अपराधी सत्ता
१२ असोज २०७१
•
१४ मिनेट पाठ
अपराधी सत्ता
नेपाली समाज आवरणमा जति नै आधुनिक भए पनि मध्ययुगीन बर्बरताको घेराभित्रै छ। यसैले त एक्काइसौं शताब्दीमा पनि सत्ताको मात्र हैन समाजको दृष्टिकोण पनि मध्ययुगीन नै छ। राज्य र समाज मानसिकरूपमा अझै मध्ययुगमै रहेको पछिल्लो उहाहरण गोरखा फुजेलका नन्दप्रसाद अधिकारीले छोराका हत्यारालाई कानुनबमोजिम कारबाहीको माग गरेर अनशनमा ज्यानै गुमाउनु परेको घटना र त्यसप्रति व्यक्त प्रतिक्रिया पनि हो।नन्दप्रसादका किशोर छोरा कृष्णप्रसादलाई २०६१ सालमा माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएर हत्या गरेका थिए। एसएलसी परीक्षा दिएर आफन्तलाई भेट्न चितवन पुगेका कृष्णलाई हत्या गरेको माओवादीका स्थानीय नेताले उतिबेलै सकारेका थिए। पछि गोरखाकै प्रतिनिधित्व गर्ने माओवादी नेता बाबुराम भट्टराईले पनि कृष्णको हत्याको नैतिक जिम्मेवारी स्वीकारेका थिए। कृष्णका बाबु र दाजुले चिनजानका केही व्यक्तिमाथि शंका गर्दै किटानी जाहेरी दिएका थिए तर जाहेरीमा नाम परेका कतिपय व्यक्तिले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। माओवादी पार्टीका रूपमा भने अहिलेसम्म कृष्णको हत्याको जिम्मेवारीबाट पन्छेको छैन। साथै, माओवादीले कृष्णको हत्याका लागि कुनै 'राजनीतिक कारण’ दिन पनि सकेको छैन। यसैले नैतिक र कानुनी दुवै दृष्टिबाट कृष्णको हत्यालाई ' द्वन्द्वकाल’ घटना मान्ने आधार देखिँदैन।
राजनीतिसँग सरोकारै नभएको व्यक्तिको हत्यालाई सशस्त्र विद्रोहसँग मिसाउनु अपराधीलाई उन्मुक्ति दिलाउने जालझेलमात्रै हो। सायद, यही कारणले नन्दप्रसादमा आमरण अनशन गर्ने साहस आएको पनि हो। लहड, सनक वा उक्साहटमा कसैले पनि ११ महिना अनशन गर्न र प्राण त्याग्न सत्तै्कन। नन्दप्रसादको अतुलनीय अठोटको औचित्यमा विवाद र विमति हुनसक्ला तर उनलाई अरूले उक्साएको भन्नु चाहिँ अनशनकै अपमान हो। यस्तै, उनको मृत्युको कारण मानव अधिकारकर्मी वा नुरप्रसाद हुन् भनेर तिनको राक्षसीकरण गर्ने प्रयास पनि अत्यन्त घृणित षड्यन्त्र हो। 
नन्दप्रसादको मृत्युले सरकारका अधिकारीहरू विशेषगरी प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतममाथि कहिल्यै नमेटिने कलंक लागेको छ। यस्तै, नन्दप्रसादको मृत्युले हत्यामा संलग्न माओवादी नेताहरूलाई पक्कै तर्साएको हुनुपर्छ। द्वन्द्वात्मक भौतिकवादका अनुयायी माओवादी नेता प्रेत वा आत्मामा त विश्वास गर्दैनन् होला। नैतिकतालाई पनि तिनले 'बुर्जुवा’को बहानावाजी भनिसकेकै छन्। तैपनि, कतै न कतै मानवीय कमजोरी र गुण त तिनमा पनि होला। यसैले नन्दप्रसादको अकाल मृत्युले तिनलाई पनि पोलेको हुनुपर्छ। सामान्य मानिस भए तिनको मनःस्थिति खलबलिएकै हुनुपर्छ। नन्दप्रसाद र गंगामायाले छोराको हत्यारालाई कारबाही होस् भनेर माग गर्दा माओवादी नेतृत्वको सरकारले तिनलाई 'पागल’ भनेर मानसिक अस्पताल पठाएको थियो। त्यति बेला नन्दप्रसाद र गंगामायालाई मानसिक रोग नलागेको ठहर चिकित्सकले गरेका थिए। नियतिले कुनै दिन माओवादी नेतालाई नन्दप्रसाद गंगामायालाई पठाइएको ठाउँमा पठायो र त्यतिबेला उनीहरूलाई मानसिक रोग लागेकै देखियो भने आश्चर्य हुनेछैन। 
नियन्त्रणमा लिएर कसैको हत्या गर्नु नेपालको प्रचलित कानुनअनुसार जघन्य अपराध हो। माओवादीले आफ्नो हिंसात्मक विद्रोहलाई 'जनयुद्ध’ भन्ने गर्छन्। उनीहरूको विद्रोह छापामार शैलीमा सञ्चालित थियो। छापामार युद्धकै नियमअनुसार पनि नियन्त्रणमा आइसकेको निहत्था व्यक्तिको हत्या अपराधै हो। मानवीय दृष्टिबाट त निहत्था व्यक्तिलाई नियन्त्रणमा लिइसकेपछि मार्नु मानवताविरुद्धको जघन्य अपराध हो। तैपनि, सरकारवादी हुने यस मुद्दामा कृष्णका बाबु र दाजुले किटानी जाहेरीसमेत दिइसकेपछि पनि राज्यले कर्तव्य पूरा गरेन। मूलतः सरकारी कमजोरीका कारण नन्दप्रसादले न्याय खोज्न आमरण अनशनको बाटो अपनाउनु परेको हो। कृष्णको हत्यामा कानुनबमोजिम कारबाही गर्न राज्य विफल भएकै कारणले अन्ततः नन्दप्रसादको पनि ज्यान गयो। 
माओवादी वा राज्यलाई नन्दप्रसादको हत्याको दोषबाट जोगाउने प्रयत्नमा केही व्यक्तिले कृष्णप्रसादको हत्या 'सत्य निरुपण तथा मेलमिलाप आयोग’को कार्य क्षेत्रमा पर्ने घटना भएकाले घटना विशेषको छानबिन र कारबाही गर्न नमिल्ने तर्क गर्दारहेछन्। विस्तृत शान्ति सम्झौता भएको ५ वर्षसम्म पनि सत्य निरुपण आयोग बनाइएन। त्यो आयोग बनाउन नन्दप्रसादले ढिलो गरेका हैनन्। यसबीच देशका प्रमुख भनिएका सबै पार्टीका नेतामात्र हैन सर्वोच्च अदालतका प्रधान न्यायाधीशको नेतृत्वमा समेत सरकार गठन भइसकेको छ। कुनै सरकारले पनि सत्य निरुपण आयोग गठन गरेर विवाद टुंग्याउन गम्भीर प्रयास गरेको देखिएको छैन। यसैले सत्य निरुपणकै कार्यक्षेत्रमा पर्थ्यो भने पनि आयोग गठन नगर्ने त सरकारै हो। यद्यपि, कृष्णको हत्या पनि मैना सुनारको जस्तै द्वन्द्वकालको घटना भनेर राजनीतिकरण गर्न मिल्ने प्रकृतिको चाहिँ हैन। बन्दुक बोकेर हिँडेकालाई दोहोरो हानाहानमा मारेको घटनाबाहेक अरू हत्या मानवताविरुद्धको अपराध हो। यसैले दोरम्बाको जस्तो घटनालाई राजनीतिक वा प्रशासनिक संलग्नताको कारण देखाएर सत्य निरुपणको कार्यक्षेत्रमा पारे पनि कोटबाडा त्यसमा पर्दैन। त्यसमा पनि सुरेश वाग्लेदेखि हरिभक्त ओलीको हत्यासम्मका घटनामा दोषीमाथि कारबाही भएमात्र सत्य निरुपणले प्रतिशोधको आगो निभाउन सक्छ। सत्य निरुपणको कार्य क्षेत्रमा व्यक्तिगत रिसइबीबाट भएका जघन्य अपराधलाई पनि समावेश गर्ने हो भने आयोगको नैतिक वैधता र औचित्य रहनेछैन। 
नन्दप्रसाद अधिकारीले अनशन गर्दागर्दै प्राण त्यागे। उनले न्याय भएको देख्न पाएनन्। अहिले उनले हारे। यसको मूल कारण के हो भने नेपालमा सधैँजसो अपराधीले राज गर्दैआएका छन् र निर्दोष निमुखाले हारेको साक्षी इतिहास छ। 
पृथ्वीनारायण शाहका त्रू्करतालाई 'एकीकरण’का नाममा उन्मुक्ति दिए पनि प्रताप सिंहकै पालादेखि अपराधीलेे शासन गरेको देखिन्छ। रणबहादुर शाहदेखि मोहन शमशेरसम्मका शासक सबैजसो अपराधी नै त थिए। हत्यारा, बलात्कार, लुट के पो गर्न बाँकी राखेेका रहेनछन् र तिनले? पाण्डे, थापा, बस्नेतलगायतका भारदारको शासन गर्ने मूल योग्यता मार्ने र मर्ने नै रहेछ। जंगबहादुर कुँवर, उनका भाइहरू र तिनका सन्तान त झन् मार्नैका लागि जन्मेजस्ता देखिन्छन्। रणोद्दीपको हत्याभन्दा पहिलेसम्म त अर्को वंशका भारदार मारिएका रहेछन् पालैपालो। रणोद्दीपलाई त आफ्नै भाइ धीरशमशेरका छोराले मारे। अनि तिनै हत्यारा र तिनका सन्तानले नै विसं १९४२ सालदेखि ६५ वर्षसम्म शासन गरे। 
जनताले क्रान्ति गरेर राणा शासन हटाए। क्रान्तिपछि पनि शासन चाहिँ अपराधीले नै गरे। पञ्चायत कालमा शासनको त्रू्कर नृशंसता चरम सीमामा पुगेको थियो। पक्राउ परेका नेपाली कांग्रेसका कार्यकर्ता शमशेरबहादुर खत्रीलाई मुद्दै नचलाईकन काटेर मार्ने र टाउको बजारमा झुन्ड्याएर सार्वजनिक प्रदर्शन गर्ने बर्बर बडाहाकिमले राजा महेन्द्रबाट विशेष स्याबासी पाएका थिए। नख्खु र सुखानीमा जेल सार्ने बहानामा राजबन्दीलाई मार्नेहरूले मात्र हैन होमनाथ ढकाल, ऋषि देवकोटाहरूलाई पत्रे्कर गैरकानुनी हत्या गर्नेलेे सजाय हैन पुरस्कार पाए। डा.लक्ष्मीनारायण झाहरूलाई पत्रे्कर बेपत्ता पारियो। यी त उदाहरणमात्र हुन्। दुई पटक जनआन्दोलनपछि राजनीतिक व्यवस्था फेरियो तर शासकले गरेका अपराध दण्डहीन हुने प्रवृत्ति कायमै रह्यो। शासकहरू उन्मुक्त र उन्मत्त रहिरहे।
यही शासकीय अहंकार देखिन्छ नन्दप्रसादको देहावसानपछि प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि। राज्यसँग न्याय माग्दामाग्दै एक जना नागरिकको प्राण जाँदा पनि सरकारी अधिकारीमा पटक्कै पछुतो र ग्लानि छैन। सत्ताको अहंकार लुकेको छ। सरकारी अधिकारीमा अपराध बोध पटक्कै छैन देखिँदैन। उल्टै अनशनको औचित्य नभएको ठोकुवा पो गरिएको छ। 
नन्दप्रसाद र गंगामायाले सरकारलाई कसरी विश्वास गर्ने? उनीहरूलाई कुनै दिन सरकारले नै त चारभंज्याङ कटाएको थियो। पागल भनेर मानसिक अस्पताल पनि त पठाएको थियो। प्रधानमन्त्रीको कुर्सीमा बस्ने व्यक्तिको अनुहार फेरिए पनि सत्ताको चरित्र उस्तै छ। नेपथ्यका सत्ता सञ्चालक पनि उनै छन्। पुत्र शोकमा विह्वल नन्दप्रसाद र गंगामायालाई 'विक्षिप्त’ ठहर्यालउने सरकारी अधिकारीको त्रू्कर मानसिकता अहिलेको प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा पनि त झल्कन्छ। 
न्याय माग्ने नागरिकले अनशनमै प्राण त्याग्दा मानवीय संवेदनशीलता र नैतिकता भए प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमले राजीनामा गर्नुपर्थ्यो। कम्तीमा पनि उनीहरूले गंगामाया र नेपाली जनतासँग माफी माग्नुपर्थ्यो। तर, नेपालको इतिहासमा शासकले जनतासामु आफ्ना गल्ती, कमजोरी र बदमासीका लागि कहिल्यै माफी मागेको वा पछुतो गरेको देखिएको छैन। घटनाको छानबिन गर्दा गल्ती भएको देखिए पनि राज्यका तर्फबाट क्षमा याचना गरिँदैन। यसैले सुशील कोइरालाबाट पनि नैतिक जिम्मेवारीबोधको अपेक्षा गर्नु सायद मूर्खता नै हुन्छ। लाग्छ, नेपालमा शासनमा पुग्नेबित्तिकै व्यक्ति नृशंस अपराधीमा परिणत हुन्छ। अर्थात्, सत्ता नै अपराधी हो।
अर्को समाचार
राजनीतिमा अपराधीको प्रभाव
०६ असोज २०६८
•
१५ मिनेट पाठ
राजनीतिमा अपराधीको प्रभाव
आपराधिक गतिविधिमा नाम जोडिएकाहरू सत्ता र शक्तिधारीका पछाडि झुम्मिनु नेपाली राजनीतिको स्वाभाविक चरित्र भइसकेको छ। नयाँ अपराधी समूह खडा गर्नेहरू राजनीतिक संरक्षणमा सशक्त बन्दै गएका छन्। लोकतन्त्र स्थापनापछि राज्यको पुर्नसंरचना सुस्त रहेपनि अपराधी सञ्जालको संरचना तीव्र भएको छ।

अपराध गरेपछि मात्र हैन गर्नकै लागि राजनीतिज्ञको साथ र संरक्षण खोज्ने परिपाटी विकसित भएको छ। अपराधी र राजनीतिकर्मीको सम्बन्ध र फाइदा दोहोरो छ। अपराधीको साथ लिएर आफूलाई सामर्थ्यवान बनाउने प्रतिष्पर्धा दल र राजनीतिकर्मीमा छ। अपराधी सपार्छु भन्दै हिंड्ने नेता धेरै आए तर तिनको भूमिका सपार्नभन्दा अपराधको गुणात्मक विकासमा सहयोगी बन्यो।
अपराधीलाई सुधार्नेभन्दा बिगार्ने शैलीको पद्धति र प्रणाली प्रचलनमा रहेको हाम्रोजस्तो समाजमा कुनै ठूलो अपराधी सप्रिएको उल्लेख्य उदाहरण भेटिएको छैन तर टापटिपे अपराधबाट हुर्किएर 'डन' बनेका उदाहरण प्रशस्तै छन्। पञ्चायतकालमा त्यस्ता डनले सर्वसाधारणलाई सताउने गर्थे। सत्ता र शक्ति भएका राजनीतिकर्मीको आडमा तिनीले अपराधको बेग्लै साम्राज्य बनाएको इतिहास साक्षी छ। जघन्य अपराधमा संलग्न त्यस्ता डनहरू आज पर्यन्त समाजमा हैकम देखाएरै बाँचेका छन्। न त तिनले आफूलाई सुधारे न त समाजलाई सुधार्न पहल गरे। बरु नयाँ डन जन्माउने श्रेय पाए। संरक्षण गर्ने नेताको ऊर्जा बनिरहे। चेलीहरूको बलात्कारपछि हत्यासम्म भयो तर घटनाका अभियुक्तले सजिलै उन्मुक्ति पाए। पञ्चायतको अन्धकारमा समेत देखिनेगरी भएका अपराधका अभियुक्तले अघोषित माफी पाइसकेका छन्। लोकतन्त्रको उज्यालोमा अपराध गर्नेले उन्मुक्ति पाउने क्रमले गति लिएको छ। दल र नेताहरू अपराधीमाथि चलेका मुद्दा फिर्ता गरेर उन्मुक्ति दिने होडमा लागेका छन्। अब त यस्तो उन्मुक्ति सत्ता समीकरणको एउटा आधार पो बन्न थालेको छ।
लोकतन्त्र स्थापनापछि राजनीतिक शक्ति सन्तुलनमा निकै परिवर्तन आएको छ। माओवादी शक्तिशाली बन्दै गयो। ग्रामीण भेगमा प्रभाव जमाइआएका माओवादी सहरी राजनीतिमा प्रवेश गर्दा अपराध साम्राज्यमा खैलाबैला मच्चियो। डनहरू माओवादी कार्यकर्ताको हुलद्वारा उनीहरूकै शब्दमा 'जनकारबाही' मा पर्नथाले। अपराधीको आतंक कम भएको भान पर्नथाल्यो। सस्तो लोकप्रियताका लागि राजनीतिक स्वार्थमा गरिएका गतिविधि समाजका लागि स्वतः प्रत्युत्पादक हुने नै भयो। अपराध साम्राज्यमा कहलिएकाले राजनीतिको बाक्लो मुकुन्डो भिरे। केही त आफैँ माओवादी कार्यकर्तामा रूपान्तरितै भए।
माओवादीले डनहरूलाई सुधार्न अभियान थालेको तर्क हिसिला यमीले सार्वजनिक रूपमै गरेकी थिइन्। चुनावी दाउपेचअन्तर्गत डनहरूलाई हातमा लिएर माओवादीले ठूलै उपलब्धि हात पनि पार्‍यो। माओवादीको डन तह लगाउने रणनीतिले कति जनालाई सुधार्‍यो भन्ने उत्तर सयाद कसैसँग पनि छैन। बरु डनसँगको संगतबाट 'जनयुद्ध' को सिद्धान्त रटेकाहरू अपराधी गतिविधिमा सक्रिय भए। रक्तचन्दनदेखि यार्सागुम्बा तस्करीको सञ्जालमा संलग्नहरूको सूची उग्रपन्थी कम्युनिस्टको परिचय बनाएका मातृका यादवसँग पक्कै होला।
उपप्रधानमन्त्री र गृहमन्त्री विजयकुमार गच्छदारले अपराधमा संलग्नलाई सुधार्ने दाबी गरेका छन्। सिधा भाषामा बोल्न खप्पिस गच्छेदारले पार्टीभित्र डनलाई भिœयाएर महत्वपूर्ण पदसमेत दिएका छन्। वाल्मीकि कुनैबेला रत्नाकर डाकु रहेको उदाहरण दिएका उनले नाम कहलिएका डनलाई राजनीतिको कुन शिक्षा दिँदैछन् भन्ने त भविष्यमा परिणामबाटै उत्तर मिल्नेछ। अपराधबाटै जग बनाएका र अपराधकै लागि छत्रछायाँ खोज्दै राजनीतिक दलमा पसेकाहरू बदलिने सम्भावना भने बिरलै हुन्छ। अपराधीलाई सुधार्न सकिनेमा निकै आशावादी रहेकै हो भने गृहमन्त्रीले अपराध गर्नेलाई उन्मुक्ति दिनेभन्दा दण्डसजाय पाइरहेकालाई सुधार्ने पहल थाल्न सक्नुपर्थ्यो। जेलमा धेरै सुधारको खाँचो छ। जेल सुधारसम्बन्धी प्रतिवेदन तयार भएको छ। त्यसलाई कार्यान्वयन गर्नेसम्मको पहल भए धेरै उपलब्धि हुनसक्छ। डनलाई संरक्षण दिएकोमा राजनीतिक साख गिर्नेगरी आलोचना बढ्न थालेपछि चतुर्‍याइँपूर्वक वाल्मीकि र रत्नाकर डाकुको मिथकलाई व्याख्या गरेर भयलाग्दो भविष्यलाई रोक्न सकिँदैन।
नेपाली राजनीतिमा अपराधीको प्रवेश र पहुँच बढ्दै गएको छ। उनीहरू सुध्रने उद्देश्यले राजनीतिमा लागेका होइनन् भन्ने घटनाक्रमले पुष्टि गर्छ। राजनीतिक आवरण बोकेपछि अपराधमा मुछिएकाहरू लाखबाट करोडौंमा खेल्न थालेका छन्। पुरानालाई विस्थापित गरी अपराध जगत्मा ठाउँ जमाउन सफल भएका छन्। डनहरूले नेतालाई मार्न र मर्न नडराउने युवाको समूहदेखि पैसाको समेत जोहो गरिदिने भूमिका पुरा गरिरहेका छन्। धन र बलसँग जोडिएको यस सम्बन्धले राजनीतिलाई नयाँ आकार दिइसकेको छ। ठूला अपराधीसँग सोझो सम्बन्ध नभएकाहरू राजनीतिमा जम्ने सम्भावना बिरलै हुन्छ। अब संरचना नै राजनीतिज्ञलाई अपराधी नभई नहुने प्रकारको बनिसकेको छ। तिनले उपयोगितावादको सिद्धान्तअनुसार निश्चित दायरासम्म राखेर अपराधीलाई प्रयोग गरिरहनेछन्। यसैले राजनीतिकर्मीले आफ्नै स्वार्थका लागि पनि अपराधीलाई सुधार्ने सभ्ावना देखिँदैन। बरु, आफ्नो पक्षमा हुने गरी अपराध गर्न उक्साइरहनेछन्।
दण्डले मात्र अपराधीलाई सुधार्न सकिने मान्यता आधुनिक विश्वमा अस्वीकृत भइसकेको छ। यस्तै अपराध गर्नेले दण्डबाट उन्मुक्ति पाउन थाले पनि समाजमा विशृंखलता बढ्ने निश्चित छ। अपराधलाई राजनीतिमा जोडेर दण्डहीनतालाई प्रश्रय दिइँदो भयावह स्थिति उत्पन्न हुन पुग्छ। अपराधीहरू उन्मुक्तिका लागि कुनै न कुनै नेताकहाँ आश्रयको खोजीमा पुग्छन्। वर्तमान नेपाली समाजको वास्तविकता यही हो। यस्तै अपराधी गिरोक बनाइसकेकाहरू कुनै न कुनै दल वा नेता विशेषको नजिक पुगिसकेका हुन्छन्। आवश्यक पर्दा पैसा र पाखुराको सजिलै व्यवस्था हुने सोचले नेताहरूबीच अपराधीलाई हातमा लिने प्रतिष्पर्धा बढिरहेको छ। बिस्तारै यो तीतो यथार्थ नेपाली समाजमा राजनीतिक बाध्यता पनि बन्दै गएको छे।
शान्ति प्रक्रियापछि सहरी जनजीवनमा गतिविधि ह्वात्तै बढ्दा अपराधको पनि उत्तिकै मलजल भयो। अध्ययन र अनुसन्धानले सहरी इलाकामा बढी अपराध हुने देखाएकै छ। साना अपराध बढ्दा ठूला अपराध हुनसक्ने जोखिम पनि बढ्छ। प्रहरी भने साना अपराधीलाई सार्वजनिकरूपमा प्रदर्शन गरेर प्रचारवाजीमै रमाउन बाध्य छ। ठूला डनलाई समात्ने तागत प्रहरीमा छैन। पछिल्लो समयमा तस्करीसँग सम्बन्धित अपराधले निकै गहिराइ र व्यापकता पाइसकेको छ। बालुवा, ढुंगाको अवैध तस्करीदेखि वन्यजस्तुका सामाग्री ओसारपसार, रक्तचन्दनको तस्करीलगायतमा ठूलो राजनीतिक चलखेल भएको छ। सुनिने गरी केही डनहरूको नाम जोडिएपनि पर्दा पछाडि राजनीतिक शक्तिको साथ रहेको सहजै बुझ्न सकिन्छ। आर्थिक चलखेलका लागि आपराधिक क्रियाकलापको भर पर्नुपरेपछि नेताका लागि डनहरू अनिवार्य भएका छन्। फलस्वरूप, डनहरूलाई आफूनिकट ल्याउने प्रतिष्पर्धा राजनीतिक नेता र दलहरूबीच पछिल्लो समयमा देखिएको छ। वाइसीएलमा डनहरूको आकर्षण बढेपछि रणनीतिमा परिवर्तन गरी युवा संघले आकर्षक प्याकेज ल्याएर डन तान्न थाल्यो। नेपाली कांग्रेसभित्र पनि डन आकर्षित गर्ने रणनीतिमा जोड दिनेहरू अग्रसर भइसकेका थिए। पार्टीभित्रै विवादमा परेपछि कांग्रेस औपचारिक रूपमा उक्त रणनीतिमा अघि सरेन।
डनको साथ पाउनेसँग पैसा र पाखुरा दुवै हुने निश्चित छ। पैसा र पाखुरामा भर पर्नुपर्ने राजनीतिक प्रणाली विकसित हुँदै जानु डरलाग्दो भविष्य संकेत हो। डनहरूलाई अघोषितरूपमा राजनीतिक संरचनामा बाँध्ने रणनीतिले आफ्नो हितमा हुने अवस्थामा अपराधीलाई गौरवान्वित गर्ने परिपाटीको विकास भइसकेको छ। नागरिक सर्वोच्चताको जति रट लगाएपनि त्यो गँजेडी गफमा परिणत हुँदै जाने अवस्था देखिएको छ। बरु, बिस्तारै राजनीतिक पार्टीहरूमा डनको सर्वोच्चता बढ्दो छ। पैसाको जोहो उनैले गर्नसक्छन्। भौतिक आक्रमणका लागि तयार हुनसक्ने हिंसक समूह तिनैले तयार गर्नसक्छन् र आवश्यक पर्दा विपक्षीका कार्यकर्तासँग शारीरिक प्रतिष्पर्धामा पनि तिनै उत्रनसक्छन्। विरोधमा उत्रने सर्वसाधारण नागरिकमात्र हैन आफ्नै कार्यकर्ता र समर्थकलाई समेत बलपूर्वक काबुमा राख्न डनकै बल चाहिन्छ। सामान्य कार्यकर्तामा त्यो क्षमता हुँदैन। उनीहरुका लागि रैतीको व्यवहार सामना गर्नुपर्ने वाध्यता छ।
डन सर्वोच्चतालाई बढावा दिनैका लागि दण्डहीनतालाई निरन्तरता दिइँदै आइएको हो। हत्या, हतियार तथा खरखजाना, अपहरणलगायतमा मुछिएकासम्मले सजिलै उन्मुक्ति पाएका छन्। नयाँ सरकारले उन्मुक्ति दिने गृहकार्य थालिसकेको छ। मुद्दा फिर्ता लिनु सरकारको अधिकारभित्र पर्छ। यसको उद्देश्य भने पार्टीगत विशेषगरी व्यक्तिगत राजनीतिक स्वार्थले प्रेरित छ। राजनीतिक संरचनाको हिस्सा बनिसकेका कुख्यात अपराधीलाई न्यायको कठघरामा उभ्याउँदा ठूलै हानि व्यहोर्नुपर्ने लेखाजोखा गरिएको हुनुपर्छ। व्यक्तिगत र पार्टीगत राजनीतिक स्वार्थको जोडघटाऊ गरेरै सत्तामा आउनेबित्तिकै आफूइतरकालाई छुटकाराको पहल थालिने गरिएको देखिन्छ। प्रतिष्पर्धाकै रूप धारण गरेको अपराधीलाई उन्मुक्ति दिने अभियानले राजनीतिक संस्कृतिकै आवरण धारण गरिसकेको छ। सत्ताबाहिर रहेकाले समेत कुनै न कुनै सम्झौता गरेर आफूनिकटको अभियुक्तलाई उन्मुक्ति दिलाउने या आपराधिक क्रियाकलापमा संलग्न भएकालाई मैदान खुल्लाको वातावरण बनाउन पहल गरेको पाइन्छ। संस्कृतिकै रूपमा विकास हुँदैगएको अपराधीलाई प्रश्रय दिने र प्रोत्साहित गर्ने गतिविधिले अपराधीलाई सुधार्ने कल्पनासमेत गर्न सकिन्न। नेपाली राजनीतिमा मौलाएको अपराधीकरणले वाल्मीकिहरू रत्नाकर डाकु बन्लान्, रत्नाकरहरू वाल्मीकि बन्नेछैनन्।
लेखक जवाहरलाल नेहरू विश्वविद्यालयका रिसर्च फेलो हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस