बीपी कोइराला काठमाडौंमा !
१३ असोज २०७१
•
१७ मिनेट पाठ
बीपी कोइराला काठमाडौंमा !
दसैँको शुभकामना दिन बीपी कोइरालालाई स्वर्गबाट काठमाडांै आउन मन लागेछ। सय वर्षअगाडि बीपी पृथ्वीलोकमा आएका थिए। नेपाल र नेपाली जनताको स्वतन्त्रता तथा सम्पन्नताको सपना देख्दादेख्दै आजभन्दा करिब साढे तीन दशकपहिले नै बीपी स्वर्गलोकतर्फ गए। बीपीले नेपाली जनताको मुक्तिका लागि लडे तर राजा, राणा र पञ्चहरुको प्रपञ्चले गर्दा देश बनाउन पाएनन्। अहिले बीपीलाई दुःख दिनेहरू सर्वस्व गुमाएर पछुताइरहेका छन्।बीपीलाई स्वर्गमा लागेछ – म समयअगाडि नेपालमा जन्मे र चाँडै संसारबाट बिदा भएँ। यसैले अब फेरि एकपटक त्यहाँ जाउँ्क। देश, जनता र लोकतन्त्रको हालखबर बुझौँ।




बीपी लोकतान्त्रिक गणतन्त्रमा नेपाल आउन पाउँदा मख्ख थिए। सबैले मलाई चिन्छन्। मैले नै स्थापना गरेको पार्टी नेतृत्वमा देशको सरकार छ। अझ आफ्नै भतिजा प्रधानमन्त्री छ। अनी झन्डै परिवारका आधा दर्जन सदस्य त कांग्रेस केन्द्रीय समितिमै छन्। मलाई जेल, नेल र निर्वासन दिने र दुत्कार्ने राजा, राणा र पञ्च पनि देशमा रहेनन् । तिनका अवशेष जो छन् ती पनि कमजोर र प्रभावहीन छन्। यस्तै सोचेर बढो सन्तोष मान्दै बीपी कोइराला २०७१ सालको दसँैमा कांग्रेसजन, नेपाली जनता र परिवारजनलाई शुभकामना दिन काठमाडौ यात्रामा निस्के।

काठमाडांैमा कांग्रेस पार्टीको भव्य केन्द्रीय कार्यालय छ भन्ने उनले हालैका वर्षहरूमा स्वर्गलोक पुगेका साथीबाट सुनेका रहेछन्। नेपालको परिवर्तनको अनुभव पार्टी केन्द्रीय कार्यालयबाटै सुरु गर्न बीपी सिधै बल्खुस्थित पार्टी कार्यालयको ढोकैमा झरे। 'देश त हेर्नुस् र घुम्नुस् तर कांग्रेस पार्टीतिर जानु भयो भने विषाद र लज्जाबोध होला है ' भन्ने शैलजा आचार्यले स्वर्गमा दिएकी सल्लाह बीपीले टेरेनन्। कांग्रेस केन्द्रीय कार्यालयअगाडि मूल ढोकैमा नेपाल विद्यार्थी संघको महाधिवेशन सातांैपल्ट सार्न पाइँदैन भनी केही युवा अनशन बसेका रहेछन्। बीपीले कुरा बुझेनन् र सुरक्षा गार्डलाई सोधे। सुरक्षा गार्डले कांग्रेस र यसका सबै निकायविना महाधिवेशन चलिरहेका छन्। कांग्रेस स्वयंले चारवर्षमा गर्नुपर्ने महाधिवेशन भर्खरै एकवर्ष पछि सारेको गार्डले बीपीलाई सुनाए। बेलाबेलामा पार्टी गेटमा अनशन बस्नेहरूका कारण र मरेका कांग्रेसजनलाई झन्डा ओढाउन ट्रकमा राखेर ल्याउने चलनले पार्टी केन्द्रीय कार्यालयमा चलहपहल हुन्छ । अरू समय केन्द्रीय कार्यालय सुनसान रहन्छ। गार्डले बीपीलाई जानकारी दिए।

