कोलम्बियामा एकजना धनाढ्य थिए– पाब्लो एस्कोबार। सन १९८० को दशकमा चर्चामा आएका उनी २४ अर्ब डलरको सम्पत्तिसहित विश्वको सातौँ धनीमध्येमा थिए। अमेरिकामा समेत घरजग्गा व्यवसायमा हात हालेका उनको देखाउने कानुनसम्मत धन्दा धेरै भए पनि मुख्य आर्जन कोकिनको कारोबार थियो।
समाजसेवीको परिचय पाएका एस्कोबारको कालो कर्तुतको खुलासापछि पनि कारबाईका लागि विदेशी दबाबले मात्र काम गर्योक। सतहमा हेर्दा उनले समाजको केही क्षेत्रमा सकारात्मक योगदान दिएका थिए। तर उनका कारण धेरै युवा लागु औषधको सेवनकर्ता र तस्कर बन्न पुगे। एकपछि अर्को गर्दै धेरै ड्रग कार्टलहरू जन्मिए। प्राकृतिकरूपमा सुन्दर कोलम्बियाको साख विश्वमाझ गिर्योअ। राजनीतिक अस्थिरता भोगिरहेको देशमा गैरकानुनी धन्दाका नाइकेहरू यस्तै भेषमा सक्रिय हुन्छन् जसरी पाब्लो एस्कोबार कोलम्बियाको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै सक्रिय भएथे।के नेपालमा एस्कोबार शैलीमा कालो धन्दाबाट आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा हावी हुन खोज्नेहरूको उदय भएको हो? अपराधको साम्राज्य खडा गर्न खोज्नेहरू संगठित बनेर देशमा नियन्त्रण कायम गर्न खोजेका हुन्? आपराधिक क्रियाकलापबाट देशलाई भित्रभित्र खोक्रो पार्दै लगेकाहरूले असफल राष्ट्र बनाउँदै त छैनन्? यसबारे बेलैमा सचेत भई उत्तर खोज्न ढिलो गरिनुहुन्न। दुई चार जना गुण्डा नाइके समातिँदा र मारिँदा थपडी बजाउँदा बजाउँदै देशमा अपराधीको शासनसत्ताले जग हाल्नसक्छ। देशमा बढ्दो आर्थिक अपराध र त्यसमा संलग्नहरू प्रभावशाली हुनु र दण्डहीनता मौलाउनुले भयाबह भविष्यको संकेत गर्दैछ।
कुनैबेला चन्दन तस्करी गर्ने गिरोह सुन तस्करीमा सक्रिय हुँदैछन्। लागूऔषध र हतियार तस्करको नशा जोडिएको छ। एउटा अपराधबाट अर्को अपराधमा जोडिइहाल्नु संगठित अपराधमा संलग्नहरूको चरित्र नै हो। उनीहरू बीच कतै न कतै साँठगाँठ भएकै हुन्छ। सर्पले सर्पको खुट्टा देख्छ। चन्दन तस्करीमा गिरोहहरूबीचको द्वन्द्वले मात्र लामो समययता अन्तर्राष्ट्रिय सञ्जाल बनाएर चलाइएको धन्दाबारे हल्ला बाहिर आएको हो। नत्र वर्षौंदेखि तस्करहरूका लागि बाटो खुल्ला रहेछ भन्ने तथ्य भेटिन्छ। अहिले सुन तस्करीमा पनि गिरोहबीच लाइनबारे विवाद भएबाट घटना छताछुल्ल भएको हो। लागु औषधका गिरोहबीच तस्करीको लाइनबारे विवाद हुँदा झडप हुने गरेको बुझिन्छ। जब सहमति बन्छ वा एउटा गिरोहले अर्को गिरोहलाई ठेगान लगाउँछ तब चुपचाप तस्करी भइरहन्छ। हुँदाहुँदा सुराकीको कमिसनबारे विवादले धेरै जना नांगिएका छन्। सभासद् धनराज गुरूङले संसदीय समितिमा अडियो टेप नै सुनाइदिए।
कालो कारोबार
नेपालमा २०६३ देखि २०६६ को अवधिमा २२७२७० केजी रक्तचन्दन बरामद भएको थियो जसको नेपाली बजारमा मूल्य रू. १९ करोड ७९ लाख अनुमान गरिएको छ (वन विभाग २००९)। सन् २०१० मा रू.१४ करोड, २०११ मा साँढे १३ करोड र २०१२ मा झण्डै १८ करोड अनुमानित मूल्य बराबरको लागु औषध बरामद भयो (केसी २०१३)। आव २०६९/७० देखि २०७१/७२ को तीन वर्षयता २८५ केजी सुन बरामद जसको स्थानीय बजारमा मूल्य अनुमानित १ अर्ब २० करोडमध्ये सुराकीले नियमानुसार ३० करोड पाउने उल्लेख छ (नेपाल प्रहरी २०१४)। देशमा भएका आर्थिक अपराधको तथ्याङ्कले वर्तमानमा अपराधको दबदबा र भविष्यको कहालिलाग्दो अवस्था केलाउन सकिन्छ। नेपाली बजारमा दैनिक माग हुनेभन्दा आधा कम परिमाणमा सुन नेपाल राष्ट्र बैंकबाट खरिद हुन्छ। बाँकी आपूर्ति तस्करीको बाटोबाटै हुन्छ। चीन वा तेस्रो मुलुकबाट नेपालको बाटो हुँदै भारतसम्म सुन तस्करी गर्ने गिरोह सक्रिय छ। विगतमा एक वा दुई समूह मात्र सक्रिय हुने सुन तस्करीमा धेरै समूह खडा भइसके। उनीहरूबीचको द्वन्द्वले पोलापोल भई सामान बरामद हुनेगर्छ। प्रहरीले बरामद गर्नेमध्येको अधिकांश तस्करबीचको मनमुटावको परिणाम हो। हालसम्म बरामद गरिएको परिमाणको सुन त केही प्रतिशतमात्र हो। त्यसमा पनि तल्लो तहका भरिया वा हदैसम्म समातिए मध्यम स्तरका तस्कर समातिएका छन्। गिरोहको नाइकेबारे अत्तोपत्तो छैन। प्रतिष्ठित व्यक्तिको भेषमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बनाएर बसेकालाई पक्राऊ गर्ने साहस जुटाउन सजिलो छैन।
ग्लोबल फाइनान्सियल इन्ट्रिगिटीको सन् २०१२ को तथ्याङ्कअनुसार सन् २००१ देखि २०१० को बीच नेपालबाट रू. ८७०३.९४ अर्ब पुँजी पलायन भएको छ। यसमा कालो कारोबार र भ्रष्टाचार गर्नेहरूको पैसा बढी छ। फर्जी तरिकाले विदेशमा पैसा पठाउनेहरूको कमी छैन। अरबौंको एलसी खोलेर सामान नल्याई विदेशमा पुँजी पलायन गर्ने घटनामा सरकारका उच्च अधिकारी नै मुछिएको इतिहास साक्षी छ। २०१० मा कागजमा सीमित कम्पनी खोलेर ३ करोड २६ लाख डलर र ४ करोड ८५ लाख डलर विदेश पठाउन लागिएको घटना खुलासा भयो। एकातर्फ नेपालको बाटो भएर सुन, चन्दन, वन्यजन्तुको अंग र लागु औषधको तस्करी हुनु अर्कोतर्फ नेपालबाट जालझेल गरी रकम विदेश पठाउने गतिविधिभित्र तस्करहरूको सञ्जालको दायरा फराकिलो छ भन्ने पुष्टि हुन्छ।
प्रहरी स्वयं भन्सारका कर्मचारीको मिलेमतोमा तस्करी हुने गरेको खुलासा गर्छ। कर्मचारीको मिलेमतोमा वीरगञ्ज भन्सारको चेकपोस्ट भएर सुपारी तस्करी भइरहेको खुलासा एसएसपी सर्वेन्द्र खनालले सार्वजनिकरूपमा गरेका थिए। त्रिभुवन विमानस्थलमा समेत भन्सारका कर्मचारीसँगको मिलमतोमा सुन तस्करी हुने गरेको तथ्य भेटियो। अख्तियारले छापा मार्दा घूसवापत लिएको बरामद रकमले भन्सार चेकप्वाइन्ट ठूला तस्करका लागि स्वागत द्वार समान रहेछ। चेकजाँच त सामान्य नागरिक र कानुनसम्मत् व्यापार गर्न चाहनेका लागि मात्र रहेछ। लाइन खुलाउँदै तस्करीमा सहयोगी भूमिका खेल्ने प्रहरी र प्रशासनको भूमिका हेर्दा संगठित अपराधको गिरोह निकै बलियो हुँदै गएको बुझ्न सकिन्छ। ड्रग कार्टलसँग स्वयं सुरक्षाकर्मी डराउनुपर्ने अवस्था छ। २९ मंसिरको बिहानै लागु औषध तस्कर र प्रहरीबीच गोली हानाहानको खबर आयो। बारा, पर्सा, धादिङ र मकवानपुर र सीमापारी भारतीय क्षेत्रमा कारोबारीहरू उत्पादन, प्रशोधन, बिक्री र तस्करीसम्ममा सक्रिय छन्।
असफल राष्ट्र
संगठित अपराधका अध्ययनकर्ता मिचेल रोथले असफल राष्ट्रमा अत्याधिक अपराध र हिंसा, भ्रष्टाचार, नेताहरूमा बिनाबल प्रयोग सार्वभौम अभ्यास गर्ने असक्षमताका साथै अस्थिरता र अन्यौलताको परिस्थिति रहने तर्क गरेका छन्। असफल राष्ट्रहरूमा आपराधिक समूह हाबी हुने र तिनीहरूका कारण अन्तर्राष्ट्रिय संगठित अपराधले जरा गाडेर सरकारको नियन्त्रण भएको स्थानहरूमा आफ्नो नियन्त्रण स्थापित गर्छन्। त्यस्ता अपराधीहरूले आफ्नो भूमिगत अर्थतन्त्र सञ्चालनमा ल्याउँछन्। नेपालमा आर्थिक अपराधमा व्यापक वृद्धि भएको छ। पंक्तिकारले आर्थिक अपराध र संगठित अपराधबारे गरेको अध्ययनले तीव्र वृद्धिको तथ्य फेला परेको छ। प्रहरी तथ्याङ्कले मात्र अपराधको अन्तिम निर्क्यौल गर्न सक्दैन। स्वयं प्रहरी अधिकारीहरू नै लागु औषध तस्करीमा पाँच प्रतिशतभन्दा कम मात्र सफलता हासिल गर्न सकिने स्वीकार्छन्। सुन तस्करीमा त्योभन्दा कम प्रतिशत सफलता हासिल भएको छ। नेपालभित्रको दैनिक माग र सुन व्यापारीले बैंकबाट खरिद गरेको सुनको अनुपात केलाउँदा नै छर्लंग हुन्छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टमा नेपाल कम भ्रष्टाचार हुने देशमध्ये १२६ औं स्थानमा छ। दक्षिण एसियामा अफगानिस्तान र बंगलादेशपछि भ्रष्टाचार बढी हुने देशमा देखियो। संगठित अपराधसँग भ्रष्टाचारको सिधा सम्बन्ध छ। यसलाई प्रश्रय दिनकै लागि अधिकांश भ्रष्टाचार भएका छन्। विगतको तुलनामा हिंसा कम भए पनि कुनै पनि समय हिंसात्मक समूह पुनः सक्रिय हुने खतरा टरेको छैन। सामान्य नागरिकमाथि मात्र सरकारको नियन्त्रण कायम छ। सरकारका उच्च अधिकारीहरू संगठित अपराधीको प्रभावमा पर्दै गएका छन्। भूमिगत अर्थतन्त्र चलाउने लागु औषध र सुन तस्करहरू निकै प्रभावशाली भइसके। कालो धनलाई सेतो बनाउन विदेशी भूमिमा अरबौं पैसा लान सफल भएका छन्। राजनीतिमा पहुँच बढाउँदै लगेका संगठित अपराधका नाइकेहरू आफ्नो चाहनाअनुसारको कानुन परिमार्जन गर्न सफल हुने दिशातर्फ बढ्दैछन्।
अन्त्यमा देशलाई संगठित अपराधका नाइकेहरूको प्रभावमा पर्न नदिन कानुनमा मात्र परिमार्जन गरेर पुग्दैन। त्यस्ता नाइकेहरू कानुनलाई नै परिमार्जन गर्न सफल हुन्छन् भन्ने तथ्य कोलम्बियामा पाब्लो एस्कोबारले गरेर देखाइसके। सबैभन्दा महत्त्वपूर्ण सर्वसाधारण सचेत र चनाखो हुनुपर्छ। जनता बलियो भएर त्यस्ता गतिविधिविरूद्ध आवाज उठाउन सकेमात्र सरकारको उच्च ओहदामा पुगेकाहरू जनदबाबका सामु डराएर जवाफदेही बन्न बाध्य हुन्छन्। यसमा सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। तस्करहरूको तारोमा सञ्चारकर्मी पर्छन्। एस्कोबारको कालो कारोबारको खुलासा गर्ने पत्रकार मारिएका थिए। त्यसैले संगठित अपराधीसँग जुध्न ठूलो साहस चाहिन्छ। जनदबाब सिर्जना गर्ने साहस बेलैमा देखाइएन भने अपराधीको पञ्जामा देश पर्नसक्ने खतरा छ। देशको मुख्य वैधानिक संस्थाहरूमा प्रभाव बलियो बनाउँदैछन्। भविष्यमा प्रहरीको आइजिपीदेखि उच्च कर्मचारीको बढुवा र सरूवामा मात्र नभई देशको प्रधान मन्त्री र राष्ट्रपति बनाउने साँचो पनि तिनकै हातमा पुग्नसक्छ।