समानान्तर जनसत्ता पुनः क्रियाशील गर्नेतर्फ लागेको छ।




एकतर्फी रूपमा जातीय गणराज्य घोषणा गरेको माओवादी समानान्तर सत्ता घोषणा गर्नेतर्फ उन्मुख देखिन्छ। केन्द्रदेखि गाउँ तहसम्म आफ्नो छुट्टै सुरक्षा दल, जन न्यायालयलाई पुनः क्रियाशीलता र ठेक्का पट्टामा कर असूल गर्ने गरी माओवादीले जारी गरेको आन्तरिक सर्कुलरले सत्ता कब्जा गर्न आफ्ना संयन्त्र पुनः परिचालन गर्न थालेको देखिएको छ। संसद्वादी दलहरूसँगको सहकार्य र लोकतान्त्रिक गणतन्त्रको नेपाली "म्याग्ना कार्टा" मानिएको १२ बूँदे समझदारीको उपयोगिता समाप्त भएको निष्कर्ष माओवादीले निकालेको छ।

माओवादीले सदन र सरकारमा पुगेर पनि सत्ता कब्जा गर्न नसकेको निष्कर्ष निकाल्दै लेनिनको मोडेलमा सडकबाट नै सत्ता कब्जा गर्ने तयारीमा आफ्ना जनवर्गीय संगठन परिचालन गर्न थालेको छ। रुसमा सन् १९०५ मा नै राजतन्त्र समाप्त भएपछि १२ वर्षसम्म कम्युनिस्टहरूले प्रजातान्त्रिक समाजवादीहरूलाई उपयोग गर्दै १९१७ मा सत्ता कब्जा गरेका थिए। जारको निरङ्कुश सत्तासँग लड्ने प्रजातन्त्रवादीलाई राजतन्त्र समाप्त भएपछि प्रतिक्रियावादी, शोषक, सामन्त भन्दै समाप्त गरेजस्तै नेपाल गणतन्त्र भएपछि माओवादीले नेपाली कांग्रेसलाई प्रधान शत्रु घोषणा गरेको छ। सत्ता कब्जाको निम्ति सेना, प्रशासन, मजदुरहरू तयार नहुन्जेल लेनिनका दृष्टिमा बुखारिन सामाजिक समाजवादी थिए। त्यसै गरेर राजा ज्ञानेन्द्रलाई बिदा नगरुन्जेल गिरिजाप्रसाद कोइराला अग्रगामी, क्रान्तिकारी र साहसिक नेता हुनुहुन्थ्यो, प्रचण्ड, बाबुरामका दृष्टिमा। राजा फालिएपछि माओवादीलाई कांग्रेसको आवश्यकता भएन। अब कांग्रेस प्रतिक्रियावादी, विदेशीको नोकर र गिरिजाप्रसाद यथास्थितिवादी प्रतिक्रियावादी हुनुभयो। १२ बूँदे सहमतिदेखिको सहकार्यलाई निरन्तरता दिन गिरिजा बाबुलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउन गरेको आग्रह लत्याउँदै ०६२-६३ को जन आन्दोलनमा कुनै भूमिका नभएका रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउने माओवादी निर्णयबाट नै अब उसका लागि कांग्रेस र गिरिजाप्रसादको उपयोगिता नभएको स्पष्ट भएको थियो।

जसरी लेनिनले ड्यूमा (संसद)को उपयोग पनि गर्ने तर लाल सेनालाई संगठित गरेर संसद् र सेनाको फ्यूजनबाट सत्ता कब्जा गरेका थिए, त्यही रणनीति अहिले माओवादीले अपनाउन खोजेको छ। संविधानसभाको अवधि ६ महिना मात्र बाँकी छ। कतिपय समितिले प्रारंभिक प्रतिवेदनसम्म बुझाएका छैनन्। जतिले बुझाएका छन् ९८ प्रतिशतमा असहमति रहेको छ। सदनभित्र संविधान बनाउन गंभीर नहुने र संघीयता बारेमा छलफल नगर्ने, आफू खुसी जातीय गणराज्य घोषणा गरेर संविधानसभा माओवादीको गौण विषय हो, सडकबाट सत्ता कब्जा उसको प्राथमिक विषय हो भन्ने स्पष्ट सन्देश दिइएको छ।
संविधानसभाको चुनावपछि मुलुकमा शान्ति आउने विश्वास गरेका उद्योगी, व्यवसायी माओवादीको निरन्तरको बन्द हडतालबाट निराश भएका छन्। निरन्तरको बन्द, हड्तालले पुँजी पलायन हुन थालेको छ। सरकारमा ९ महिनासम्म बस्दा नसकेको सत्ता कब्जा सडकबाट गर्न उद्योगहरूले धान्न नै नसक्ने गरी तलब भत्ता वृद्धि हुनु पर्ने र सुकुमवासीलाई उठाएर आफ्ना विपक्षी दलका कार्यकर्ता र सर्वसाधारणको जग्गा कब्जा, सार्वजनिक र सामुदायीक वन अतिक्रमण गरेर मुलुकलाई अस्तव्यस्त पार्न नै डुडेझारी काण्ड गरिएको हो भन्ने १७ दिनसम्म माओवादीले गरेको कैलाली बन्दले पुष्टि गरेको छ। द्वन्द्वकालमा विरोधी दलका नेता तथा कार्यकर्ताको कब्जा गरेको घर जग्गा फिर्ता गर्ने प्रधानमन्त्रीको हैसियतम प्रचण्डले संसद्को रोष्ट्रमबाट गरेको घोषणाप्रति संवेदनशील भएर पूरा गर्नेतर्फ लाग्नुको बदला पुनः जग्गा कब्जा गर्ने, ल्पटिङ्ग गरेर बेच्ने माओवादी कार्यले उनीहरू अब सर्वहारा वर्गको नाममा नव सामन्त बन्न थालेको पुष्टि भएको छ।