प्रभावकारी सदस्यहरुको कोठे उर्दीबाट कांग्रेस चल्छ गार्डले बेलीविस्तारका साथ बीपीलाई कांग्रेसको आन्तरिक लोकतन्त्रको अभ्यासका बारेमा सुनाए। बीपीले 'तिमी पार्टीको सुरक्षा गार्ड भएर पनि यत्रा कुरा जानेका रहेछौ त। तिम्रा नेता तिमी जति जान्ने पनि छैनन्' भनी सोधेछन्। गार्डले "तिमी बुझेका पाका कांग्रेसजस्ता देखिन्छौ, नेताहरुलाई भेटेर संस्थागत निर्णय गर्न सम्झाइदेऊ न। मेरो कुरा सुन्दैनन्।' गार्डले यसो भन्दाभन्दै सुदूरपश्चिमतिरका त्यागी कांग्रेस नेताको शव पार्टी कार्यालय ल्याइयो। गार्ड बीपीलाई छाडेर अन्यत्रै लागे।

बीपी अलमलमा परे। शैलजाको सल्लाह सम्झे। अब सिंहदरवार र संसद् भवन जानुपर्ला सरकार त राम्रै गरी चलाएका होलान् भनी पशुपतिको सत्तलतिर वास बस्न बीपी उतै लागे।

पशुपतिबाट बिहानै बीपी मित्रपार्कको बाटो सिंहदरवार जान भनी हिँडे। बीपीले चाबेलमा आफू बसेको घर खोजे ठम्याउनै सकेनन्। बाटो सबैतिर जाम थियो। हजारौं महिला, केटाकेटी, बृद्ध र बिरामी जाममा रोकिएका बीपीले देखे। दर्जनौं एम्बुलेन्ससमेत जाममा परेको देखेर बीपी छक्क परे। राजा र पञ्च गए भन्थे। स्वर्गलोकमा त नेपालमा गणतन्त्र आएको खुबै चर्चा हुन्थो । किन जाम, के को जाम? बीपी अलमलमा परे। भीआईपीको सवारी लस्करले जाम भए हजारौं नेपालीले सडकमा घटांै सास्ती पाएको देखेर बीपी सडकमै रुन थाले।

असिनपसिन हुँदै जसरीतसरी बीपी सिंहदरवारतिर लाग्दा बाटामा संविधान सभा तथा व्यवस्थापिका संसद्को भवनमा पुगेछन्। संसद्को गतिविधि हेर्न मन लागेर भित्र जान सोधखोज गर्दा थाहा पाएछन् संसद त कैयौं सातादेखि अवरुद्ध छ। त्यसपछि सिंहदरबारको दक्षिण ढोका पुगेछन्। तर स्वर्गलोक काठमाडौं आइपुग्नुभन्दा पनि सामान्य नागरिकलाई सिंहदरवारभित्र छिर्न कठिन हुन्छ भन्ने बीपीले थाहै पाएका थिएनन्।। निलो, रातो, सेतो प्लेटमा चढेका विशिष्ट व्यक्तिहरू सलामी खाँदै सिंहदरबार गेटभित्र छिर्दा रहेछन्। नेपाल निर्माणको जिम्मेवारी लिएका यी महानुभावलाई नेपाल र नेपालीलाई हेर्ने र बु‰ने फुर्सद भने कहिल्यै हुँदैन। तर दसँैतिहारको बेला सरकारी कामकाज मिलाएर परिवारसहित विदेश जान यिनीहरू सिंहदरवारमा कागज मिलाउने चटारोमा भने सधँै हुन्छन्। टाढा गाउँघरबाट आएका झुत्रे र मैला झैँ देखिने नेपालीलाई सिंहदरवार बाहिरको सडकमा उभिन पनि निषिद्ध रहेछ। यत्तिकैमा एकजना सभासद् र पुराना कांग्रेसीको दृष्टि बीपीमाथि पर्छ। सभासद् छक्क पर्छ र भन्छ – 'कस्तो ठ्याक्कै बीपीजस्तैे देखिनुभयो तपाईँ त बूढो भए पनि नक्कल पार्न सिपालु हुनुहुँदो रहेछ।' बीपी भन्छन् – 'निःसन्देह म पिताजी कृष्णप्रसाद कोइरालाको छोरा त्यही विश्वेश्वरप्रसाद कोइराला, नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँ। स्वर्गबाट दसँैको शुभकामना दिन, संसद् र सरकारको गतिविधि हेर्न आएको छु ।'

सभासद्लाई दया लागेछ र उनले आफ्नै सिफारिसमा बीपीलाई सिंहदरवार प्रवेश गराएछ। त्यही सभासद्को पछि लागेर बीपी सिंहदरबारभित्र छिरे। प्रधानमन्त्री कार्यालयतर्फ जान्छन्। प्रधानमन्त्री कार्यालयको प्राङ्गणमा आफूले राम्रै चिनेको, राजनीति संस्कार र शिक्षा दिएको एक हुल कांग्रेस मंत्रीलाई देखेर बीपी हर्षित हुनपुग्छन्। मंत्रीहरूलाई घेरेर एकहुल मानिस कांग्रेस नेता शेरबहादुर देउवाको जय गान गर्दै थिए। अर्काथरी सुशील कोइरालाको स्तुतिगान चर्को स्वरमा गर्दै थिए। सबै दसैं खर्च पो लिन आएका रहेछन्। एउटा बृद्ध काया तेजिलो अनुहार लिएर एकटक मंत्री र तिनका अनुयायीतर्फ हेरिरहेको देखेर तिनीहरूले बीपीलाई 'जासुस' ठाने। बीपीको जस्तै अनुहार बनाएर जासुसी गर्न आएको यो बूढोलाई समातेर जेलमा हाल्नुपर्छ भनी मंत्रीका अनुयायीले बीपीलाई बन्धक बनाएछन। हातखुट्टा बाँधेर त्यही पटांगिनीमा मुढाझै लडाएर तथानाम गाली गर्न थालेछन्। बीपी भन्दै थिए – 'म तिमीहरूको सान्दाजु हुँ मलाई चिन, मलाई यसरी नबाँध। ' यत्तिकैमा प्रधानमन्त्री सुशील कोइरालाको गाडी आएछ। उनले टन्टलापुर घाममा लडइएका बीपीलाई देखेछन्। अरू केही नभनी आफ्ना अंगरक्षकलाई यी बृद्धलाई बालुवाटारमा थुन्नु भन्ने आदेश दिएछन्। बीपी प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कोठामा थुनिएछन्।

आधारातमा मधुरो प्रकाशमा दारी सुमसुमाउँदै प्रधानमन्त्री सुशील कोइराला आफूलाई थुनेको कोठाभित्र छिरेको देखेर बीपी जिल्ल परे। बीपीले केही सोध्न नभ्याउँदै सुशीलले बीपीको खुट्टा समातेर भने – 'सान्दाजु! तपाईँ किन आएको अहिलेको नेपालमा? मलाई त विपत्ति नै आयो। म तपाईलाई स्वतन्त्र छाड्न सक्तिन। मैले तपार्इँलाई सिंहदरवार पटांगिनीमा देख्दैमा चिनिसकेको थिए। तर सार्वजनिक ठाउँमा सबैका अगाडि जीउँदो बीपीलाई चिन्ने साहस ममा अब रहेन। कुनै कांग्रेसलाई बाँचेको बीपी आवश्यक छैन। मरेको बीपीको हामीले जयजयकार गरिरहेकै छौँ। तर बाँचेका बीपीलाई हामी थुन्न बाध्य छौँ। हामीले तपाईको फोटो झुन्डाएकै छ। घरमा र कार्यालयमा तपाईका तस्बिर सजाइएका छन्। विचारयात्रा चलाएकै छौँ तपाईका नाममा। तपाईँ आइदिँदा हाम्रो सबै 'सिस्टम' बिग्रने भयो। तपार्इँ नेपाल नबस्नुस् सान्दाजु स्वर्ग फर्कनुहोस्!'

बीपीले सोधेछन् – 'अनर्थ के भयो र सुशील मेरो आगमनले?' सुशीलले भनेछन् – 'हामीले तपाईँका नाममा व्यवसाय चलाएका छाँै। पार्टी अनि देशभित्र बढो कुशलतापूर्वक भागबन्डाको राष्ट्रिय सञ्जाल निर्माण गरेका छाँै। अब तपाईँलाई देखेपछि जनताले सत्यको, लोकतन्त्रको, स्वतन्त्रताको, किसान र नेपाली जनताको पक्षमा आवाज उठाउन थाल्छन्। त्यसले गर्दा हाम्रो सञ्जाल बिग्रन्छ, हाम्रो व्यवस्था खलबलिन्छ। सान्दाजु! कृपा गर्नुस्, हामी तपार्इँको पूजा गर्नसक्छौ, फोटोमा धूप नैवेद्य चढाउन सक्छौँ। तर हाम्रो व्यवसाय चलाउनका लागि जिउँदो सान्दाजु हामीलाई चाहिँदैन, देशलाई पनि चाहिएको छैन। यसैमा सबै कांग्रेसजनको पनि भलाइ छ। अनि तपार्इँको प्रतिष्ठामा पनि यसबाट कुनै आँच आउँदैन। ' बीपीले आफू सानैछँदा परिवारलाई राणाका कारण देश छाड्न परेको र पछि आफूलाई राजाले निर्वासनमा जान बाध्य पारेको सम्झन्छन्। तर अहिले त आफ्नै पार्टीका अझ आफ्नै भतिजाले देश छाड्न भनेको सुन्छन्। त्यसपछि उनी नियतिमा विश्वास गर्न पुग्छन्। देशका युवा पलायन हुनुपरेको कारण पनि बीपी सहजै बु‰छन्।

बीपी त्यसपछि गम्भीर निकै हुन्छन् र भन्छन् – 'कांग्रेसको मिसन अहिले मैले सोचेभन्दा बेग्लै भएछ। तसर्थ, म स्वर्गलोकमै फर्कुला। अब म यो उमेरमा कुनै विद्रोह गर्न सक्तिन पनि। तर नन्दप्रसाद अधिकारी मजस्तै अनशनमा बसेका थिए। मलाई त राणाहरूले अनशनमा मर्न दिएनन्। पाप लाग्छ भन्ने डर तिनमा थियो। तर अधिकारीलाई तिमीहरूले मर्न दिएछौ। कसरी दिएको? वैयक्तिक स्वतन्त्रताको रक्षा गर्ने सामान्य विवेक पनि कांग्रेसबाट हराएको हो कि वा यो पनि सत्ताकै लेनदेनमा पर्छ सुशील?' बीपी सोधेछन्। 'यो पनि एक प्रकारको लेनदेनै हो सान्दाजु! लेनदेन अहिले शासन सञ्चालनको प्रणाली भएको छ देशमा। म अधिकारीलाई न्याय दिन सक्तिन थिएँ। म विवश थिएँ। त्यसैले उनलाई मर्न दिएँ। मेरो विवशता बुझ्नुस् सान्दाजु। जनी गेर तपाईँ तुरुन्त फर्कनुस्। '

बीपी बालुवाटारबाट सिधै स्वर्गको बाटो लागेछन। भूपि शेरचन उत्सुकतापूर्वक बीपीलाई स्वर्गमा पर्खिबसेका रहेछन। शेरचनले बीपीसँग देशको हालखबर सोध्छन। बीपी उल्टै भूपिलाई 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविता वाचन गर्न आग्रह गर्छन् र दुवै आँखा चिम्म गर्छन्। दसँैको शुभकामना दिन, लोकतन्त्र र कांग्रेसजनको हालखबर बु‰न नेपाल गएका बीपी विरक्तिएर स्वर्गमा फर्केको भूपिले सजिलै बुझेछन्। 'म ठीकै बेला जन्मेको रहेछु नेपालमा। अहिले त बालुवाटारबाट इज्जत प्रतिष्ठा जोगाएर स्वर्गमा शेरचन सामु आउन पाएकोमा मैले आफैँलाई धन्य ठान्नुपर्छ। कांग्रेस आफैँले बनाएको त्रू्करसत्य बिर्सन बीपी भूपि शेरचनको कवितामा डुब्न चाहन्थे। ( रुसी साहित्यकार तथा दार्शनिक फियोदोर दोस्तोवस्कीको कथा 'द ग्रान्ड इन्क्विजिटर' मा चर्चका पादरीले जिजस क्राइस्टका नाममा युरोप भर व्यवसाय चलाएको कथावस्तु संवाद शैलीमा प्रस्तुत गरेका छन्। यो लेख तयार गर्दा त्यही कथाको शैलीबाट प्रेरणा लिइएको छ।)
अर्को समाचार
भारतीय लेखक दत्तानी काठमाडौंमा
०७ फागुन २०७१
•
३ मिनेट पाठ
भारतीय लेखक दत्तानी काठमाडौंमा
काठमाडौं- काठमाडौंको थिएटर भिलेजमा अहिले वाहवाही कमाइरहेको नाटक 'थर्टी डेज् इन् सेप्टेम्बर'का भारतीय लेखक महेश दत्तानी यतिबेला नेपाल भ्रमणमा छन्। यही अवसरमा भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले बिहीबार न्युरोडमा गरेको 'भ्वाइसेज' कार्यक्रममा नाटकयात्राका बारेमा मज्जाले खुले।




भारतमा अंग्रेजी भाषामा नाटक लेखेर विख्यात साहित्य एकेडेमी पुरस्कार पाउने उनी पहिलो नाटककार हुन्। उनले 'म्याङ्गो सफल' र 'मर्निङ राग'जस्ता फिल्म पनि निर्देशन गरेका छन्।

'१२ वर्षको उमेरमा म आफू नाटकका लागि नै जन्मिएको महसुस भयो,' उनले अनुभव सुनाए, 'घरमा बुवाआमाले स्नातक सकेपछि जे गरे पनि हुन्छ भन्नु भएपछि नाटक र पढाइलाई जारी राखेँ।'

व्यापारमा रमाएको धनी परिवार भए पनि आफू त्यसमा रमाउन नसकेपछि नाटककै लागि घर र सम्पत्ति त्यागेर लागिपर्दा बुवाआमाले सुरुमा चित्त दुखाएको उनले बताए।

कलेजमा फेल नभइयोस् भनेर उनले इतिहास, राजनीतिशास्त्र र अर्थशास्त्र पढ्नु परेको बताउँदै त्यो बेला मञ्चमा पुराना हिन्दी र अंग्रेजी नाटक अति नाटकीय शैलीमा मञ्चन हुने भए पनि तिनले दर्शकलाई ज्यादै लोभ्याउने गरेको स्मरण गरे।

'सुरुमा म नाटकमा अभिनय गर्न चाहन्थेँ तर कैयौँ चोटि कलाकारका रुपमा अस्वीकृत भएपछि पर्दा पछाडि व्यस्त हुन थालेँ। यसले मलाई धेरै कुरा सिकायो र कलाकारभन्दा पनि निर्देशक हुनु धेरै ठूलो कुरा हो भन्ने महसुस गरायो,' महेशको भनाइ थियो, 'यसपछि मैले नाटकमा निर्देशक, कलाकार, कला निर्देशक र अन्य धेरै काम गरेँ।'

थर्टी डेज इन सेप्टेम्बर नाटक एउटा गैरसरकारी संस्थाको अनुरोधमा गहन अनुसन्धानपछि मात्रै लेखिएको बताए। 'यो लेख्न मलाई गाह्रो परेको थियो तर ८ जना वास्तविक घटनामा बालयौन दुराचार भोगेका महिलाहरु भेटेपछि भने आठौँ ड्राफ्टमा अहिलेको नाटकको स्वरुप आएको हो,' उनले जानकारी दिए।

४० वर्षे नाटक यात्रामा सबैभन्दा ठूलो परिवर्तन नाटकको विषयवस्तुमा आएको उनको दाबी छ। कार्यक्रमको अन्त्यमा स्रोता र महेशबीच केहीबेर प्रश्नोत्तर पनि भए। फाउन्डेसनका सचिव अभय कुमारले महेशलाई उपहार दिएका थिए। साताव्यापि नेपाल बसाइको क्रममा उनी पोखरा पनि घुम्ने कार्यक्रम रहेको छ भने थिएटर भिलेजमा तीन दिने नाटक लेखन कार्यशाला चलाउने छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस