सन् २०१४ मा चीन अमेरिकालाई दोस्रो नम्बरमा पार्दै विश्वको ठूलो अर्थतन्त्र बन्न सफल भयो। यससँगै २०१० को आधा दशक पूरा हुँदा विश्व शक्तिसन्तुलनमा आएको फेरबदलको स्पष्ट चित्र देखापर्यो०। एक्काइसौँ शताब्दी 'एसियाली शताब्दी' भन्ने भनाईले सार्थक रूप लिँदैछ। चार हजार वर्ष पुरानो ह्वाङ हो नदीको सभ्यताको इतिहास बोकेको चीनको समृद्धि नयाँ भने होइन।आन्तरिक द्वन्द्व, बाह्य हस्तक्षेप र युरोपको समृद्धिको उचाईले चीन पछि धकेलिएको थियो। सैन्य शक्तिका दृष्टिले अझै पनि अमेरिकाभन्दा कमजोर ठानिएको चीनको 'सुतेको बाघ' को शैलीमा परिवर्तन आइसक्यो। माओत्से तुङको शब्दमा 'कागजी बाघ' अमेरिकासँग चीनको प्रतिस्पर्धा आकाश, धर्ती र पातालसम्म देखिँदैछ। सन् २०३० भित्र चन्द्रमामा मानवयान अवतरण गर्ने महत्वाकांक्षी योजनामा चीन सक्रिय छ। अफ्रिकादेखि अमेरिकाको छिमेकी मेक्सिकोसम्मको बजारमा नियन्त्रण कायम गर्दैछ। खनिज पत्ता लागेको देशहरूमा चिनियाँ चासो बढ्दो छ। अमेरिका नासाको सक्रियता बढाउनमै तल्लिन छ भने मध्यपूर्वको खनिज तेलमाथि नियन्त्रण कायमै राख्न युद्धमा होमिएको छ। इस्लामिक राज्य बनाउने नाममा सक्रिय सशस्त्र संगठन आइसिसको गएको वर्षबाट देखिएको गतिविधि बलिया देशहरूको 'छद्मयुद्ध' त होइन भनी आशंका गर्नेहरू पनि छन्।
अमेरिका र चीनबीच नरम शक्ति लगाएर प्रतिस्पर्धा बढिरहँदा रूससँग अमेरिकी प्रतिस्पर्धा कडा बन्दैछ। शीतयुद्धपछि विखण्डन भोगेर सोभियत संघबाट रूसमा सीमित हुनपुगेको उसका कठोर शासक भ्लादिभिर पुटिन अमेरिका र युरोपेली युनियनसँग कडा नीति लिँदै आएका छन्। युक्रेनमाथिको रूसी नीतिमा अमेरिका र युरोप कठोर बन्दै आयातनिर्यातमा प्रतिबन्ध लगाए। जुन रूसको अर्थतन्त्र प्रभावित बनाएर पुटिनमाथि दबाब सृजना गर्ने रणनीति हो। तेल र ग्याँसमा बढी निर्भर रूसलाई दबाबमा पार्न तेलको उत्पादन घटाउने प्रयासमा अवरोध खडा गरिदिँदा कच्चा तेलको मूल्य घटेको छ। रूसचाहिँ युरोपेली युनियनका सदस्य देशमा प्रस्तावित ग्यास पाइपलाइन निर्माणको महत्वाकांक्षी योजनालाई रोकेर एसियातर्फ भविष्य खोज्दैछ। दक्षिण एसियामा पाइपलाइन ल्याउने रूसको योजना अगाडि बढिसक्यो। इसाई धर्म बाहुल्य रहेको युरोपेली देशभन्दा पृथक इस्लाम बाहुल्य टर्कीसँग हात मिलाएको छ। पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले रूससँग मिलेर जानुपर्ने नत्र युरोपेली क्षेत्रले कठिन भविष्यको सामना गर्नुपर्ने सम्भावना दोहोर्यायइरहे पनि सम्बन्ध सहज हुने छाँटकाँट देखिन्न। बरू अमेरिका र युरोपेली युनियनसम्बद्ध देशसँग रूसको द्वन्द्वको लाभ विकासशील देशहरूले केही मात्रामा लिनसकेका छन्। तेलको मूल्यमा गिरावट आएकाले तेलमा निर्भर सामान्य नागरिकलाई लाभ मिलेको छ।
सिरियामा पश्चिमाहरूको सम्भावित हमला अझैसम्म टरेको छैन। यसका पछाडि पनि रूसकै भूमिका छ। रूसले विश्वशक्ति सन्तुलनमा आफ्नो बलियो भूमिकालाई सिरिया घटनाबाट पुष्टि गरेको छ। तथापि, सिरियामा सरकारी र गैरसरकारी पक्षलाई भिन्न विदेशी शक्तिले सहयोग गरेबाट गृहयुद्ध चर्किएको छ। तत्काल युद्ध समाप्त हुने छाँटकाँट छैन। लिबियामा कर्णेल महमुद गद्दाफी र इराकमा सद्दाम हुसेनको जस्तो सिरियामा बसर अल असदको पतनको भविष्यवाणी गर्नेहरू चुकेका छन्। रूससँग अमेरिकी र युरोपेली युनियनको गतिरोधमा उदाएको शक्ति चीन मौन प्रायः देखिए पनि परिस्थितिको लाभ लिन सक्रिय छ।
भारत परिवर्तित बहुध्रुवीय शक्ति सन्तुलनमा आफ्नो स्थान बलियो बनाउन सक्रिय छ। बाराक ओबामाको हार्दिक आतिथ्य पाउन नरेन्द्र मोदी सफलमात्र भएनन् चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गृहराज्य गुजरातमा सीधै अवतरण गराएर अर्बौंको चिनियाँ सहयोग पाउन सफल भए। जापानमा पुगेर त्योभन्दा बढी सहयोग ल्याउनसके। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारत निम्त्याएर महत्वपूर्ण विकासका कार्यक्रम अगाडि बढाउने मार्ग कोरे। रूसले युरोपबाट खाद्यान्न आयात गर्न रोकेपछि त्यहाँ भारतीय खाद्यसामग्रीको निर्यात ह्वात्तै बढेको छ। विश्व शक्ति सन्तुलनमा आएको परिवर्तनले भारत बलिया देशहरूसँग फाइदाको राजनीति गर्ने रणनीतिमा लागिपरेको देखिन्छ। ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकासहितको पाँच देशको संगठनले २०१४ मा गरेको ब्रिक्स बैंकको स्थापनाको निर्णयले भविष्यमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व आर्थिक क्षेत्रमा रहँदै आएको एकछत्र राज समाप्त हुने मार्ग प्रशस्त भएको छ।
दक्षिण एसियाको परिदृश्य
बेलायती उपनिवेश र प्रभावमा परेको दक्षिण एसिया दोस्रो विश्वयुद्धपछि अमेरिका र रूसको प्रभावबाट मुक्त हुनसकेन। यस क्षेत्रमा भएका द्वन्द्वका पछाडि आन्तरिक नभई बाह्य कारण पनि रहे, जसमध्ये मुख्यतः अमेरिका, बेलायत र रूस नै थिए। सन् २०१४ को घटनालाई केलाउँदा चीनले दक्षिण एसियामा आफ्नो बलियो उपस्थिति देखायो। चिनियाँ राष्ट्रपतिबाट पहिलोपटक माल्दिभ्स र तीन दशकपछि श्रीलंकाको भ्रमण भयो। सैन्य तहमा सम्बन्ध विस्तार गरेको चीनको भूमिकाप्रति भारतीय पक्ष सतर्क भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ समारोहमा सार्क देशका सरकार प्रमुखलाई निम्तो गरेर छिमेकसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको व्यावहारिक पुष्टि गर्न खोजे।
दक्षिण एसियाको शक्तिशाली देश भारत महत्वाकांक्षी योजनासहित एसिया र योभन्दा बाहिरसम्म आफ्नो प्रभाव विस्तार गर्न खोज्दैछ। चीनको द्रूत प्रगति भारतीयका लागि इर्ष्या र शिक्षा दुवै भइसक्यो। चीनसँग सम्बन्ध सहज बनाउने रणनीति देखिँदा परम्परागत मित्र अमेरिका र युरोपेली देशहरूसँगको सम्बन्धमा पक्कै प्रभाव पर्नसक्छ। अर्कोतर्फ भारतको रूससँग प्रगाढ सम्बन्ध छ। पाकिस्तानप्रति पश्चिमाहरू लचिलो बनेकोमा भारतीय पक्षको गुनासो हुनेगर्छ। तर, पाकिस्तान पनि बदलिँदो विश्वशक्तिसँगै रणनीतिलाई परिवर्तन गरेको संकेत गर्दैछ। उसको सैन्य सम्बन्ध चीनसँग पनि बलियो हुँदैजानुले भारतीय पक्षलाई झस्काएको छ। अबोटावादमा अल कायदा नेता बिन लादेन मारिएपछि आतंकवादविरूद्धको युद्धका नाममा पाकिस्तानले पाउँदै आएको सैन्य सहयोगमा कमी आइसक्यो। भारत र पाकिस्तानको गतिशील रणनीतिले नयाँ आकार पाउँदैछ। दुवै देशले सम्बन्ध र परस्पर सहयोगको मार्गलाई केही मोडिसके।
नेपालसामु चुनौती र अवसर
विश्वशक्तिमा आएको फेरबदलले नेपाली राजनीति मुक्त हुनसक्दैन। पश्चिमाहरू अझै पनि नेपाली राजनीतिमा प्रभावशाली बाह्य खेलाडी हुन्। नत्र बेलायती राजदूतले धर्म परिवर्तनसम्बन्धी अभिव्यक्ति दिने र उक्त अभिव्यक्तिले यति धेरै महत्व पाउँदैनथ्यो होला। इतिहास साक्षी छ, कुनै बेला सहयोगको याचना गर्नपुगेका राजा ज्ञानेन्द्रलाई समेत भेट्न अस्वीकार गर्नेसम्मको सामर्थ्य देखाउँथे बेलायती राजदूतले। अहिले पनि युरोपेली युनियनमध्ये बेलायत नेपालमा सबैभन्दा प्रभावशाली छ। तर, बेलायतको प्रभाव निरन्तर ओरालो लागिरहेछ। अमेरिकाको चासो रहे पनि उसको प्रभावशाली उपस्थितिमा अवरोध आइसक्यो। यसका पछाडि चीन र भारतको बढ्दो शक्ति मुख्य कारण हो। दुवै देशले गएको वर्ष आफ्नो बढ्दो चासोलाई व्यवहारमा पुष्टि गर्न खोजे। भारतीय प्रधानमन्त्रीको सहयोग बृद्धिदेखि संविधान निर्माणमा 'सहमति' को आग्रहबाट नेपाली राजनीतिमा प्रभावशाली बन्ने नियत प्रष्टिन्छ। चिनियाँ विदेशमन्त्री वाङ यी डिसेम्बरको अन्तिम साता नेपाल भ्रमण गरेर फर्किए। नेपाल मामलाका चिनियाँ जानकारहरूको बाक्लो आवतजावत छ। कुन देशको चासो र प्रभाव बढेर फाइदा हुनेभन्दा पनि आफ्नो हितका लागि कसरी रणनीति बनाएर अगाडि बढ्ने भन्ने निर्क्यौल वर्तमानको आवश्यकता हो।
विश्वशक्ति सन्तुलनमा आएको परिवर्तनले छिमेकको आर्थिक र सैन्य शक्ति बृद्धि हुनु नेपालका लागि अवसर र चुनौती दुवै हो। भारत र चीनले नेपालको स्रोतबाट लाभ लिने उद्देश्य राखेका छन्। जलस्रोतसम्बन्धी सन्धीसम्झौता र स्रोतमाथि नियन्त्रण कायम गर्ने अस्वस्थ प्रतिस्पर्धाहरू प्रकटअप्रकट भइरहन्छन्। सानै भए पनि यहाँको बजारमा प्रभाव जमाउने उद्देश्यले पश्चिमाहरू पनि सक्रियता देखाइरहन्छन्। नेपालमा हुने राजनीतिक परिवर्तन, स्थायित्व वा अस्थिरतामा बाह्य खेलाडीमध्ये यिनै शक्ति प्रमुख हुन्। तिनको सामना गरेर परिस्थिति देशको समृद्धि र सुन्दर भविष्यतर्फ मोड्न सहज छैन, तर असम्भव पनि छैन। सबैभन्दा पहिले बदलिँदो विश्वशक्तिलाई बुझ्नुपर्छ। प्रभावकारी र देशहित अनुकूलको रणनीतिले बदलिँदो विश्वलाई आफ्नो हितमा ढाल्नसकिन्छ। त्यो खुबीचाहिँ आन्तरिक शीर्ष खेलाडीमै हुनुपर्छ, प्रमुख राजनीतिक दलहरू वा तिनका प्रमुख नेता। दुई छिमेकी समृद्ध भयो भन्दैमा आफू समृद्ध भइन्छ भन्ने छैन। गगनचुम्बी महलको नजिकै झुपडीबस्ती पनि देखिन्छ। अमेरिका जस्तो शक्तिशाली र सम्पन्न देशका छिमेकीहरू राजनीतिक अस्थिरता र आर्थिक संकटबाट गुजि्ररहेका छन्। आउँदो आधा दशकभित्र समृद्ध भविष्यतर्फ पाइला चाल्ने नयाँ देशहरू कुनकुन हुन् प्रष्ट हुने अवस्था बन्दैछ। सन् २०१४ भित्र विश्वशक्तिमा आएको फेरबदलका परिदृश्यले नयाँ सम्भावनाको ढोका खोल्दैछ। हामीले अरू घटेर आफू बढ्ने सपना देख्न छाड्नुपर्छ। अरूले हासिल गरिरहेको बृद्धिभन्दा तीव्र बृद्धि र विकास हासिल गर्ने जमर्को गर्नुपर्छ। त्यसअनुरूपको रणनीति अनिवार्य छ।