माओवादीले सार्वजनिकरूपमा नै १२ बूँदे समझदारीको उपयोगिता सिद्धियो भन्ने निष्कर्षमा पुगेर युद्धकालका संयन्त्रहरू क्रियाशील गर्ने सर्कुलर जारी गरिसकेको सन्दर्भमा नेपाली कांग्रेस र एमालेको मौन र सरकारको अकर्मण्यताले शान्ति कामी जनतालाई निराश बनाएको छ। माओवादीले समानान्तर सुरक्षा निकाय संचालन गर्ने, जन अदालतबाट मुद्दा मामिला छिनोफानो गर्ने र विरोधीलाई दण्ड जरीवाना गरी सामानान्तर सरकार संचालन गर्दा सरकारले अनमिनलाई बोलाएर ध्यानाकर्षण गराउनु पर्ने हो कि होइन? माओवादीले विस्तृत शान्ति संझौता उल्लंघन गर्दै जाने र त्यसलाई संयुक्त राष्ट्र संघले वास्ता नगर्ने हो भने अनमिनको म्याद थप्नुको औचित्य कसरी साबित गर्ने? माओवादीले "बाबुराम भट्टराई नेतृत्वको संयुक्त राष्ट्रिय जन आन्दोलन नेपाललाई केन्द्रीय सत्ता मानिएको छ" भनी आफ्नो तल्लो निकायलाई गरेको सर्कुलरले के समानान्तर सरकार संचालनको अभ्यास होइन? एउटा मुलुकमा दुईवटा सरकार कसरी चल्न सक्छन्? सरकारमा रहेका दलहरू र सरकारको यही रबैया रहिरहने हो भने यसले मुलुकलाई कहाँ पुर्‍याउला? माओवादीले जारी गरेको सर्कुलर र माधव नेपालको सरकारको सात महिनाको काम कार्वाहीलाई लिएर सत्ताधारी दलहरूको समीक्षात्मक बैठक आवश्यक देखिन्छ।

समानान्तर सत्ता संचालन विस्तृत शान्ति संझौताको खुला उल्लंघन हो। विद्रोही पक्षले नै नमानेको शान्ति संझौताले नेपाली जनताले चाहेको शान्ति मुलुकमा स्थापित हुन सक्छ र? माओवादीको कारणले मात्र होइन एमालेभित्रको संस्थापन पक्ष अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको निरन्तर नेपाली कांग्रेसमाथि प्रहारको समीक्षार्थ पनि सत्ता साझेदार दलहरूको समीक्षात्मक बैठक आवश्यक देखिन्छ। प्रधानमन्त्री, गृह र अर्थ मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालय लिएको एमालेले जिल्ला जिल्लामा एकमना प्रशासन चलाउने र कांग्रेसका कार्यकर्ता निरन्तर प्रताडित भइरहने तर केन्द्रमा सरकारलाई समर्थन दिएबापत एमालेका जिम्मेवार नेताहरूबाट कांग्रेसको छवि नै धुमिल हुने गरी भइरहेका आक्रमणको समीक्षा हुने कि नहुने? के वर्तमान सरकार थामिदिने र लोकतान्त्रिक संविधान निर्माण गर्ने जिम्मा नेपाली कांग्रेसको मात्र हो? होइन भने नेपाली कांग्रेसले संविधान निर्माण, सेना समायोजन, शान्ति संझौतालाई तार्किक निष्कर्षमा पुर्‍याउन कहाँ केमा वाधा पुर्‍यायो? यसमा खुला छलफल हुनु आवश्यक छ। सत्तामा पुगेका केही व्यक्तिलाई फरक पर्ला तर तमाम कांग्रेसजनलाई माओवादीसँग एमाले मिलेर सरकार चलाउँछ भने केही फरक पर्दैन। आखिर हिजोका दिनमा त्यस्तो अभ्यास नभएको होइन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस