रूस र चीनमा भएका कम्युनिस्ट क्रान्तिको सिको गर्दै 'सर्वहारा वर्गको अधिनायकत्व' स्थापित गर्ने सपना देखाएर युद्धको आगोमा युवालाई होम्दा १८ हजारको रगत बगेपछि शान्ति प्रक्रियामा आए पनि एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'क्रान्ति' सम्पन्न नभएको धेरै पटक दोहोर्यााएका छन्। रूस र चीनमा सर्वहाराको अधिनायकत्व स्थापना गरी कालान्तरमा वर्गविहीन काल्पनिक संसार रचना गर्ने ध्येयले भएका क्रान्तिले ठूलो सामाजिक, राजनीतिक र आर्थिक उथलपुथल ल्यायो।
लाखौँ मानिसको रगत बग्यो तर लक्षित समाज रचना गर्नसकेन। नेपालमा माओवादी 'जनयुद्ध' ले नवकुलीनको जन्म गरायो। पुराना शासकका स्थानमा नयाँ भारदारहरू स्थापित भए। माओवादी गतिविधिले समाजमा व्याप्त समस्या केही उजागर गरे पनि समस्यामाथि खेलेर नयाँ तानाशाह बन्ने तिनको प्रवृत्ति अस्थिरता अन्त्यको प्रयासमा तगारो बन्न भयो। दुनियाँमा असफल रणनीतिलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्न खोज्ने प्रचण्ड प्रवृत्तिले देशलाई अराजकता हुँदै 'विफलता'तर्फ धकेल्दैछ। यसैले बेलैमा कम्युनिस्टहरूले सत्तामा पुग्न अपनाएका हिंसात्मक रणनीतिदेखि शासनमा छँदा गरेका असफल र अराजक प्रयोगबाट सावधान हुनु जरूरी देखिन्छ। स्वर्गीय संसारको सपना सुनाउँदा र देखाउँदा आकर्षक लाग्छन् तर खतरनाक हुन्छन् भन्ने केपी ओलीदेखि वामदेव गौतमसम्मलाई त पक्कै पनि राम्रैे थाहा होला।
लेनिन र स्टालिनको प्रयोग
सन् १९१७ को रूसी क्रान्तिबाट जारशाही राजतन्त्रको अन्त्य भई रूसी संसद् डुमाबाट अन्तरिम सरकार गठन भयो। संक्रमणकालबीच लेनिन नेतृत्वको बोल्सेभिकहरूले स्थितिलाई बिगार्दै लगे। कमजोर सरकारको लाभ उठाउँदै संसद्लाई बदनाम गरेर विघटनका अवस्थामा पुर्यााए। त्यसपछि सरकार झनै कमजोर भयो र अस्थिरताबीच लेनिनले सत्ता कब्जा गरे। रूसमा एकछत्र कम्युनिस्ट शासन आरम्भ भयो। बन्धक अवस्थामा रहेका जारको सपरिवार हत्या गराए। प्रतिक्रान्ति र लोकतन्त्रको सबै सम्भावना नामेट पारेपछि लेनिनले सर्वहाराको अधिनायकत्व स्थापित गर्न खोजे। जमिनदारको जमिन खोसेर सर्वहारालाई बाँडियो। रातारात रूसको सामाजिक र आर्थिक संरचनामा कायापलट आयो। तर लेनिन धेरै समय शक्तिमा टिकिरहन सकेनन्। उनी जीवितै छँदा स्टालिन प्रभावशाली भए। स्टालिनले आफ्नो शासनकालमा सरकारको स्वामित्वमा आउने गरी जमिनमा सामूहिक खेती गर्न लगाए। स्रोतको अधिकतम दोहन गरी उत्पादन बढाउने रणनीति चाले। बलपूर्वक श्रममा लगाइदा विरोध गर्नेहरू झुन्ड्याइए। स्वतन्त्रता निरंकुश कम्युनिस्ट शासनको बन्धक बन्यो। विरोधीहरू राज्यको दुश्मनमा दर्ज हुन्थे। कठोर यातनाका अलावा मृत्यु भोग्थे।
एकैरातमा समाजको अधिकांश संरचना भताभुंग पार्नेगरी रूसी क्रान्ति भएको थियो। समानता र समृद्धिको वाचा गर्दै देखाइएका सपना साकार हुनु त कता हो कता उल्टैे बहुसंख्यक जनता विपन्नता र दासत्वमा बाँच्न बाध्य बनाइए। गरिबी र कठोर शासनमा बाँधिनुपर्दा जनता उकुसमुकुस भए। रूसी समाजमा चलाइएको कठोर शासनको अनुकरण संसारका धेरै मुलुकमा गरियो। संसारभर परिवर्तनको लहर ल्याउने सामर्थ्य राखेको रूसी क्रान्तिले संसारमा कतै पनि सपनाको समाज भने स्थापना गर्न सकेन। एसिया र युरोपमा फैलिएको विशाल सोभियत संघ विघटन भयो।
माओको प्रयोग
कम्युनिस्ट शासन स्थापनार्थ माओ त्सेतुङ्को नेतृत्वमा भएको हिंसात्मक 'क्रान्ति' बाट पनि लाखौंको ज्यान गयो। त्यसपछि पनि हिंसात्मक गतिविधि रोकिएन। माओले 'सांस्कृतिक क्रान्ति' का क्रममा सहरहरू खाली गरेर श्रमका लागि गाउँ जान बाध्य पारे, सामूहिक काममा लगाए, निजी सम्पत्तिमाथि रोक लगाए। सांस्कृतिक क्रान्तिकै दौरान विरोधीहरूलाई तह लगाए। देङ स्याओ पिङ पनि माओको तारोमा परेर जेल हालिए। माओको मृत्युपछि मात्र संसार सामु रहस्य बनेको चिनियाँ समाजको वास्तविकता उजागर हुन थाल्यो।
पोलपोटको प्रयोग
कम्बोडियाका म्युनिस्ट शासक पोल पोट पनि स्वर्गीय संसारकै कल्पना गर्थे। परम्परागत कम्युनिस्ट सिद्धान्त र अति राष्ट्रवादले उनलाई अतिवादी बनाएको थियो। विदेशीप्रति आक्रोश पोख्थे। देशलाई विदेशी प्रभावबाट मुक्त राख्ने योजना भन्दै अनगिन्ती शिक्षित र सचेत नागरिकको हत्या गरे। धेरै उच्च सैनिक र कर्मचारी मारिए। सन् १९६६ मा चीन भ्रमण गर्दा पोल पोटले चीनको सांस्कृतिक क्रान्तिलाई नियालेका थिए। उनी कम्बोडियामा चिनियाँ शैलीकै क्रान्ति गर्ने सपना बुनेर फर्केका थिए। राजधानीमाथि आक्रमण गरी विजय हासिल गरेपछि सहर खाली गर्न लगाइयो। सहरवासीलाई जर्बजस्ती गाउँमा काम गर्न पठाए। निजी सम्पत्तिको खारेजी, धार्मिक गतिविधिको अन्त्य र कतिपय परम्परागत संस्कृतिलाई प्रतिबन्ध लगाउन कठोर कदम चाले। सबैले सामूहिक काम गर्नुपर्ने, सामूहिकरूपमा खानपिन गर्नुपर्ने र ठूला भवनमा मिलेर सुत्नुपर्ने नियम बसाए। पोल पोटको खमेरूज नामको कम्युनिस्ट पार्टीले सन् १९७५ देखि १९७९ को बीच शासन गर्दा २० लाखभन्दा बढी मान्छे द्वन्द्व र दमनका कारण मारिए।
प्रचण्ड प्रयोग
माथि उल्लेखित कम्युनिस्ट नेताहरूको सिको गरेर प्रचण्डले पनि धेरै प्रयोग गरे र गर्ने क्रममा छन्। कुनैबेला पोलपोटको शैलीमा उग्र राष्ट्रवादको नारा लिएर सुरूङ युद्धको हल्ला पिट्दै राजधानीमाथि कब्जा गर्ने रणनीति उनले बनाएका थिए। व्यक्तिगत रूपमा नास्तिक उनले धार्मिक संस्थामाथि धावा बोलेर निमिठ्यान्न पार्ने असफल प्रयोग गरे। सेनामा चलखेल गर्न खोज्दा आफँै अप्ठ्यारोमा परे। वर्गीय मुद्दा छाडेर आफूलाई जातीय पहिचानको मसियाकारूपमा प्रस्तुत गरेर देशैभर राज्य बाँड्दै हिँडे। अहिले प्रचण्ड जाति विशेषका संभ्रान्तका सरदार भएका छन्। अहिले संसद्मा अल्पमतमा परेपछि संसदीय व्यवस्थाको खिल्ली उडाउन सक्रिय छन्। संसद्लाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो ठान्ने प्रचण्डबाट संसदीय व्यवस्थाको बचाऊ हुनसक्दैन बरू अपमान र ध्वंशमात्र हुनसक्छ। स्थितिलाई अराजक बनाएर रूसमा लेनिनले गर्न खोजेको बोल्सेभिक क्रान्तिको शैली अपनाउन खोज्दैछन्। शान्ति प्रक्रियामा आउनु आफ्नो बाध्यता हो भनी प्रचण्डले स्वीकार गरिसके। नआएको भए उनको पार्टीको अवस्था दक्षिण अमेरिकी देश पेरूको कम्युनिस्टकै जस्तै हुन्थ्यो होला। अहिले माओवादीका नरमपन्थी र गरमपन्थी भनिएकाबीचको गठजोड अर्थपूर्ण छ। सबै समूह संविधान सभाबाट संविधान बन्न नदिने रणनीतिमा लागेका छन्। माघ ८ गते संविधान बन्न नदिने खेलमा त्यस्ता समूह सफल भए। सदनको अपमान गर्ने र संसदीय व्यवस्थाको खिल्ली उडाउन पनि सफल भए। माओवादीले जनताको मत लिएर शक्तिमा आउने मार्गबाट आफूलाई अन्यत्र मोडिसक्यो। नत्र संविधान सभामा त्यत्रो हंगामा हुँदा जनतासामु आफ्नो पार्टीको प्रतिष्ठामा आँच पुग्ने र अर्को निर्वाचनमा घाटा पुग्ने सम्भावनालाई दृष्टिगत गरी जवाफदेही देखाउँथे होलान्। दुनियाँभर असफल सिद्ध कम्युनिस्ट रणनीति अपनाएर अहिलेको अवस्थामा आइपुगेका प्रचण्डले क्षणिक राजनीतिक लाभका हासिल गरिसके। उनलाई न त संसद्प्रति माया छ न त संविधान सभाप्रति निष्ठा नै छ। उनी सायद अस्थिरताबीच 'अक्टोबर क्रान्ति' दोहोर्या्उने सपना देख्दैछन्।
कांग्रेस-एमालेको गल्ती
संसदीय व्यवस्थाको खिल्ली उडाउन माओवादी सफल हुँदा लोकतन्त्रका पक्षधर भनिएका मधेसवादी दलहरू त्यही मार्गमा पुग्नु गम्भीर विषय हो। मधेसवादी दलहरूबाट त्रुटि भयो भयो भने प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले मधेसवादी दलहरूको मर्म नबुझेर गल्ती गरे। गरम या नरम, लोकतान्त्रिक शक्तिबीच समेत एकताको वातावरण बन्न सकेन। माओवादीले लडाउने र भिडाउने रणनीति चाल्यो। यस्तै अवस्था रहे प्रधानमन्त्रीको कुर्सीका लागि हुने नयाँ दौडमा नेताहरूलाई प्रचण्डले सत्ताको आशा देखाएर अलमलाउन सक्छन्। माओवादीभित्र नरमपन्थी भनिएका बाबुराम भट्टराईलाई अध्यक्ष पदको सपना देखाइदिए। परम्परागत कम्युनिस्टहरूको सिको गरी रणनीति चाल्दै प्रचण्ड आफू त निरन्तर असफल हुँदै गएका छन् देशलाई समेत असफलतातर्फ धकेल्ने चेष्टा गर्दैछन्।